बेपत्ता पनडुब्बीको खोजीमा सफलता, खोज टोलीले समुद्र भित्र आवाज सुने


प्रकाशित मिति : असार ६, २०८० बुधबार

विश्वकै चर्चित जहाज टाइटानिकको भग्नावशेष देखाउन एट्लान्टिक महासागरमा गएको पनडुब्बीको खोजीमा सफलता हात लागेको छ ।

यूएस कोस्ट गार्डले क्यानाडाको पी-३ विमानले खोजी कार्य सञ्चालन भइरहेको क्षेत्रमा पानीमुनि आवाज फेला पारेको बताएको छ ।

आवाज आएको थाहा पाएपछि चार घण्टापछि सो क्षेत्रमा थप सोनार तैनाथ गरिएको थियो । (सोनार भनेको पानीमुनि वा सतहमा रहेका वस्तुहरू पत्ता लगाउन ध्वनि प्रयोग गर्ने प्रविधि हो।)

अर्कोतर्फ, अमेरिकी होमल्याण्ड सेक्युरिटी डिपार्टमेन्टबाट पनि पनडुब्बी बेपत्ता भएको ठाउँबाट धेरै घण्टासम्म ठूलो आवाज आएको बताएको छ ।

समाचार च्यानल सीएनएनले मंगलबार राति पठाइएको अपडेटेड मेमो पनि रिपोर्ट गरिरहेको छ, जसमा पानी भित्रबाट धेरै आवाजहरू सुनिएको बताइएको छ।

यस पनडुब्बीमा सवार पाँच जना यात्रु आइतबारदेखि बेपत्ता छन् । जसमा पाकिस्तानमा जन्मेका अर्बपति व्यापारी शाहजादा दाउद र उनका छोरा सुलेमान दाउद, बेलायती अर्बपति व्यापारी हमिस हार्डिङ, फ्रान्सेली अन्वेषक पल हेनरी नार्गेलेट र साहसिक यात्राको व्यवस्थापन गर्ने कम्पनीका प्रमुख कार्यकारी स्टकटन रश पर्छन्।

अमेरिकी कोस्ट गार्डको खोजी अभियान २० हजार वर्ग किलोमिटरभन्दा ठूलो समुन्द्रमा चलिरहेको छ । यसमा क्यानेडियन नेवी, एयर फोर्स र कोस्ट गार्डसँगै न्यूयोर्क एयर नेशनल गार्डले पनि सहयोग गरिरहेको छ ।

अमेरिकी कोस्ट गार्डको अनुमान अनुसार पनडुब्बीमा करिब ३० घण्टा अक्सिजन बाँकी छ । आइतबार यात्रा सुरु भएको एक घण्टा ४५ मिनेटपछि पनडुब्बीसँग सम्पर्क टुटेको थियो । खोजी कार्यमा दुईवटा सी-१३० विमान र सोनारको सहयोग लिइएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com