अमेरिकी प्रथम महिलालाई भारतिय प्रधानमन्त्री मोदीले दिए ल्याबमा बनेको हीरा उपहार
प्रकाशित मिति : असार ७, २०८० बिहीबार
अमेरिकाको तीन दिने राजकीय भ्रमणमा गएका प्रधानमन्त्री नरेन्द्र मोदीले त्यहाँको प्रथम महिला जिल बाइडेनलाई ल्याबमा बनेको हीरा उपहार दिएका छन् ।
यो पर्यावरण अनुकूल हीरा ७.५ क्यारेटको छ। अमेरिकी राष्ट्रपति जो बाइडेन र उनकी पत्नी जिल बाइडेनले ह्वाइट हाउसमा प्रधानमन्त्री नरेन्द्र मोदीको लागि रात्रिभोजको आयोजना गरेका छन्। यस क्रममा तीनजनाबीच धेरै विषयमा छलफल भएको थियो र उपहार आदानप्रदान पनि भएको थियो ।
केन्द्रीय वाणिज्य तथा उद्योग मन्त्री पियुष गोयलले यो हीराको तस्बिर ट्विट गर्दै लेखेका छन्, “भारतको हीरा प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकाको प्रथम महिलालाई पर्यावरणमैत्री प्रयोगशालामा बनेको यो सुन्दर हीरा उपहार दिएका छन्।” यो हीरा वातावरणमैत्री भएकाले यसलाई बनाउन सौर्य र वायु ऊर्जाको प्रयोग गरिएको छ ।
यो हीरा बनाउने क्रममा प्रति क्यारेट ०.०२८ ग्राम मात्रै कार्बन उत्सर्जन हुन्छ । यो अन्तर्राष्ट्रिय जेमोलोजिकल इन्स्टिच्युट (IGI) द्वारा पनि प्रमाणित छ।
भारतले लामो समयदेखि प्रयोगशालामा उत्पादन हुने हीराको प्रचार गर्दै आएको छ। यसका लागि केन्द्र सरकारले गत बजेटमा केही घोषणा पनि गरेको थियो ।