अरु बालबालिका मिलेर खेल्दा म कोठामा ऐना हेरेर रुन्थें : सरोजी न्यौपाने, मोडल तथा कोरियोग्राफर
प्रकाशित मिति : असार १४, २०८० बिहीबार
सरोजी न्यौपाने नेपालमा सिमान्तकृत यौन अभिमुखीकरण, लैंगिक पहिचान र यौन विशेषता भएका व्यक्तिको समुदायबाट राष्ट्रिय स्तरको सौन्दर्य प्रतियोगिता मिस सुपरनेशनल नेपाल २०२३ मा भाग लिएर फस्र्ट रनरअपको टाइटल जित्ने पहिलो तेश्रो लिंगी महिला हुन् भने उनी मिस युनिभर्स नेपाल २०२३ मा समेत सहभागी हुँदैछिन् । ट्रान्जजेण्डरहरु मानवअधिकार, स्वास्थ्य र मानसिक समस्याका लागिमात्र लड्ने नभई मुलधारको काम, राजनीति र मिडियामा समेत आउनुपर्ने धारणा राख्ने उनले यस अगाडि क्षेत्रीय स्तरको प्रतियोगिता जितेर मिस डायमण्डको उपाधी समेत पाउन सफल भएकी थिइन् । चर्चित मोडल तथा कोरियोग्राफर न्यौपाने पशु तथा मानवअधिकारको क्षेत्रमा समेत वकालत गर्दै आएकी छिन् भने यौन अभिमुखीकरण, लैंगिक पहिचान र यौन विशेषता भएका समुदायको पक्षमा समेत काम गर्दै आएकी छिन् । उनै सरोजी न्यौपानेसँग खसोखासकर्मी अस्मिता खड्काको सम्बाद ।
– तपाई अभियान्तासँगै जनावर प्रेमी पनि हुनुहुँदोरहेछ । उनीहरुको सेवा गर्नको लागि समय कसरी निकाल्नु हुन्छ ?
यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको भनेर समाजले नै तोकिसकेपछि मैले आफूभन्दा अर्को व्यक्तिलाई देखिइसकेपछि त्यो समुदायका व्यक्तिहरुलाई सहयोग गर्ने कोशिस गर्छु । पशुहरु बोल्न सक्दैनन् । मलाई चाँही कस्तो लाग्छ भने, पशुपन्छिलाई पनि माया गर्नुपर्छ । म आफैले सानैदेखि धेरै पीडाहरु भोगेको भएर पनि होला, मेरो अगाडी अरुले पीडा भोगेको देख्न सक्दैन् । समयको विषयमा,, मेरो इन्टरनेशनल कलेज हो । अनलाइन क्लास हुन्छ । त्यही भएर भौतिक रुपमा कक्षामा जानुपर्दैन । कर्मचारी भएर १० बजेदेखि ५ बजेसम्म काम पनि गर्दिन । मेरो कलेज र कार्यालय पनि फिजिकल नभएको कारणले म फुर्सद मै हुने गर्छु । मस्वयंसेवक भएर काम गर्छु । जहाँ जहाँ मेरो आवश्यकता पर्छ, जे–जे कामहरु गर्नुपर्छ, त्यही अनुसार जान्छु । समय मिल्छ ।
– पहिचानको लडाईमा तपाईले कस्ता खालका अप्ठ्याराहरु भोग्नुभयो ?
मानिस जन्म लिने बित्तिकै परिवारले एउटा जिम्मेवारी हाम्रो लागि सोचिसकेको हुन्छ । पूरुषको लिंग लिएर जन्मिसकेपछि हाम्रो घरमा छोरो जन्मियो, भोली गएर बिहे गर्ला, बुहारी ल्याउँला, सन्तान अगाडी बढ्ला, हाम्रो पालनपोषण गर्ला भन्ने जिम्मेवारी हाम्रो परिवारले शिरमा थपिसकेको हुन्छ । जन्मिसकेपछि एउटा आशा सबैलाई हुन्छ । त्यसो हुँदै गर्दा बच्चाले आफू म यस्तो होइन् र यस्तो हुँ भन्दासबैको परिवार अलिकति झँसंग हुने हो कि भन्ने हुन्छ । त्यसमाथि हाम्रो परिवार त्यति पढेलेखेको पनि हुनुहुन्न । मलाई लाग्छ, हामी धेरैको परिवार पुरानो जेनेरेशनको हुनुहुन्छ । अहिलेको चाहीँ अलिकति पढेलेखेको, बुझेको हुनुहुन्छ । मेरो बारेमा पनि त्यस्तै भयो । परिवारमा पनि अलिकति अचम्म मान्ने खालको भयो । उहाँहरुलाई पनि यो संस्कृतिको बारेमा थाहा थिएन । तर, पनि उहाँहरुलाई मैले आफ्नो कामले म तपाइँहरुको छोरी नै हो भन्ने स्वीकार गराउन सकें । तर, समाजको कुरा आउँदा मैले देखिरहँदाम १४–१५ वर्षको हुँदा मेरा साथीहरु खेलीरहँदा म एउटा कोठामा बसेर रोइरहेको हुन्थें । म के हो रु मलाई किन यस्तो महशुस भइरहेको छ रु म किन आफूले आफूलाई अरु भन्दा फरक महशुस गर्छु भन्ने कुराले मनमा पीडा दिन्थ्यो । पुरुष–पुरुष, महिला–महिला र पुरुष–महिला मिलेर खेल्दै गर्दा मेरो साथी ऐना बन्यो । मेरा दुःख, सुख पोख्ने साथी नै ऐना थियो । बच्चा उमेरमा खान–लाउनबाट बञ्चित नभए पनि परिवारसँग खुल्न नपाउँदा, समाजमा पनि अरुले रमाइलो गर्दै हिडेको देख्दा मानसिक तनाव पनि भोगें । त्यो स्थिति मेरो लागि मात्रै नभएर यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका व्यक्तिहरुले सामना गरेको हुनुपर्छ । जब हामीले आफ््नो शरिरमा, आफ्नो मस्तिष्कमा म अरु भन्दा फरक छु कि ?अरु भन्दा किन फरक महसुस हुन्छ ? भन्ने कुरा महसुस हुन थाल्छ, त्यो दिनदेखि आफूले आफूलाई एक्लो र दुःखी महशुस गर्छौ । तिमीहरु यस्तो, उस्तो भनेर न विद्यालयमा पढाइन्छ, न आफै बुझ्न सकिन्छ, न साथिभाइहरुले बुझिदिन्छन्, न घरकोले बुझ्नुहुन्छ । त्यो कारणले सुरुसुरुमा एकदमै गाह्रो नै हुन्छ ।
– यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायबाट मोडलिङ तथा कोरियोग्राफको क्षेत्रमा आफूलाई अब्बल बनाउन कति गाह्रो रहेछ ? नयाँ के गर्दै हुनुहुन्छ ?
हिम्मत नहुँदासम्म सास फेर्न बाहेक संसारमा कुनै पनि कुरा सजिलो हुँदैन । हरेक कदममा गाह्रो त भईहाल्छ नि । तर, पनि मिहिनेत चाँही सबै कुरामा चाहिन्छ । सन् २०१८ मा मिस युनिभर्स भन्ने एउटा ब्यूटीसम्बन्धि कार्यक्रम भएको थियो । त्यसमा स्पेनको एन्जुनामा तेस्रो लिंगी एउटा महिलाले आफ्नो देशको प्रतिनिधित्व गर्दै त्यो कार्यक्रममा जानुभएको थियो । एउटा महिलाले पनि आफ्नो पुरै देशको प्रतिनिधित्व गर्दै बाहिर जान सक्दो रहेछ भन्ने मेरो मनमा छाप बसिसकेपछि मैले एकदिन यस्तै गर्नेछु भन्ने योजना बनाएको थिए । त्यसो गर्दै गर्दा २०२१ मा पहिलोपटक प्रादेशीक स्तरको ब्युटी कन्टेष्टमा भाग लिए । त्यो चाहीँ तेस्रो लिंगीहरुको सौन्दर्य प्रतियोगिता हो । त्यतिखेर म १८ वर्षको थिए । कपाल पनि सानै थियो, म आफूलाई असुरक्षित नै महसुस गर्थे, तर पनि बिजेता हुन सफल भएँ । बिजेता भइसकेपछि मलाई अझै आत्मविश्वास बढ्यो । यहीँ कुरालाई निरन्तरता प्लस टुको पढाईलाई राम्रोसँग सक्काएर काठमाडौं आएँ । २०२३ मा राष्ट्रिय स्तरको सौन्दर्य प्रतियोगिता (मिस सुपर नेशनल नेपाल– २०२३) भयो । महिला र पुरुषको छुट्टाछुट्टै थियो । म पहिलो तेस्रो लिंगी महिला हुँ जसले पहिलो पटकमै राष्ट्यि प्रसियोगितामा फस्र्ट रनरअप टाइटल प्राप्त गरेँ । अब चाँही मिस युनिभर्स नेपाल सौन्दर्य प्रतियोगिता आउँदैछ । त्यसमा पनि भाग लिदैछु। मेरो जिन्दगी नै कोरियोग्राफर भएर नै बिताउन चाहन्छु । म आफू मोडल हुनुभन्दा पनि मोडेलहरुलाई सिकाउन, उनीहरुलाई कोरियोग्राफी गर्न एकदमै इच्छा छ । त्यो मैले अन्तर्राष्ट्रिय रुपमै गर्न चाहान्छु ।
– यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका बारेमा सामाजिक चेतना जगाउने सन्देश मुलक भिडियोमा महिनावारी पुरुष पनि हुन्छन् भन्नु भएको छ। यसको बारेमा अलि ब्याख्या गरिदिनुन ?
महिनावारी प्राकृतिक कुरा हो । सबैलाई थाहा भएकै विषय हो । मानिस भएर जन्म लिइसकेपछि लिङ्गले मात्रै जैविक पहिचान छुट्टाएको हुँदैन् । उसको पहिचान, लैङ्किता र यौनिकता भनेको धेरै फरक कुरा हो । यौनिकता भनेको ऊ कोप्रति आकर्षित हुन्छ भन्ने हो तरलैङ्किता भनेको उसले आफूले आफूलाई समाजमा कसरी पहिचान गराउँछ भन्ने हो । कतिपय व्यक्तिहरु योनी लिएर जन्मिएपनि आफूले आफूलाई पूरुष भन्ने गर्दछ भने कतिपय व्यक्तिहरु आफूले आफूलाई महिला भन्ने क्रममा पनि योनी नभएको अवस्था हुनसक्छ, अथवा पाठेघर नभएको अवस्था पनि हुन सक्छ । त्यसरी महिला भयो भन्दैमा उनीहरु महिनावारी हुन्छन् भन्ने पनि हुँदैन् । हरेक पूरुषहरु पनि महिनावारी हुन्छन् भन्ने हुँदैन् । त्यही भएर पारलैंगिकपूरुषहरु पनि महिनावारी हुन्छन् । उनीहरुले आफूले आफूलाई पुरुष भनेर समाजमा चिनाउन चाहन्छन् । यसैगरी पारलैंगिक महिलाहरु चाँही महिला नै भएपनि महिनावारी हुन सक्दैनौं । त्यो हाम्रो लागि प्राकृतिक देन हो भन्ने अहिलेको समाजलाई मैले भन्न र बुझाउन खोजेको हो ।
– महिनावारीमा छुवाछुतकोे सोच राख्नेहरुलाई के भन्नुहुन्छ ?
महिनावारी प्राकृतिक कुरा हो । आज हामीले यो संसारमा सास फेर्नुको पछाडी हाम्रा आमा महिनावारी नभएको भए हामी संसारमा हुँदैनथ्यौं होला । तसर्थ, प्राकृतिक जन्मको लागि महत्वपूर्ण एक महिनावारी छ, त्यो खाले महत्वपूर्ण प्राकृतिक प्रक्रिया बोकेको महिनावारीलाई भेदभाव गर्नु, छुवाछुत गनु गलत हो । त्यसको लागि विभिन्न आवाजहरु पनि उठिरहेका छन् । अहिले महिनावारीका बारेमा समाजमा विभिन्न संस्थाहरुले पैरवी गर्दै आएका छन्। त्यसको साथै नीति, नियम, कानूनहरु बनाउन सकिन्छ । छुवाछुतलाई अन्त्य गर्न मान्छेको सोँचमा परिवर्तन आउनुपर्छ । अब पनि महिनावारीलाई भेदभाव, छुवाछुतको रुपमा लिन थाल्यौं भने समाज र देश परिवर्तन हुन्छ भन्ने आशा गर्न सकिदैन । एउटा घरको सानो समस्यालाई त समाधान गर्न सकेका छैनौं भने समाज परिवर्तन,देश परिवर्तनको आशा गर्न सक्दैनौं । महिनावारी प्राकृतिक प्रक्रिया हो, यो हुनेबेलामा चाँही रगत बग्ने हुँदाउनीहरुलाई आराम गर्न दिने कुरा छुट्टै छ तर छुवाछुत गर्ने काम गलत हो । त्यसैले घर—घरबाटै सोँच परिवर्तन गर्नुपर्छ ।
– समाजको सोच परिवर्तनका लागि कहिलेसम्म लड्ने ?
हामीले गर्ने वकालत, हामीले गर्ने कामहरु, समाज परिवर्तनका कुराहरु यो कहिले पनि समाप्त नहुने कुरा हो । पहिले महिला र पूरुषको अधिकारको लागि लड्यौं । त्यसपछि अन्य भनेर लड्यौं। त्यसपछि तेस्रो लिंगी भनेर लड्यौं, अहिले लैंगिक तथा अल्पसंख्यक समुदाय भनेर लडिरहेका छौँ । हामी महिला भन्न रुचाउँछौं, ट्रान्स म्यानले पुरुष भन्न रुचाउँछन् । त्यसैले, समाज परिवर्तनका कुराहरु कहिले पनि अन्त्य हुने कुराहरु होइनन् । हामीले कस्तो कुरामा ध्यान पुर्याउनुपर्छ भन्दा,हामीलाई हाम्रो पुर्खाहरुले कस्तो समाज छाडेर गएका थिए, अहिलेको समाजलाई सुहाउने खालका कुराहरु के के छन् रुत्यो कुराहरुमा चाँही परिवर्तन ल्याउँदै स्वीकार गर्दै लैजानुपर्छ । पहिला भन्दा धेरै कुराहरु परिवर्तन आएको छ ।