वीर अपस्तालमा विजोग : गरिबले पत्थरीको अपरेशन गर्न ९ महिनासम्म कुर्नुपर्ने
प्रकाशित मिति : असार १७, २०८० आईतबार
बाराकी २५ बर्षीय सकुन्तला पास्वान वीर अस्पतालमा ९ महिनादेखि पित्तथैलीको पत्थरी अपरेशन गराउन पालो कुरिरहेकी छिन् । पेट दुख्ने, खान मन नलाग्ने, फुल्लिने र असहज हुने समस्याले सताएपछि उनी गत वर्षको कार्तिक ५ गते वीर अस्पताल पुगेकी थिइन् । वीरमा परीक्षणका क्रममा पित्तथैलीमा १३ मिलिमिटरको पत्थरी देखियो । चिकित्सकले अपरेसन गरेर पत्थरी निकाल्नुपर्ने सुझाव दिए । तर उनले शल्यक्रियाका लागि अर्को यही वर्षको साउनमा मात्र पालो पाएकी छिन् ।
उनी भन्छिन् ‘निजि अस्पतालमा जाऔं भने पैसा छैन, वीरमा आएको पालो नै सारै लामो हुँदो रहेछ, ९ महिनादेखि औषधि खाँदै पालोमा बसेको छु ।’
उनी जस्तै सिन्धुपाल्चोका राम पाख्रिनको ७ महिनादेखि मृगौलाको पथरीको शल्यक्रियाको उपचारको पालो कुरिरहेका छन् । उनी पेट दुखेर गत वर्ष अस्पताल वीर अस्पताल पुगेका थिए । चिकित्सकले मृगौलामा पत्थरी रहेको अपरेसन गरेर निकाल्नुपर्ने बताएका थिए । तर अस्पतालमा मृगौलाको पथरीको अपरेशन गर्न लामो पालो कुर्नुपरेको रामले सुनाए । राम अस्पतालबाट आउने फोनको पखाइमा छन्। कारण, उनलाई छिटो गर्न सके अगाडि बोलाउँछौ भनेर अस्पतालले आश्वासन दिएको रहेछ। तर अहिलेसम्म फोन भने नआएको रामले गुनासो गरे । उनको मृगौलाको पथरीको अपरेशन गर्ने मिति यही भदौंमा रहेको छ ।
यी त केही प्रतिनिधि पात्र मात्र हुन । वीर अस्पतालको युरोलोजी विभागमा उनी जस्तै अपरेसनका लागि डेढ सयजनाभन्दा बढी बिरामी पालो कुरिरहेका छन् ।
तीन तहमा बिरामी विभाजन
युरोलोजी विभागले अपरेशन गर्नुपर्ने बिरामीलाई तीन भागमा वर्गिकरणमा छुट्याएको छ ।
पहिलो –इमरजेन्सी अपरेसन । ईमरजेन्सी अपरेशन गर्नुपर्ने बिरामीलाई तत्काल र केही घण्टाको फरकमा गरिहाल्नुपर्छ । तत्काल शल्यक्रिया नगरे बिरामीको ज्यान जान सक्छ। यी मिर्गौलाका जसको एउटा मात्र मृगौला छ, क्यान्सर, एउटा मात्र मिर्गौला भएका लगायत बिरामीहरु हुन् । पिसाब रोकिएर आउने बिरामीहरु पनि यस अन्तर्गत पर्छन् ।
दोस्रो–सेमी इमरजेन्सी अपरेसन । प्रोस्टेटका, दुई वटा मृगौलामा एउटा विग्रन सक्ने अवस्था छ । त्यस्ता विरामीलाई सेमी ईमरजेन्सी अपरेसन भनेर राखिन्छ । जुन उनीहरुको पालो १ देखि डेढ महिनामा आउँने युरोलोजी विभागका प्रमुख प्रा.डा.रविन बस्नेत बताउँछन् ।
तेस्रो –ईलेक्टीभ । जसमा मृगौलामा पत्थरी छ तर त्यो पत्थरीले कुनै असर गरेको छैन् । प्रोस्टेट ठुलो भएको छ तर बिरामीको रहनसहनमा कुनै असर गरेको छैन । अहिले यस्ता बिरामीको पालो आठ देखि ९ महिनामा आउँछ ।
कुर्न मिल्ने बिरामीहरुलाई समय दिएर पठाउने गरिएको युरोलोजी विभागका प्रमुख प्रा.डा.रविन बस्नेतले बताउँछन् । डा. बस्नेतका अनुसार यस युरोलोजी विभागमा पत्थरी लगायतको अपरेशनका लागि ९ महिनासम्म कुर्ने बिरामीहरु पालो कुरिरहेका छन् । डा. बस्नेतले पाले पर्खने बिरामीहरु सबैको सम्पर्क नम्बर राख्ने र अपरेसन गर्ने दिन आएपछि फोन गरेर बोलाउने गरेकोे बताए। आवश्यक उपकरणको अभाव भएका पनि पुराना भएको डा.बस्नेतले सुनाए।
विभागका प्रमुख डा.बस्नेतले भने,‘जसलाई पथरीको कुनै असर गरेको छैन, ढिलो अपरेशन गर्दा हुँने विरामीलाई पालोमा राख्ने गरेका छौं ।’
उपकरण विग्रदा समस्या
विभागका प्रमुख प्रा.डा.रविन बस्नेतले अस्पतालमा सबैभन्दा बढी अपरेशन गर्ने विभागमा युरोलोजी विभाग रहेको दाबी गरे । डा. बस्नेतका अनुसार सातामा तीन दिन अपरेशन हुने गरेको छ । प्रशासनिक रुपमा हुनुपर्ने प्राविधिक सहयोगहरु नपाउने गरेको डा. बस्नेतको गुनासो छ ।
उनले पाँच देखि ६ वर्ष पुरानो उपकरणबाट अपरेशन जेनतेन गरेर धानिरहेको गुनासो गरे । उनले भने, ‘पुरानो उपकरण कुनै पनि बेला विग्रेमा सेवा रोक्नुपर्ने हुन्छ अहिले पनि पथरीको ढुङगा धुलो बनाउँने लेजर मेसिन बिग्रेको छ । जसले गर्दा ढुङगा निकाल्नु पर्ने बिरामीलाई झनै कुराउँनु परेको छ । जसले तोकिएको पालो भन्दा ढिलो पालो आउँने भएको छ ।’
युरोलोजी सेवा लिन काठमाडौं भित्र मात्र हैन काठमाडौ बाहिरका अस्पतालबाट पनि रिफरल भएर बिरामीहरु वीर अस्पताल आउने गरेको बताउँछन् । अपरेसनमा को लागि बिरामीको चाप घटाउने हो भने सरकारी र नीतिगत तहबाटै पहल हुनुपर्ने उनको भनाइ छ ।
युरोलोजीको लागि दुई वटा अपरेसन थिएटर छन् । ७७ शय्या छुटयाइएको छ । तर २२ शय्या मात्र सञ्चालनमा छन्। यस विभागले जनशक्ति र उपकरण अभावको समस्या झेलिरहेको उनले बताए ।
वीरको ५ सय बेडको सर्जिकल भवन २०७८ असारमा पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका थिए । अझै पनि पूरै बेड सञ्चालनमा आउन सकेको छैन ।
यो समस्या वीरको अन्य विभागहरुमा त छदैछ । अन्य सरकारी अस्पतालहरु पाटन, परोपकार प्रसुति गृह, त्रिवि शिक्षण अस्पताल(टिचिङ) , कान्तिबाल अस्पताल, गंगालालमा पनि उस्तै छ ।
वीर अस्पतालका निर्देशक डा. सन्तोष पौडेलले अस्पतालका अपरेसन थिरेटर सबै सञ्चालन हुन नसकेको बताउँछन् । उनले अस्पतालमा नर्सिंङ जनशक्ति अभाव रहेको बताए । उनले अहिले ९ देखि १० वटा मात्र अपरेसन थिरेटर सञ्चालनमा आएको उनले जानकारी दिए ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.सञ्जयकुमार ठाकुरले अस्पताल प्रमुखले कडाइका साथ नियम पालना गर्न नलगाउँदा समस्या भएको बताए ।
अपरेसन थिएटरको ऐन वन्यो तर कार्यान्वयमा आएन
सरकारले स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तरोन्नति मापदण्ड निर्देशिका–२०७० जारी गरेको छ । यो निर्देशिकाको दफा १७ मा व्यवस्था भएअनुसार प्रति ५० शय्या क्षमता बराबर एउटा मेजर र एउटा माइनर अपरेसन थिएटरको व्यवस्था हुनुपर्छ ।
सोका अतिरिक्त प्रत्येक २५ शय्या सर्जिकल बेडका लागि एक मेजर ओटी र आवश्यक माइनर ओटीको थप व्यवस्था हुनुपर्ने नियम छ । तर अस्पतालहरुले यो निर्देशिकाको पालना गरेका छैन् । उक्त निर्देशिका र मापदण्डमा अपरेसन थिएटरसम्बन्धी यी व्यवस्थाहरु भए पनि काठमाडौंका ठूला सरकारी अस्पतालमा लागू भएको देखिँदैन । जसका कारण काजमै सिमित छन् ।