‘गर्न हुने तर भन्न नहुने’ ढर्रामा ढाकिएको दोहोरो चरित्रको नेपाली समाज


प्रकाशित मिति : असार २३, २०८० शनिबार

हामी भन्छौं एउटा, तर गर्छौं अर्कै ! राख्ने एउटा, देखाउने अर्कै ! भित्र एउटा, बाहिर अर्कै ! यो व्यक्ति, घर, समाजदेखि राष्ट्रिय र अन्तरराष्ट्रिय स्तरसम्मै फैलिएको ढाँट नीति हो । यो  नीति मान्ने जति सबैले ढाँट्नैपर्छ ।

सुने सुतक, देखे ग्रहण !  भनिन्छ, कुनै जुठो वा सुतक परेको तब मानिन्छ, जब सुनिन्छ । अनि ग्रहण लागेको दोष देखे पछि मात्र लाग्छ । ‘ए हो र ? हामीले त थाहै पाएनौ नि’ भनेर जुठो नवार्ने अनि दशैंमा टिका लगाएर हिड्ने वा सुनेर पनि नसुनेको वहाना गर्ने चलन छ समाजमा । सुतक परेको थाहा पाएर टिका लगाएपनि ‘थाहा पाइएन’ भन्नुपर्यो । ‘थाहा पाएर पनि लगाइयो’  भन्नु भएन ।

हाम्रो गाउँमा एउटा बुढी आमा हुनुहुन्थ्यो । तीजको दर खाने राती दर खान उठ्नु पर्नेमा भुसुक्क निदाउनु भएछ, बिहान सम्म । अनि त आमैले झ्याल र खोपामा राम्ररी उज्यालो नपस्ने गरेर थुनेर ‘अझै त कहाँ उज्यालो हुनु ! अँध्यारै छ’ भनेर दर खानु भएछ । उज्यालो भएपछि त निराहार बस्नु पर्ने हो तर बुढी आमैले खानु भयो मज्जाले । खासमा खाएपनि ‘खाएँ’ चाँही भन्नु भएन ।

म सानो हुँदा गाउँमा जातपात निकै मानिन्थ्यो । माथिल्लो जात भनिनेहरू तल्लो जात भनिनेहरूसँग नछोइने, छोइ छिटो गर्ने, छोएको नखाने हुन्थ्यो । त्यो जातपात पनि दिउसो मात्रै रहेछ । राती भने सँगै बस्ने , झ्याउरे गाउने अनि के के हो के के ! रातमा जातपात केही नहुने रहेछ । खासमा मान्छेले नदेखे वा कसैलाई नभने छोएको खाँदा पनि केही नहुने चलन रहेछ । गाईंगुईं भएपनि प्रष्ट भन्न चाँही नहुने । गर्न हुने, भन्न नहुने कुरा धेरै सुनियो । आफन्तले करणी गरेको मात्र हैन ज्यान मारेको समेत ! तर गाईंगुईमात्रै । तैं चुप मैं चुप । बोले त तोय लाउन (प्रमाणित गर्न) परिहाल्थ्यो । म त्यस्ता कुरा अहिले पनि गर्दिन । गरे त तोय लाउन पर्छ नि !

एक पटक विवाहको भोज थियो । बारीको माथिल्लो पाटोमा कथित दलित समुदायका व्यक्तिले बाजा बजाउँदै थिए । नाचगान पनि  थियो । तल्लो बारीमा भान्सा थियो । यस्सो कस्सो गर्दा त एकजना बाजा बजाउने मान्छे चिप्लिएर भन्सानेरै खसे । सबैले ‘ए ए के भयो’ भने । अनि एकै स्वरमा सबैले भने ‘छोइएको छैन छोइएको छैन’ । अनि मलाई थाहा भयो – छुन हुने रहेछ तर ‘छोइयो’ भन्न नहुने रहेछ । गर्न हुन्छ, भन्न हुन्न ।

म सानो हुँदा खेतिपातिमा मात्र निर्भर थियो गाउँ । खान पुग्ने, नपुग्ने र बल्ल तल्ल खान पुग्ने मान्छे हुन्थे । किनेर खानुलाई ‘बेसाहा’ खाएको भन्थे । बेसाहा खाने मान्छे गरिव र बेसाहा लाउने मान्छे धनी कहलिन्थे । अनि बेसाहा खोज्ने काम धेरै जसो रातमा हुन्थ्यो । दिउसोमा खोज्दा बेसाहा खोज्ने गरिव भनेर बेइज्जत हुने रहेछ । गर्न हुन्छ भन्न हुन्न । देखाउन हुन्न । ईज्जत ढाक्न पर्छ ।

यस्तै सुन्दै र भोग्दै बाल्यकाल बित्यो । अनि शहर तिर पसियो । राजनीति पनि अलि बुझ्ने भइयो । त्यहाँ पनि गर्न हुने र भन्न नहुने कुरा धेरै हुँदा रहेछन् । जागिर खाएपछि घुस खान मज्जाले हुँदो रहेछ तर भन्न नहुने रहेछ । भने त ‘तोय लाएर’ छोड्न पर्ने रहेछ । कोही चिट चोरेर पढ्ने रहेछन् भने कोही सर्टिफिकेट नै किनेर ल्याउँदा रहेछन् । केही छैन, गर्न हुन्छ तर भन्न हुन्न । ‘मैले चिट चिरेर पास गरेको’  भने त बेइज्जत भयो नि, होइन ? ‘मैले घुस खाएर घर बनाएँ’ भनेर कसले भन्ला ? त्यसैले फेरि पनि – गर्न हुन्छ. भन्न हुन्न ।

भोटको राजनीतिमा पैसा लिएर भोट हाल्न, पैसाले भोट किन्न मज्जाले हुने रहेछ तर ‘मैले पैसाले भोट किनें’ भन्न हुदैहुन्न । मैले पैसा खाएर भोट हालें भन्न नि मिल्दैन । बेइज्जत हुन्छ । पैसा बाँड्ने पनि रातिमा हो । अनि खाने पनि रातिमा हो । दिउसोमा मिल्दैन । पैसा बाँडे पनि नबाँडे पनि, खाए पनि नखाएपनि अप्रत्यक्ष रुपमा ‘बाँडें खाएँ’  भन्न नि मिल्छ तर ठाडै भन्न मिल्दैन । त्यसैले – गर्न हुन्छ भन्न हुन्न ।

२०५२ सालदेखि राज्य पक्ष र माओवादी पक्षामा लडाँई चर्कियो । दुबै तर्फबाट जनधनको क्षति भयो । बेपत्ता पारियो । त्यो कुरा जग जाहेर छ । १७ हजार मान्छे मारियो ।  अनि माओवादीका कमाण्डर थिए प्रचण्ड । मान्छे मार्दा भन्दा ठुलो ववण्डर उनले ‘५ हजारको जिम्मा लिन्छु’ भन्दा मच्चियो । मार्न हुन्छ तर ‘मारें’ भन्न हुन्न । भने त ज्यान मारा भइहालियो नि, भन्नै मिल्दैन । भने त तोय लाउन परो नि । हेग जान परो । गर्न पो हुन्छ त, भन्न कहाँबाट हुनु ?

मेरो र आरजु भाउजुको कुरा ठ्याक्कै मिल्छ । भुटानी शरणार्थीको सन्दर्भमा कसरी छोराको कसम खाएर हुँदै होइन भन्नु भयो । ठोकुवा गर्नु भयो नि । हो, उहाँलाई थाहा छ – गर्न हुन्छ तर भन्न हुन्न भनेर । टेकनाथ बिचरा सोझा ! उनलाई के थाहा? भन्न हुन्न भनेर ! कुरा फुस्काई हाले । भन्न त ज्यान गए नि हुन्न ।

प्रचण्डले बेलाबेलामा कुरा फुस्काउछन् । यो लेख प्रचण्डले पनि पढुन् र बुझुन् कि गर्न हुन्छ भन्न हुन्न भनेर । किन फ्याट्ट ‘प्रधानमन्त्री बन्न भारत धाउनु पर्छ’ भनेको होला ! त्यति पनि हामीलाई थाहा छैन र ? वर्षौं देखि सबै नेपालीले देखेको भोगेको होइन र ? जग जाहेर छैन र ? अहिले आएर फ्याट्ट बोलेर लाजको मर्नु । राष्ट्रिय लाज ! अब प्रचण्डलाई कुर्सीमा बस्ने कुनै अधिकार छैन । खुरुक्क राजिनामा दिने अनि अर्को कसलाई बनाउने हो बनाउने ! को को लाई सोध्ने हो सोध्ने तर भन्न मिल्दैन । गर्न मिल्छ भन्न मिल्दैन ।

यो ढाँट नीति राष्ट्रिय मात्र होइन अन्तरराष्ट्रिय वा मानवीय चरित्र नै हो । मैले त  आफुले जानेको र सुनेको कुरा लेखेको ! हाम्रो ढाकेर राख्ने ढर्रा संस्कार छ नि, त्यो राखि राख्नु पर्छ । देखाउनु हुन्न । यस्तो कहिलेसम्म हो कुन्नि ? जे होस्, गर्न हुन्छ भन्न हुन्न ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com