टमाटरको सुरक्षाका लागि बाउन्सर तैनाथ गरेको आरोपमा दुई जना पक्राउ (भिडियो)
प्रकाशित मिति : असार २५, २०८० सोमबार
उत्तर प्रदेशको वाराणसीमा प्रहरीले टमाटरको सुरक्षाका लागि बाउन्सर तैनाथ गरेको आरोपमा एक पसले र उनका छोरालाई पक्राउ गरेको छ ।
यस मामिलामा समाजवादी नेता अजय यादवसहित पाँच जनाविरुद्ध शान्ति भंग गरेको आरोपमा मुद्दा दर्ता गरिएको छ ।
यसै विषयसँग जोडिएको भिडियोमा महँगो भएको टमाटरको सुरक्षामा खटिएका दुई बाउन्सरसहित समाजवादी पार्टीका स्थानीय नेता देखिएका छन् ।
समाचार एजेन्सी पीटीआईले लंका पुलिस स्टेशन वाराणसीका एसएचओ अश्विनी पाण्डेलाई उद्धृत गर्दै पसलको मालिक दाबी गर्ने समाजवादी पार्टीका नेता अजय यादव हाल फरार रहेको जानकारी दिएको छ ।
भाजपा टमाटर को ‘Z PLUS’ सुरक्षा दे. pic.twitter.com/k1oGc3T5LN
— Akhilesh Yadav (@yadavakhilesh) July 9, 2023
यस मामिलामा जगन्नारायण यादव र उनका छोरा विकास यादवलाई आइतबार ‘मानहानी’ गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
भारतमा पछिल्लो दुई सातादेखि टमाटरको भाउ ह्वात्तै बढेको छ । धेरै सहरमा टमाटर प्रतिकिलो १५० रुपैयाँभन्दा बढीमा बिक्री भइरहेको छ ।
प्रधानमन्त्री नरेन्द्र मोदी आफ्नो लोकसभा क्षेत्र वाराणसीको भ्रमणमा रहेका बेला शनिबार अजय यादवले यो अनौठो प्रदर्शन गरेका हुन् । उनीहरूले टमाटरको मूल्यमा झगडा गर्ने ग्राहकहरूसँग व्यवहार गर्न दुई बाउन्सरहरू तैनाथ गरेका थिए। यो भिडियो अखिलेश यादवले पनि ट्वीट गरेका छन् ।