सहायक विदेश मन्त्री लूद्वारा प्रधानमन्त्रीसित भेट, सीता दाहालको तस्बिरमा माल्यार्पण
प्रकाशित मिति : असार २९, २०८० शुक्रबार
काठमाडौं, २९ असार । प्रधानमन्त्री पुष्पकमल दाहालसित अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लूे आज काठमाडौंमा शिष्टाचार भेट गर्नुभएको छ ।
नेपाल भ्रमणका क्रममा रहनुभएका विदेश सहायक मन्त्री लूले प्रधानमन्त्री निवास बालुवाटारमा पुगी प्रचण्ड र उहाँका परिवारलाई भेटेर समवेदना समेत व्यक्त गर्नुभएको छ । पत्नी शोकमा रहनुभएका प्रचण्डलाई समवेदना व्यक्त गर्दै लूले सीता दाहालप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । सीता दाहालको निधनप्रति गहिरो दुख व्यक्त गर्दै लूले दाहालको तस्विरमा माल्यार्पणसमेत गर्नुभएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
त्यस्तै, सहायक विदेश मन्त्री डोनाल्ड लूले आज राजधानी काठमाडौंमा परराष्ट्र मन्त्री एनपी साउदसँग भेटघाट गर्नुभएको छ । सो भेटका क्रममा सहायक विदेश मन्त्री लू र साउदबीच द्विपक्षीय हितका विषयमा कुराकानी भएको थियो । बंगलादेश नेपालसँग विद्युत व्यापारका लागि इच्छुक रहेको आफूले पाएको भेटवार्ताका क्रममा लूले जानकारी दिनुभएको छ । सन् २०२६ मा नेपाल अल्प विकसित मुलुकको सूचीबाट स्तरोन्नति र त्यसपछि दुइ देशबीचको आपसी हित र सहयोगको निरन्तरताका सम्बन्धमा पनि छलफल भएको थियो । नेपालको विकासका लागि अमेरिकी सहयोग निरन्तर रहने पनि सहायक विदेश मन्त्री लूको प्रतिवद्धता थियो ।
त्यसैगरी, सहायक मन्त्री लूले नेपाली काँग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग पनि भेट गर्नुभएको छ । देउवा निवास घुम्बाराहीमा भएको भेटघाटका क्रममा नेपाल अमेरिकी सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको थियो । शान्ति र लोकतन्त्रको प्रबर्धनमा लूको अटल सहयोगका लागि पूर्वप्रधानमन्त्री एवम् काँग्रेस सभापति देउवाले कृतज्ञता व्यक्त गर्नुभएको छ । नेपाल र अमेरिकाको थप सुदृढ बनाउने विषयमा रचनात्मक छलफल भएको देउवाले उल्लेख गर्नुभएको छ ।
भेटघाटका क्रममा लू ले नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसित पनि भेटघाट गर्नुभएको छ । भेटका क्रममा एमसीसी परियोजनालगायतका विषयमा छलफल भएको थियो ।