अर्बौको ऋणमा नेपाल एयरलाइन्स, कहिले र कसरी गर्ला चुक्ता ?


प्रकाशित मिति : श्रावण ८, २०८० सोमबार

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) अर्बौको घाटामा छ । पछिल्लो समय नेपाल एयरलाइन्सको आम्दानीमा केही सुधार भएपनि अर्बौको घाटा पूर्ति हुने अवस्था भने देखिएको छैन ।

नेपाल सरकारको जमानतमा कर्मचारी सञ्चयकोष र नागरिक लगानी कोषबाट लिएको अर्बौ ऋण चुक्ता गर्न नेपाल वायु सेवा निगमले सकिरहेको छैन । निगमले चार वटा विमान खरीद गर्न कर्मचारी सञ्चय कोषबाट २२ अर्ब र नागरिक लगानी कोषसँग १२ अर्ब रुपैयाँ ऋण लिएको थियो । सो ऋण कहिलेसम्म र कसरी तिर्ने भन्ने विषयमा निगम अन्यौलमा देखिएको छ ।

नेपाल वायुसेवा निगमको केन्द्रीय कार्यालय

२०७४ जेठ २९ गते नेपाल सरकारको जमानतमा नेपाल वायुसेवा निगम र नागरिक लगानी कोषबीच ऋण दिने सम्झौता भएको थियो । १५ वर्षको लागि तीन/तीन महिनामा किस्तामार्फत भुक्तानी गर्ने गरी लगानी कोषले १२ अर्ब रुपैयाँ निगमलाई दिएको थियो । निगमले तोकिएको समयमा किस्ता तिर्न नसकेपछि साँवा/ब्याज जोडेर हालसम्म १ अर्ब ७२ करोड ६८ लाख २४ हजार ८ सय ७७ रुपैँया मात्रै कोषलाई भुक्तानी गरेको छ । लगानी कोषले वायूसेवा निगमबाट अझै १७ अर्ब ७३ करोड बढी रकम उठाउन बाँकी रहेको कोषकी निर्देशक शोभा श्रेष्ठले जानकारी दिनुभएको छ । कोषबाट लिएको ऋणको किस्ता निगमले समयमा नबुझाउँदा आर्थिक कारोवारमा समेत समस्या देखिएको उहाँको भनाई छ ।

नागरिक लगानी कोषको केन्द्रीय कार्यालय

वायुसेवा निगमले न्यारोबडी र वाइडबडी विमान खरीदका लागि कर्मचारी सञ्चयकोषबाट छुट्टा छुट्टै ऋण लिएको थियो । निगमले कर्मचारी सञ्चयकोषसँग न्यारोबडी जहाँज खरीद गर्न २०७० साल असारमा सम्झौता गरेको थियो । सोही सम्झौता अनुसार कोषले निगमलाई २०८२ सालको असार मसान्तसम्म कूल दश अर्ब कर्जा दिएको थियो । न्यारोबडी जहाजतर्फ २०८० को असार मसान्तसम्म निगमले कर्मचारी सञ्चय कोषलाई साँवा मात्रै ९ अर्ब ४० करोड २९ लाख ३२ हजार तिर्न बाँकी छ । त्यस्तै, १ अर्ब ३० करोड ६९ लाख २६ हजार रुपैँया निगमले कोषलाई तिर्न बाँकी छ ।

त्यस्तैगरी वाइडबडी जहाजको लागि निगमले कर्मचारी सञ्चयकोषसँग २०७४ सालको जेठमा सम्झौता गरी १२ अर्ब लिएको थियो । वाइडबडी जहाजतर्फ २०८० को असार मसान्तसम्म निगमले कर्मचारी सञ्चय कोषलाई साँवा मात्रै १४ अर्ब १५ करोड ७१ लाख ९४ हजार तिर्न बाँकी छ भने ३ अर्ब ७० करोड ६४ लाख १८ हजार ब्याज मात्रै तिर्न बाँकी छ । निगमले कोषलाई समयमा ब्याज तिर्न नसकेपछि अर्थमन्त्रालय मार्फत प्रस्ताव गर्दै बेलाबेलामा ब्याजलाई पनि साँवामा जोड्न लगाउँदै आइरहेको छ ।  यसरी हेर्दा वायूसेवा निगमले कर्मचारी सञ्चय कोषसँग लिएको कुल २२ अर्ब कर्जा मध्ये २३ अर्ब ५५ करोड सावाँ र ५ अर्बबढी ब्याज तिर्न बाँकी रहेको कोषका प्रवक्ता दामोदर सुवेदी बताउनुहुन्छ । निगमले समयमै ब्याज तिर्न नसकेको उहाँको भनाई छ ।

कर्मचारी सञ्चयकोषको केन्द्रीय कार्यालय

‘निगमले समयमै नियमित रुपमा कोषलाई ब्याज तिर्न सकेको अवस्था छैन् । समयमै नियमति ब्याज तिरिदिए सञ्चयकोषलाई पनि राम्रो हुन्थ्यो ।’– प्रवक्ता सुवेदी भन्नुहुन्छ– ‘समयमै नियमति ब्याज तिरिदिए सञ्चयकर्ताहरुलाई हामीहरुले अझै राम्रो सेवा दिन सक्थ्यौं ।’

निगमले गत असार मसान्तमा कर्मचारी सञ्चयकोष र नागरिक लगानी कोषलाई गरी ८३ करोड ९ लाख ५५ हजार दुई सय ८१ रुपैँया ब्याज तिरेको छ । यसअघि निगमले २०७९ साल असारदेखि चैतसम्ममा दुई अर्ब ९४ करोड २८ लाख ६५ हजार ८ सय ४४ किस्ता रकम भुक्तानी गरेको थियो । अर्बौ घाटा खेपिरहेको आलोचनाको बीच निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई किस्तामार्फत रकम भुक्तानी गरेपछि निगमको आम्दानीमा वृद्धि भएको देखिएको छ । तर, चालु आर्थिक वर्षमा आम्दानी बढेपनि हालसम्म कति सञ्चालन नाफा भयो भन्ने यकिन विवरण लेखापरीक्षणपछि मात्र थाहा हुने निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिनुभयो ।

नेपाल वायुसेवा निगमको केन्द्रीय कार्यालय

कर्मचारी सञ्चयकोष र नागरिक लगानी कोषलाई तिर्न बाँकी रहेको मुल्यलाई हेर्दा वायुसेवा निगम करिब ४६ अर्ब ऋणमा छ । अर्बौको घाटा ब्यहोर्दै आइरहेको निगमले ऋण कहिले चुक्ता गर्छ भन्नेमा स्पष्ट जवाफ दिन सकेको छैन । ऋण तिर्न नसके पनि निगमले पछिल्लो समय दुर्गम क्षेत्रमा उडान भर्ने गरी तीन वटा साना जहाज किन्ने तयारी गरेको छ । ऋण भुक्तानी गर्ने सन्दर्भमा निगमले ठोस योजना ल्याउन नसक्दा कहिलेसम्म कसरी ऋण भुक्तानी हुने भन्ने विषयमा निगमका अधिकारीहरुले स्पष्ट पार्न सकेका छैनन् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com