पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई ३ वर्षको जेल सजाय
प्रकाशित मिति : श्रावण २०, २०८० शनिबार
इस्लामावादको जिल्ला तथा सत्र अदालतले पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई दोषी ठहर गर्दै तीन वर्षको जेल सजाय र एक लाख रुपैयाँ जरिवाना तोकेको छ ।
शनिबार दिउँसो १२ बजे ब्रेकपछि तेस्रो पटक तोशखाना मुद्दाको सुनुवाइ सुरु हुँदा इमरान खानका वकिल हाजिर भएनन् ।
अदालतले उनका वकिललाई १२ बजेसम्म हाजिर हुन समय दिएको थियो, त्यसपछि अदालतले आफ्नो फैसला सुनाएको हो ।
पाकिस्तान निर्वाचन आयोगका वकिल अमजद परवेजले यस अदालतले सजाय पाएपछि इमरान खानलाई पाँच वर्षका लागि चुनावमा भाग लिन अयोग्य ठहरिने बताएका छन् ।
तोशखाना सरकारी विभाग हो। यहाँ प्रधानमन्त्री, राष्ट्रपति वा अन्य वरिष्ठ अधिकारीहरूले भ्रमणका क्रममा प्राप्त गरेका बहुमूल्य उपहारहरू राखिन्छन्।
कुनै पनि विदेश यात्राको समयमा परराष्ट्र मन्त्रालयका अधिकारीहरूले ती उपहारहरूको अभिलेख राख्छन् र स्वदेश फर्किएपछि तोशाखानामा जम्मा गरिन्छ।
इमरान खानले सत्तामा रहँदा आफूले पाएका उपहारहरूबारे अधिकारीहरूलाई सही जानकारी नदिएको आरोप लगाइएको थियो।