तीन देशको भ्रमण गरेको दुई हप्ता नबित्दै माधव नेपालको यूरोप यात्रा


प्रकाशित मिति : श्रावण २२, २०८० सोमबार

सरकारमा सहभागी भएपनि नेकपा एकीकृत समाजवादीका अगाडि गम्भिर चुनौतिहरु देखिएका छन् । अध्यक्ष माधवकुमार नेपालले सहकर्मीहरु कै साथ गुमाउँदै गइरहेका छन् । आफ्नै सहकर्मी पार्टीका सम्मानित नेता झलनाथ खनालले फरक मतसहितको दस्तावेज स्थायी कमिटी बैठकमा प्रस्तुत गरेका छन् । पार्टीलाई सैद्धान्तिक र नीतिगत सवालमा एमाले भन्दा भिन्न देखाउन नसकेको कारणले नेता कार्यकर्तामा उत्साह देखिएको छैन । सडक, सदन र संगठनमा एकीकृत समाजवादी कमजोर सावित भएको छ । सरकारका कामकाजमा पनि प्रभावकारी भूमिका देखाउन सकिरहेको छैन । संगठन यत्रतत्र बिथोलिएको छ ।

पार्टीलाई सम्हाल्न नसकेका अध्यक्ष नेपाल विदेश भ्रमणमा व्यस्त छन् । अध्यक्ष नेपाल प्रवासी नेपाली एकता मञ्चले स्विजरल्याण्ड, स्पेन, क्रोसिया र बेलायतमा आयोजना गर्ने विभिन्न कार्यक्रममा सहभागी हुन सोमबार स्वीटजरल्याण्ड प्रस्थान गरेका छन् । ललिता निवास प्रकरणमा छानबिन गर्न सर्वोच्च अदालतले आदेश दिएको भोलिपल्ट नै उनी युरोपका लागि उडेका हुन् । अध्यक्ष नेपालको पूर्वनिर्धारित कार्यक्रम अनुसार नै विदेश प्रस्थान गरेको उपमहासचिव जगन्नाथ खतिवडा बताउँछन् । ‘यो कुनै संयोग, विदेशको मोह होइन्, पूर्वनिधारित कार्यक्रम अनुसार नै जानुभएको हो ।’- उपमहासचिव खतिवडाले भने ।

अध्यक्ष नेपाल अन्तर्राष्ट्रिय स्तरमै मान्यता कमाएको नेता भएको कारणले संसारभरका कम्यूनिष्ट पार्टीहरुसँग अन्तरक्रिर्या गर्ने, सम्बन्ध विकास गर्ने उद्धेश्य रहेको खतिवडाले बताए । उनले पार्टीलाई सुव्यवस्थित बनाउने र विदेशमा रहेका नेपालीहरुबीच पार्टीको विचार, धारालाई स्थापित गर्न अध्यक्ष नेपाल विदेश भ्रमण गएको उनको भनाई छ ।

पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपाल यसअघि त्रिदेशीय भ्रमणका क्रममा साउन ७ गते राती करिब १२ बजे इन्डोनेसिया प्रस्थान गरेका थिए । अन्तर्राष्ट्रिय कम्युनिष्ट पार्टीको बैठकमा सहभागी हुन इन्डोनेसिया पुगेका उनले सिङ्गापुर र मलेसियाको पनि भ्रमण गरेका थिए । यस्तै, अध्यक्ष नेपाल गत असार १८ गते श्रीलङ्का कम्युनिष्ट पार्टी स्थापनाको ८०औँ वर्ष पूरा भएका सन्दर्भमा त्यहाँ आयोजना भएको सम्मेलनमा सहभागी भएका थिए ।

यस्तै, न्युजिल्याण्डको अकल्याण्ड सहरमा भएको ‘७०औँ माउन्ट एभरेष्ट सेलेव्रेशन डे’ मा सहभागी हुन अध्यक्ष नेपाल गत जेठ १२ मा न्युजिल्याण्ड पनि पुगेका थिए ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com