बाढी, पहिरो वा डुबानको जोखिममा ५ पूर्वतयारी, यी हुन् अत्यावश्यक फोन नम्बर
प्रकाशित मिति : श्रावण २७, २०८० शनिबार
मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ (नेपाल नजिक) अवस्थित रहेकाले आगामी तीन दिनसम्म नेपालका धेरैजसो स्थानमा वर्षा हुने सम्भावना छ । सोमबारसम्म देशको पहाडी भू-भागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेकोले जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिरहेको छ । वर्षाका कारण सहरी क्षेत्रमा डुबानको जोखिम रहेको, ठूला तथा साना नदी नाला र खोलामा पानीको सतह बढ्न सक्ने, दैनिक जनजीवन तथा सडक तथा हवाई यातायात समेत प्रभावित हुनसक्ने महाशाखाको अनुमान छ ।
वर्षाले पहाडी भू-भागमा पहिरो तथा गेग्रान बहावको जोखिम र तराइँ तथा सहरी क्षेत्रमा डुबानको जोखिम रहेकोले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि आवश्यक सर्तकता अपनाउन आग्रह गरेको छ । मन्त्रालयले आफ्नो घर, गाउँ बाढी, पहिरो वा डुबानको जोखिममा रहेको अवस्थामा पूर्वतयारीका लागि सुझाव समेत दिएको छ ।
पुर्वतयारीका लागि के गर्ने ?
१, नदीको जलसतहले सतर्कता तह पार गरेका केही म्यासेज पो आयो कि बेला बेला मोबाइलमा चेक गर्नुहोस्, स्थानीय रेडियोका समाचार पनि बेला बेला सुन्नुहोस् ।
२, सुरक्षित स्थानतिर जान भनिएको छ भने सूचनामा भनिए जस्तै सुरक्षित स्थान तिर जानुहोस् ।
३, मोबाइलमा ब्याट्री र ब्यालेन्स छ, छैन चेक गर्नुस् । यस्तो बेला अनावश्यक तथा लामो कुराकानी नगर्नुहोस् । ब्याट्री बचाएर ब्यालेन्स हालेर मोबाइल आफैसँग राख्नुहोस् ।
४, मोबाइलमा अत्यावश्यक फोन नम्बरहरु सेभ गरेर राख्नुहोस् । – (जस्तै: बाढीबारे बुझ्न ११५५, मद्धतको लागि ११४८ ,प्रहरी डाक्न १०० र स्वास्थ्य समस्या भए १११५ र ११३३)
५, अत्यावश्यक कागजातहरु (जस्तै: नागरिकता, लालपूजा, जन्मदर्ता विवाहदर्ता राहदानी शैक्षिक प्रमाणपत्रहरु), गरगहना र नगद साथै अत्यावश्यक औषधि, टर्चलाईट, पानी, तयारी खाजा जस्ता सामानहरू एउटा झटपट कोलामा सुरक्षित राख्नुहोस र सुरक्षित स्थान तिर जाँदा संगै लानुहोस् ।