नेपाली कारागारमा १३८१ विदेशी नागरिक, कहाँ र कस्तो सजाय भोगिरहेका छन् ?


प्रकाशित मिति : श्रावण ३१, २०८० बुधबार

नेपाल पछिल्लो समय विदेशी नागरिकहरुले अपराध गर्ने अखडा बन्न थालेको छ । विदेशी नागरिकले नेपाललाई केन्द्रबिन्दु बनाएर अपराधिक क्रियाकपापमा संलग्न हुनेहरु बढेका छन् । नेपाल पर्यटकीय हिसाबले महत्वपूर्ण देश मानिएको कारणले पनि विदेशीहरु नेपालमा आउने र अपराधिक क्रियाकलाप संलग्न हुने गरेका हुन् । नेपाल र भारतबीचको खुल्ला सीमानाले पनि नेपालमा अपराधिक घटनाहरुमा विदेशीहरुको हात देखिने गरेको छ । जसलाई नेपालमा पछिल्लो समयको सुन काण्डले स्पष्ट पारिदिएको छ । अपराधमा संलग्न विदेश नागरिकहरु यत्ति कै उम्कन भने पाएका छैनन् । नेपाललाई ट्रान्जिट बनाएर अपराधमा संलग्न एक हजार तीन सय ८१ विदेशी नागरिकहरू नेपालमा कारागारमा सजाय भोगिरहेको कारागार व्यवस्थापन विभागले जनाएको छ ।

कुन देशका कति नागरिक छन् ?
विभागका निर्देशक कमल प्रसाद पाण्डेका अनुसार नेपाली कारागारमा सबै भन्दा धेरै भारतीय नागरिकहरु रहेका छन् । भारतीय एक हजार एक सय ५, चिनियाँ ४०, भुटानी ७५, पाकिस्तानका २४, बंगलादेशका १५, साउथ अफ्रिकाका १४ र थाइल्याण्डका ८ जना रहेका छन् । यस्तै, मलेसिया र बोलिभियाका ५-५, नाइजेरियाका ६, फ्रान्सका ४, जर्मनी, टर्की, इरान, सुडान र बेलायतका ३-३ जनाले नेपाली कारागारमा सजाय भोगिरहेका छन् । त्यस्तै, दक्षिण कोरिया, नेदरल्याण्ड, युक्रेनका दुइ–दुइ जना, पोर्चुगल, इराक र सिरियाका एक–एक गरि अन्य विभिन्न देशका कैदीहरु नेपाली कारागारमा छन् ।

नेपालमा पक्राउ परेका विदेशी नागरिकहरुले कहाँ सजाय कटाई रहेका छन् ?
नेपालमा अपराधिक क्रियाकलापमा संलग्न भई पक्राउ परेकाहरु देशका विभिन्न प्रदेशका विभिन्न जिल्लाका कारागारहरुमा सजाई काटिरहेका छन् । कोशी प्रदेशका विभिन्न जिल्लाका कारागारहरुमा दुई सय ५०, मधेश प्रदेशमा दुई सय ८८, बागमती प्रदेशमा पाँच सय ३९, गण्डकी प्रदेशमा २८, लुम्बिनी प्रदेशमा दुई सय तीन, कर्णाली प्रदेशमा ७ जना र सुदुरपश्चिम प्रदेशमा ६६ जना विदेशी नागरिकले जेल जीवन बिताईरहेको विभागले जनाएको छ ।

अपराध बढ्नुको प्रमुख कारण खुल्ला सीमाना : प्रहरी
नेपालमा विभिन्न बाहानामा आउने र कतिपयले नेपालमै व्यवसाय सुरु गर्ने र केहीले गैरकानून काम गर्ने गरेको नेपाल प्रहरीको बुझाई छ । नेपाल भारतबीचको खुल्ला सीमानाले पनि नेपालमा हुने अपराधलाई बढ्वा गराइदिएको छ । नेपालमा अपराध गरेर भारतमा भाग्न सजिलो हुने गरेकोले पनि अपराधमा विदेशीहरुको हात बढ्ने गरेको नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक तथा प्रवक्ता कुबेर कडायत बताउँछन् । प्रहरीका अनुसार विदेशीहरु नेपालमा ज्यानमार्ने उद्योग, भन्सार छली, ठगी, अवैध मुद्रा, अभद्र व्यवहार, लागुऔषध कारोबार, जबरजस्ती करणी, अपहरण, चोरी, अन्लाइन ठगि र भीषा सम्बन्धी गतिविधिमा संग्लन हुने गरेका छन् ।

नेपालमा विदेशी नागरिकहरू विभिन्न अपराधमा संलग्न हुनुको प्रमुख कारण खुला सीमा र फितलो अध्यागमन नीति रहेको अपराधशास्त्रीहरु बताउँछन् । भिसामा खुकुलो, कमजोर अनुगमन भएको कारण विदेशीहरूको अपराधमा संलग्नता बढेको उनीहरुको बुझाई छ । विदेशी नागरिकलाई राम्ररी जाँच गरेर मात्रै भिसा दिने र आएका विदेशी नागरिकहरुको क्रियाकलापमा निगरानी राख्न सके नेपालमा हुने अपराधिक गतिविधिलाई न्यूनिकरण सकिने देखिन्छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com