बेलायतको एयर ट्राफिक कन्ट्रोलमा समस्या: उडानहरू रद्द, हजारौं यात्रीलाई सास्ती


प्रकाशित मिति : भाद्र १२, २०८० मंगलबार

बेलायतमा हजारौं हवाई यात्रुहरूले कठिनाइको सामना गरिरहेका छन्। बेलायतको एयर ट्राफिक कन्ट्रोलको प्राविधिक समस्याका कारण हजारौं उडानहरू रद्द भएका छन् र उडानहरू ढिलो चलिरहेका छन्।

बेलायतमा एयर ट्राफिक कन्ट्रोल गर्ने नेटले उडानसँग सम्बन्धित योजना प्रणाली बिग्रिएको बताएको छ ।

जसका कारण अब उडानको योजना कुनै प्रणालीविना नै गर्नुपर्ने भएको छ । अर्थात् जुन गतिमा मेसिनले कुनै काम गर्दथ्यो, अब त्यो काम मानिसले गर्नुपर्छ । त्यसैले यसमा ढिलाइ हुने निश्चित छ ।

समाचार एजेन्सी पीटीआईका अनुसार एयर इण्डियाले बेलायतमा भएको यो गडबडीले एयरलाइन्सको उडानमा खासै असर नपर्ने र कम्पनीले अवस्थाको निगरानी गरिरहेको बताएको छ ।

यो प्राविधिक गडबडीका कारण मानिसहरु बेलायत र विदेशमा अलपत्र परेका छन् । राष्ट्रिय वायु ट्राफिक सेवाले अवतरण गर्न सक्ने विमानहरूको संख्या सीमित गरेको छ।

केही घण्टामै समस्या समाधान भए पनि ढिलाइको सामना गर्नुपर्ने विमानस्थल र वायुसेवा कम्पनीका तर्फबाट बताइएको छ । एक यात्रुले बीबीसीलाई उनको उडान दिउँसो भएको तर मध्यरातपछि पनि निस्कन नसकेको बताएकी छन् ।

यात्रुले केही दिनसम्म यस्तो समस्या भोग्नुपर्ने हुनसक्ने चेतावनी समेत दिइएको छ । लण्डनको हिथ्रो विमानस्थलले सोमबार राति मंगलबार यात्रा गर्नुपर्ने यात्रुले विमानस्थलमा आउनुअघि एयरलाइन्स कम्पनीसँग सम्पर्क गर्नुपर्ने बताएको छ ।

अन्य एयरपोर्टका यात्रुहरूलाई पनि यस्तै सल्लाह दिइएको छ। यो प्राविधिक समस्याको असर ब्रिटिस एयरवेज, भर्जिन एट्लान्टिक, टियुआईका उडानमा पनि देखिएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com