भारतको इनिङ्सपछि क्यान्डीमा वर्षा, खेल रद्ध भए के हुन्छ ?
प्रकाशित मिति : भाद्र १६, २०८० शनिबार
श्रीलंकाको क्यान्डीमा जारी एसिया कप क्रिकेटको तेस्रो खेलमा भारत र पाकिस्तानबीचको खेलमा वर्षाले पुनः अवरोध सिर्जना गराएको छ । भारतको इनिङ्स सकिएपछि खेलमा फेरि वर्षाले हस्तक्षेप गरेको हो ।
अहिलेसम्म झण्डै एक घण्टाको खेल वर्षाले प्रभावित भएको छ । यस्तो अवस्थामा वर्षाले खेल प्रभावित भए के गर्ने भन्ने प्रश्न उठ्छ ।
यस प्रतियोगिताको लागि तोकिएको नियम अनुसार दुवै टोलीले कम्तीमा २०–२० ओभरको खेल खेलेपछि मात्रै यस खेलको कुनै नतिजा आउनेछ ।
तर, धेरै मिहिनेत र पर्खाइपछि पनि त्यस्तो हुन सकेन भने दुई टोलीबीच अंक बाँडिनेछ । अर्थात् दुवै टोलीबीच एक–एक गरी बाँडफाँड गरिनेछ ।
यदि यो खेल रद्द भयो भने पाकिस्तानको कुल तीन अंक हुनेछ। भारतले त्यहाँ एक अंक पाउनेछ। समूह ‘ए’ को तेस्रो स्थानमा रहेको नेपाललाई पाकिस्तानले पराजित गर्दा नेपालको अंकको खाता खोल्न सकेको छैन ।
यस्तो अवस्थामा एसिया कपको ‘सुपर फोर’ मा पुग्न भारतले नेपालविरुद्ध कुनै पनि हालतमा जित दर्ता गर्नुपर्नेछ ।