भारत र क्यानडाबीच जारी तनावका बीच अमेरिकी विदेशमन्त्रीसँग जयशंकरको भेट
प्रकाशित मिति : आश्विन १२, २०८० शुक्रबार
खलिस्तान समर्थक पृथकतावादी नेता हरदीप सिंह निज्जरको हत्यालाई लिएर भारत र क्यानडाबीच जारी कूटनीतिक विवादको बीच भारतीय विदेशमन्त्री एस जयशंकर र अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनबीच भेटवार्ता भएको छ ।
वासिङ्टनमा अमेरिकी विदेश मन्त्रालयमा भएको यो द्विपक्षीय बैठकपछि जयशंकरले भनेका छन्, ‘यहाँ फर्केर आउनु राम्रो हो। भर्खरै हाम्रा प्रधानमन्त्री यहाँ आएका थिए । जी २० शिखर सम्मेलनमा सबै मुद्दाहरूमा समर्थनको लागि अमेरिकालाई धन्यवाद।’
ब्लिन्केनले पनि यस भेटमा दुई बीच ‘धेरै राम्रो छलफल’ भएको बताएका छन् ।
बैठकअघि दुवै पक्षका पदाधिकारी बैठकको एजेण्डाबारे मौन थिए । तर बैठकमा अमेरिकाले आफ्ना दुई घनिष्ठ मित्र (भारत र क्यानडा) बीचको कूटनीतिक संकटको विषयमा छलफल गर्ने विश्वास गरिएको थियो ।
यो भेट हुनुअघि अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता म्याथ्यु मिलरलाई सोधिएको थियो – दुई देशका नेताहरुले बैठकमा क्यानडाको बारेमा पनि कुरा गर्ने हो ? त्यसैले उनले भने, “म त्यो बैठकमा हुने छलफलहरू पूर्वावलोकन गर्न चाहन्न, तर हामीले स्पष्ट गरिसकेका छौं, हामीले हाम्रा भारतीय समकक्षहरूसँग यो मुद्दा उठाएका छौं र क्यानडालाई अनुसन्धानमा सहयोग गर्न अपील गरेका छौं। ”
गत हप्ता क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले देशको संसदमा हरदीप सिंह निज्जरको हत्यामा भारतको हात हुनसक्ने आशंका व्यक्त गरेका थिए । भारतले क्यानडाको आरोपलाई अस्वीकार गर्दै यसलाई ‘बेतुका’ र प्रेरित भएको बताएको छ।
त्यसपछि दुई देशबीच कूटनीतिक तनाव बढेको छ । दुवैले एकअर्काका कूटनीतिज्ञलाई निष्कासन गरेका छन् । भारतले क्यानाडाली नागरिकका लागि भिसा सेवा पनि तत्कालका लागि बन्द गरेको छ ।
क्यानडाले यस विषयमा अनुसन्धान गरिरहेको छ । अमेरिकाले यी आरोप गम्भीर रहेको र भारतले यस अनुसन्धानमा सहयोग गर्नुपर्ने बताएको छ । यद्यपि, क्यानडासँग कस्तो प्रमाण छ भन्ने बारे आधिकारिक जानकारी भने खुलाइएको छैन।