अफगानिस्तान भारतसँग ८ विकेटले पराजित, कप्तान रोहित शर्माले बनाए कीर्तिमान नै कीर्तिमान


प्रकाशित मिति : आश्विन २४, २०८० बुधबार

अफगानिस्तानलाई ८ विकेटले पराजित गर्दै भारतले विश्वकप २०२३ मा दोस्रो जित हात पारेको छ । अफगानिस्तानले पहिले ब्याटिङ गर्दै २७२ रन बनाएको थियो । कप्तान रोहित शर्माको धमाकेदार शतक र विराट कोहलीको अर्धशतकीय इनिङ्सको मद्दतले भारतले ३५ ओभरमा लक्ष्य पुरा गरेको हो ।

विराट कोहलीले ५५ रन र श्रेयस अय्यरले २५ रन बनाएर अन्तिमसम्म अविजित रहे । भारतीय इनिङ्समा कप्तान रोहित शर्माले ८४ बलमा १३१ रनको सबैभन्दा ठूलो इनिङ खेले ।

आफ्नो शतकीय पारीमा रोहित शर्माले एकदिवसीय विश्वकपमा सर्वाधिक शतक प्रहार गर्ने कीर्तिमान बनाएका छन् । विश्वकपमा रोहितको यो सातौं शतक हो । योसँगै उनले एकदिवसीय विश्वकपमा सचिन तेन्दुलकरको ६ शतकको कीर्तिमानलाई पछाडि पारेका छन् ।

रोहितको यो शतकः रोहित शर्माले यो शतकमा भारतका लागि विश्वकपमा सबैभन्दा छिटो शतकको कीर्तिमान पनि तोडे । रोहित शर्माको यो एकदिवसीय क्रिकेटमा ३१ औं शतक हो ।

रोहित शर्माले यो खेलमा थप दुई कीर्तिमान बनाएका छन् ।

रोहितले एकदिवसीय विश्वकपमा सबैभन्दा कम इनिङ्समा हजार रन बनाउने कीर्तिमानको बराबरी गरेका छन् । उनले विश्वकपको आफ्नो १९ औं इनिङ्समा यो कोसेढुङ्गा हासिल गरेका हुन् ।

विश्वकप २०२३ मा भारतसँगको पहिलो खेलमा अष्ट्रेलियाका डेभिड वार्नरले सोही इनिङ्समा १००० रन बनाएर यो कीर्तिमान बनाएका थिए ।

रोहित शर्मा एकदिवसीय क्रिकेटमा सबैभन्दा बढी छक्का प्रहार गर्ने ब्याट्सम्यान बनेका छन् । उनले क्रिस गेलको ५५३ छक्का प्रहारको कीर्तिमानलाई पछाडि छोडे ।

रोहित शर्माले इशान किशनसँग पहिलो विकेटका लागि १५६ रनको साझेदारी गरे । इशान किशनले ४७ रनको इनिङ खेले । भारतको दोस्रो विकेट कप्तान रोहित शर्माको रुपमा २६ औं ओभरमा २०५ रनको स्कोरमा आउट भयो ।

अफगानिस्तानका लागि राशिद खानले दुवै विकेट लिए ।

 

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com