विश्वकप क्रिकेटमा पाकिस्तानमाथि भारतको शानदार जीत, कप्तान रोहितले बनाए ८६ रन


प्रकाशित मिति : आश्विन २७, २०८० शनिबार

विश्वकप- २०२३ मा भारतले पाकिस्तानमाथि ७ विकेटले शानदार जीत हात पारेको छ । पाकिस्तानले दिएको १९२ रनको लक्ष्य भारतले ३०.३ ओभरमा पुरा गर्यो ।

भारतका लागि कप्तान रोहित शर्माले ८६ रन र श्रेयस अय्यरले अविजित अर्धशतक बनाए । एकदिवसीय विश्वकपमा आफ्नो चिर प्रतिद्वन्द्वी पाकिस्तानमाथि भारतको यो लगातार आठौं जित हो। भारतले यो संस्करणको विश्वकपमा लगातार तीन खेल जितेको छ ।

भारतीय इनिङ्सको सुरुवात द्रुत गतिमा भयो । रोहित र शुभमन गिलले पहिलो दुई ओभरमा २२ रन जोडे । गिललाई तेस्रो ओभरमा शाहिन शाह अफ्रिदीले आउट गरे। गिलले १६ रन बनाए । यसपछि विराट कोहली र रोहित शर्माले दोस्रो विकेटका लागि छिटो ५६ रनको साझेदारी गरे।

तर १० औं ओभरमा हसन अलीले विराट कोहलीलाई आउट गरेर भारतलाई दोस्रो झटका दिए । विराटले १८ बलमा १६ रन बनाए ।

रोहित शर्माले मात्र ३६ बलमा अर्धशतक पूरा गरे । यो उनको एकदिवसीय क्रिकेटमा ५३ औं अर्धशतक हो। रोहितले पाकिस्तानविरुद्ध आठौं पटक अर्धशतकीय इनिङ खेलेका छन् ।

२२औं ओभरमा शाहीन शाह अफ्रिदीको बलमा इफ्तिखार अहमदको हातमा क्याच आउट भएपछि रोहितको आँधीबेहरी इनिङ्सको अन्त्य भयो।

रोहितले ६३ बलमा ८६ रन बनाए । रोहितले अफगानिस्तानविरुद्धको पछिल्लो खेलमा सोही बलमा शतक प्रहार गर्दै भारतका लागि विश्वकपमा सबैभन्दा छिटो शतक बनाउने कीर्तिमान बनाएका थिए ।

 

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com