राज्यले नीति ल्याउन नसक्दा संस्कृतिसँग पर्यटनलाई जोड्न सकेनौं : सहदेव धमला (अन्तर्वार्ता)
प्रकाशित मिति : मंसिर १७, २०८० आईतबार
कोरोना महामारीपछि सबैभन्दा बढी धरासायी बनेको क्षेत्र हो, पर्यटन । कोरोनासँगै आर्थिक मन्दीका कारण नेपालको पर्यटन क्षेत्र नराम्ररी प्रभावित बन्न पुग्यो । कोरोना महामारीपछि नेपालको पर्यटन पुनः लयमा आउन थालेको छ । गएको नोभेम्बर महिनामा मात्रै एक लाख आठ हजार छ सय ३० विदेशी पर्यटक नेपाल भित्रिएका छन् । अघिल्लो महिना अक्टोबरमा हालसम्मकै बढी एक लाख १७ हजार तीन सय छ पर्यटक नेपाल भित्रिएका थिए । नेपाल पर्यटन बोर्डका अनुसार सन् २०२३ को जनवरीदेखि नोभेम्बरसम्म ९ लाख १८ हजार तीन सय आठ नेपाल आएका छन् । सरकारले सन् २०२३ मा १० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य लिएको थियो । पर्यटक आगमनको पछिल्लो आँकडाले यो वर्ष सरकारको लक्ष्य पूरा हुने सङ्केत देखिएको छ । जनवरीदेखि नोभेम्बरसम्म भित्रिएका ९ लाख १८ हजारबढी पर्यटकले नेपालको पर्यटकीय गतिविधिमा कस्तो प्रभाव पारे ? लगायतका विषयमा ठमेल पर्यटन विकास परिषद्का उपाध्यक्ष सहदेव धमला बिमलसँग खसोखासले गरेको कुराकानीको सम्पादित अंश :
कोरोना महामारीपछि सबैभन्दा बढी ग्रस्त बनेको क्षेत्र नै पर्यटन क्षेत्र हो । तर, पछिल्लो ११ महिनामा नेपाल भित्रिएका पर्यटकको संख्याले पर्यटन क्षेत्र लयमा फर्किन थालेको देखिन्छ । पर्यटनले पुनः गति लिएको हो ?
कोरोना पछिको एउटा समय निकै नै जटिल थियो । त्यसमा अहिले आएको उत्साहलाई हामीले सकारात्मक नै लिनुपर्छ । तथापी, यसको सामाजिक आर्थिक परिवर्तन भएको विषयमा कुनै पनि अध्ययन भएको देखिदैँन् । अहिले पर्यटन व्यवसायमा मान्छेहरुको आगमन बढ्यो भन्ने छ, त्यसले ट्रेकिङ ट्रायलहरुमा कत्तिको व्यस्त बनायो या त्यहाँ आर्थिक चलायमान कत्तिको गरायो वा ठमेल जस्तै पर्यटकीय क्षेत्रमा त्यसको आर्थिक प्रभाव कस्तो रह्यो भन्नेमा सामाजिक आर्थिक लेखापरीक्षण हुन बाँकी छ । मलाई लाग्छ सकारात्मक त छ यसको समाचार, तथापी, सबैजना पर्यटकीय दृष्टिकोणबाट नेपाल घुम्न आएका होइनन् या पारिवारिक भेटघाटको लागि या दुई वर्षसम्म कोरोनाको कारण आउन नपाएका नेपालीहरु जसले विदेशी नागरिकता प्राप्त गर्नुभएको छ । उहाँहरुको आगमन त्यसपछि हामीले हेर्ने हो भने अस्ति भर्खर गैरआवासिय नेपाली संघको निर्वाचनको लागि धेरै गैरआवासीय नेपालीहरु आउनुभएको देखिन्छ । त्यो तथ्यांकलाई हेर्ने हो भने त्यसले पर्यटकीय गतिविधिमा प्रभाव पारेको देखिदैँन । तर पनि यो आउनु उत्साहजनक नै छ ।
केही हदसम्म भएपनि यहाँहरु सन्तोष हुनुहुन्छ ?
केही हदसम्म हामी सन्तोष छौं । तर, राज्यले यति गरियो ? हाम्रो उपलब्धि हो, यो ठाउँबाट यसरी विदेशी पर्यटक ल्यायौं भनेर राज्यले जुन खालको घोषणा गरेको छ । त्यस्तो खालको पर्यटकीय गतिविधिमा प्रभाव पारेको देखिदैँन । म केही दिन अघि जापानको जापान एसोसिएसन अफ ट्राभल एजेन्ट (जाटा)मा सहभागी भएको थिए, त्यहाँ नेपालीहरुको कोही पनि सहभागि हुनुहुँदैनथ्यो । ७८ वटा मुलुक सहभागी भएको एउटा कार्यक्रममा नेपालले सहभागिता जनाउन नसक्नु दुःखद हो । पर्यटकीय गतिविधिका अनुसार राज्यले हुंकार दिने खालको यो छैन् । नेपाल पर्यटन बोर्डले जुन डाटा सार्वजनिक गरेको छ, त्यसको प्रामाणिक माथि नै प्रश्न छ । उनीहरुले कस्ता खालका डाटा कायम राखेका छन्, त्यसले पर्यटकीय बजारमा प्रभाव पारेको छ कि छैन् ? आर्थिक गतिविधिमा विदेशीहरुको सहभागिता भएको छ कि छैन् ? भन्ने कुराको अध्ययन हुनु जरुरी छ ।
विदेशी पर्यटक त नेपाल आउँछन्, तर खर्च गर्न किन डराउँछन् ?
पहिलो कुरा त, हामीले त्यस्तो खालको वातावरण नै बनाएका छैनौं । राज्यबाट नै त्यस्तो खालको वातावरण बनाउनु पर्यो कि, पर्यटक भनेकै एक ठाउँबाट अर्को ठाउँमा जाने र आर्थिक चलायमान बनाउने हो । आर्थिक चलायमान भएन भने त्यो पर्यटन हुन सक्दैँन । हाम्रो देशमा कस्तो छ भने, हामीले गरेको ६०-७० को दशकमा ह्याप्पी टुरिजम अलिकति फष्टायो । त्यसपछि पर्वतीय पर्यटनले नै थेगिरहेको छ । अहिले हामीले संस्कृतिसँग नेपालको पर्यटनलाई जोड्न नै सकिएको छैन । पर्वतीय पर्यटनलाई छाडेर अन्य पर्यटनमा हामीले हात हाल्न सकिरहेका छैनौं । राज्यले पनि त्यो खालको नीति निर्माण गर्न सकेको छैन् । जसले हर्दा पनि धेरै खर्च गर्ने ग्राहकहरुलाई भित्र्याउन सकेको अवस्था छैन् ।
कस्ता खालका पर्यटकहरु नेपाल आइरहेका छन् ?
नेपालमा आउने पर्यटकहरु आफैमा मध्यम वर्गीय देखिन्छ । न्यून वर्गीय ग्राहक त हाम्रो विमानको खर्च नै धान्न सक्दैनन्, किनकी विमानको टिकट उत्तिकै महंगो छ । मध्यम वर्गीय पर्यटकलाई पनि त पैसा खर्च गर्ने खालको वातावरण हामीले निर्माण गरिदिनुपर्यो नि । यहाँ कुनै पनि उपभोग्य वस्तु खरिद गर्न आउने क्षेत्र त पक्कै होइन् पर्यटन । उनीहरुलाई नेपालमा खर्च गर्ने वातावरण राज्यले निर्माण गरेको छैन् । तर, पैसा तिर्न नसक्ने पर्यटक नेपालमा आउँछन् भन्ने मलाई लाग्दैन् ।
नेपालको पर्यटन क्षेत्रमा अहिले कस्तो खालको प्रतिस्पर्धा छ ? पर्यटकलाई यहाँहरुले गुणस्तरीय सेवा दिन नसक्नुभएको हो ?
नेपालको पर्यटन क्षेत्रमा अहिले धेरै नै प्रतिस्पर्धा छ । हामीले दिने सेवा सुविधालाई पनि गुणस्तरीय बनाउन सकिरहेका छैनौं । जसको कारणले पनि विदेशीहरुको मन जित्न हामीले सकिरहेका छैनौं । उनीहरुले पैसा खर्च गर्ने वातावरण पनि राम्रो बनाउन सकिरहेका छैनौं । प्रतिस्पर्धा कडा छ तर, हामीले प्रभावकारी ढंगले काम गर्न सकिरहेको देखिँदैन् ।
पर्यटक देख्ना साथ धेरै नै महंगोमा सेवा दिनुपर्छ भन्ने हाम्रोे मानसिकता देखिन्छ ? यसले पर्यटनमा कस्तो असर पुर्याउँछ ?
देख्दा महंगो देखिएको हो तर, उनीहरुको देशमा सस्तो छ । हामीले महंगो नै लियौं भन्ने हुन्छ र उनीहरुमा पनि त्यसको प्रभाव पर्नु स्वभाविक हो । तर, उनीहरुको देशमा हाम्रो वस्तु तथा सेवाहरु त सस्ता छन् नि त । उनीहरुले जति तिर्न चाहान्छन्, त्यो अनुसारको वातावरण बनाउन नै सकिरहेका छैनौं । हामीले महंगो लिएका छैनौं । हामीले आफूलाई तुलना गर्दा महंगो देखिएको हो तर, विदेशी नजरबाट हेर्दा त्यो महंगो होइन् । हामीले वस्तु तथा सेवाको गुणस्तर कायम राख्न सकेका छैनौ ।
नेपाल आउने पर्यटकले के चाहान्छन् ? हामीले किन उनीहरुलाई खुशी बनाउन सकिरहेका छैनौं ? कमजोरी कहाँनिर भयो ?
नेपाल भन्ने बित्तिकै हामीे हिमाल, पहाड भन्ने बुझायौं, यो एकदम सकारात्मक धारणा छ । नेपालमा भएको सांस्कृतिक कुराहरुलाई पनि यहाँको पर्यटनसँग जोड्न सकिने हो भने हामीसँग भएको जति पनि मानवीय भावहरु छ, यसलाई पनि पर्यटनसँग जोड्न सक्ने हो भने धेरै लाभ लिन सकिन्छ । राज्यले गहन भएर कल्चर टुरिजमलाई प्रवर्द्धन गर्ने खानाहरुको विषयमा अलि प्रचारप्रसार गर्ने हो भने नेपालको पर्यटन अझै मौलाएर जान्छ ।
सरकारलाई यहाँको सुझाब के छ ?
राज्यले यसरी डाटा दिने होइन् । राज्यले दिने डाटा एकदमै भरपर्दो हुनुपर्यो । यसले सामाजिक आर्थिक क्षेत्रमा कस्तो प्रभाव पारेको छ ? यसको सही सूचना दिनुपर्यो । हामीसँग धेरै गन्तव्यहरु छन् । हाम्रा विदेशीहरु कहाँ आउन्छन् ? कहाँ जान्छन् ? उनीहरुले के गर्छन् ? उनीहरुको गतिविधिमा पनि एउटा खालको निगरानी पनि गर्ने काम गर्नुपर्छ । विभिन्न गन्तव्यमा जान राज्यले प्रोत्साहन पनि गर्नुपर्छ । काम गर्ने प्रमाणित डाटा दियो भने हामीलाई पर्यटकीय गतिविधिलाई चलायमान बनाउन पनि राम्रो हुन्थ्यो । अनाधिकृत डाटा सार्वजनिक गरेर सस्तो लोकप्रियताको लागि यस्ता डाटा दिनुभन्दा पर्यटनलाई व्यवसायिककरण गर्ने, पर्यटन सम्बन्धि संस्थासँग हातेमाले गर्ने, नीजि क्षेत्रलाई विश्वासमा लिने जस्ता काम राज्यले गर्यो भने पर्यटनलाई चलायमान बनाउन सकिन्छ । पर्यटन एकदमै सम्भावना बोकेको क्षेत्र हो राज्यको । यसको वृद्धि विकासमा राज्य गम्भीर हुनुपर्छ ।