सशस्त्र द्वन्द्वमा बलात्कृत महिलाको अवस्था नाजुक, तत्काल उपचार नपाए ज्यान बचाउनै मुस्किल


प्रकाशित मिति : पुस ११, २०८० बुधबार

नेपालमा २०५२ फागुन १ गते सुरुभई १० वर्षसम्म चलेका सशस्त्र द्वन्द्वमा मारिएका, अंगभंग भएका तथा बेपत्ता पारिएकाहरुको विषयमा वर्षौदेखि चर्को बहस हुँदै आएको छ । उनीहरुको समस्यालाई सम्बोधन गर्न प्रयास भएपनि द्वन्द्वमा बलात्कृत भएका महिलाहरुको पक्षमा कुनै काम हुन सकेको छैन् । तत्कालीन विद्रोही नेकपा (माओवादी) र सरकारबीचको शान्तिप्रक्रियाको १७ वर्ष बितिसक्दा पनि द्वन्द्व बलात्कार तथा यौन हिंसामा परेका पीडितहरुमाथि पीडा थपिदैँ गएको छ । बलात्कारमा परेका पीडित महिलाहरु अझै पनि उक्त क्षणबाट मुक्त हुन सकेका छैनन् ।

दशवर्षे द्वन्द्वका क्रममा बलात्कारमा परेका महिलाको स्वास्थ्य अवस्था अत्यन्त नाजुक रहेको पाइएको छ । पीडितहरु महिलाहरु कुनै न कुनै शारीरिक तथा मानसिक रोगको शिकार भएको डरलाग्दो तथ्यांक पाइएको हो । पोस्ट–ट्रमाटिक स्टीट डिसअडर जस्तो रोगबाट पीडितहरु जुधिरहेका छन् ।

स्वास्थ्य शिविरमा सहभागी द्वन्द्वमा बलात्कार पीडित महिला

द्वन्द्वमा बलात्कार पीडित महिलाको राष्ट्रिय सङ्गठनले बलात्कार पीडितहरुको स्वास्थ्य शिविरमार्फत गरेको अध्ययनले पीडितहरुको अवस्था डरलाग्दो रहेको पत्ता लगाएको छ । देवी खड्काको टोलीले तीन वटा स्वास्थ्य शिविर कै आयोजना गरेर द्वन्द्वमा बलात्कारमा परेका महिलाहरुको स्वास्थ्य जाँच गरेको थियो । गाइनोलोजिष्ट र मानसीक स्वास्थ्य चेकचाँचमा २०० बढीले सेवा लिएपनि १२७ जना पीडित महिलाको ल्याब रिपोर्टले डरलाग्दो तथ्यांक देखाएको द्वन्द्वमा बलात्कारपीडित महिलाको राष्ट्रिय संगठनकी संयोजक देवी खड्काले बताइन् ।

सशस्त्र द्वन्द्वमा भएका बलात्कार र यौनजन्य हिंसामा परि पाठेघर नै फालेका महिलाहरु ११ दशमलब २ प्रतिशत रहेको चिकित्सकले तयार पारेको तथ्यांकमा उल्लेख छ । बलात्कार र यौनजन्य हिंसाकै कारण ६ दशमलब ३३ प्रतिशत महिलाको पाठेघर तत्काल पाल्नुपर्ने देखिएको छ । यस्तै, तत्काल उपचार गर्नुपर्ने ७० दशमलब ८ प्रतिशत महिला रहेका छन् भने मानसिक रोगकै कारण महिनावारीमा घट्वढ हुने ८५ प्रतिशत महिलाहरु छन् । मानसिक समस्याले ८५ प्रतिशत महिलाहरुपीडित छन् भने ५० प्रतिशत महिलाहरुले मानसिक सम्बन्धि औषधी सेवन गरिरहेको संयोजक देवी खड्का बताउँछिन् । ‘हामीले एक महिनामा देशको विभिन्न भागमा गरेर तीन वटा स्वास्थ्य शिविर सञ्चालन गरेका थियौं  । त्यसमा एउटा गाइनोलोजिस्ट डाक्टर अर्को मानसिक रोग यो दुई वटा पार्टमा हाम्रो सम्पर्कमा रहनुभएको पीडितहरुको सेवा दियौं । त्यसमा १ सय २७ जनाको ल्याब रिपोर्ट हेर्दा अवस्था डरलाग्दो रहेको फेला पार्यो ।’ उनले भनिन् ‘उनीहरुमध्ये पाठेघर फाल्नेहरु मात्रै ११ प्रतिशत छन् । पाठेघर तत्काल फाल्नुपर्ने ६ दशमलब ३३ प्रतिशत र पाठेघरका थप उपचार गर्नुपर्ने ७० दशमलव ८ प्रतिशत रहेछन् ।’

द्वन्द्वमा बलात्कारपीडित महिलाको राष्ट्रिय संगठनकी संयोजक देवी खड्का

पीडित महिलाको ल्याब रिपोर्ट अनुसार एक पटक मात्रै बलात्कृत भएका ५९ दशमलब ८४ प्रतिशत, सामूहिक तथा एकपटकमात्रै हिंसा भोगेका ६५ दशमलब ३५ प्रतिशत र सामूहिक तथा महिनौं बलात्कृत भएका ४० दशमलब १६ प्रतिशत महिला छन् । बलात्कृत भइसकेपछि औषधी खुवाएर वा क्रुर खालको यातनाले ३४ दशमलब ६५ प्रतिशत महिलाको गर्भ खसिसकेको छ । यातनाको क्रममा २९ प्रतिशत महिला अंगभग भएका छन् । यति सम्मकी, एकै जना पीडितको एक देखि तीन वटासम्म बच्चाहरु खेर गएको छ ।

द्वन्द्वको समयमा बलात्कारमा परेका महिलाहरुमध्ये ९८ प्रतिशतको ब्लड प्रेसर हाइ रहेको पाइएको छ । विगतको कुरालाई सम्झिदा उनीहरुको ब्लड प्रेसर लेभर २०० सम्म पुगेको चिकित्सककै अध्ययनले देखाएको छ । उनीहरु मानसिक र शारिरीक पीडा विक्षिप्त रहँदा पनि विगतको घटनाको पोल खोलिएर समाजमा बेइज्जत हुने डरले अस्पताल सम्म जान डराएको संयोजक खड्काको भनाई छ । ‘पीडितहरु वर्षौसम्म पनि पीडा सहेर बस्न बाध्य छन् । उनीहरु अस्पताल जान पनि डराइरहेका छन् । अस्पतालमा गयो भने डाक्टरले कारण पत्ता लगाउँछ र यसले समाजमा आफ्नो बेइज्यत हुने डर पनि उनीहरु उपचार गर्न पनि चाहेका छैनन् ।’ संयोजक खड्काले भनिन ।

स्वास्थ्य शिविरमा सहभागी द्वन्द्वमा बलात्कार पीडित महिला

मुलुकमा राजतन्त्र अन्त्य भई गणतन्त्र स्थापना भए पनि द्वन्द्वका बेला राज्य र माओवादी दुवैतर्फबाट भएका चरम मानवअधिकार उल्लंघनका घटनालाई सम्बोधन गर्न सरकार नै पछाडी हटेको छ । द्वन्द्वपीडित महिलाहरु अहिले पनि गासबासको खोजीमा बसिरहेका छन् । उनी भन्छिन्– ‘तत्काललाई उहाँहरुलाई चाहिने भने उपचार नै हो । सुरक्षित बाच्न पाउनु, स्वास्थ्य उपचार र सामाजिक सुरक्षा नै अहिलेको लागि महत्वपूर्ण हो ।’

संक्रमणकालीन न्याय सम्बन्धी विधेयकमा राष्ट्रिय सहमति र सिङ्गो राज्यले जिम्मेवारीपूर्वक नसोच्दासम्म यो समस्या हल नहुने भन्दै टिआरसी ऐनलाई टुंगोमा पुर्याउन ढिला गर्न नहुने उनको माग छ । ‘हामीले टिआरसी ऐनलाई ढिला गर्नुहुँदैन् । ढिला गर्दा केही साथीहरु छिटो उपचार नपाउने हो भने उहाँहरुलाई बचाउन गाह्रो हुन्छ । अब बितिसकेपछिको जिम्मा कसले लिने अर्को असाध्यै गम्भीर विषय हो ।’ उनले भनिन् – ‘त्यसैले राष्ट्रिय सहमति र सिङ्गो राज्यले जिम्मेवारीपूर्वक नसोच्दासम्म यो समस्या हल हुँदैन् । एउटा राष्ट्रिय सहमतिको आवश्यक छ । यो कसैलाई आरोप लगाउने कमजोर पार्ने भन्नुभन्दा पनि राष्ट्रको समस्या हो ।’

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com