अफगानिस्तानमा दुर्घटनाग्रस्त एयर एम्बुलेन्स फेला, सवारमध्ये ४ जना बाच्न सफल
प्रकाशित मिति : माघ ७, २०८० आईतबार
अफगानिस्तानमा दुर्घटनाग्रस्त मस्को जाँदै गरेको एयर एम्बुलेन्स पत्ता लागेको छ । यो विमान बदख्सान प्रान्तको कुफ अब जिल्लामा फेला परेको हो । समाचार एजेन्सी पीटीआईका अनुसार दुर्घटनामा चार जना बाँच्न सफल भएको र दुईजनाको बारेमा जानकारी सङ्कलन भइरहेको समाचारमा जनाइएको छ ।
मोरक्कन-रेजिष्टर्ड डसल्ट फाल्कन (DF-10) विमान एयर एम्बुलेन्सको रूपमा सञ्चालन भइरहेको थियो र थाइल्याण्डबाट मस्को जाँदै थियो।
जहाजमा चालक दलका सदस्यसहित ६ जना सवार रहेको बताइएको छ । अधिकारीका अनुसार यो विमान इन्धनका लागि भारतको गया एयरपोर्टमा रोकिएको थियो ।
सुरुमा यो भारतीय विमान भएको खबर आएपनि भारतको नागरिक उड्डयन विभागले त्यसको खण्डन गरेको थियो ।
गया विमानस्थलबाट इन्धन भरेपछि शनिबार साँझ ४ः०२ बजे विमान उडेको थियो । रुसी नागरिक उड्डयन अधिकारीहरूले विमान चालक दलका चार सदस्य र दुई यात्रुसहित बेपत्ता भएको बताएका थिए।