शनिबार दुर्घटनामा पर्नुभएका महासचिव पोखरेलको ट्रमा सेन्टरमा स्वास्थ्य जाँच, अवस्था सामान्य
प्रकाशित मिति : माघ २८, २०८० आईतबार
शनिबार दैलेखमा भएको सवारी दुर्घटनामा पर्नुभएका नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले आज काठमाडौँस्थित ट्रमा सेन्टरमा स्वास्थ्य जाँच गरिएको छ ।
सुर्खेतबाट दैलेख कार्यक्रममा सहभागी हुन जाने क्रममा उहाँ सवार गाडी सडकमा पल्टिँदा उहाँ सामान्य घाइते हुनुभएको एमाले केन्द्रीय कार्यालय सचिव डा भीष्म अधिकारीले जानकारी दिनुभयो । “उहाँ आज ट्रमा सेन्टरमा गइ उहाँको स्वास्थ्य जाँच गर्दा सामान्य चोटपटक मात्रै देखिएको छ”, उहाँले भन्नुभयो, “उहाँको तिघ्रा र हातमा समान्य चोट लागेको छ । भिडियो एक्सरे गरेर हेर्दा कुनै त्यस्ता खतरा छैन ।”
महासचिव पोखरेलले आजै सुर्खेतबाट काठमाडौँ आउनु भएको हो । जिल्ला अधिवेशन उद्घाटन गर्न दैलेख जान लाग्दा दैलेखको डुङेश्वर गाउँपालिका–१ चुप्रा नजिकै उहाँ सवार गाडी सडकमा पल्टेको थियो । गाडीमा एमाले महासचिव पोखरेलसहित केन्द्रीय सदस्य दीपा शर्मा कर्णाली प्रदेश कमिटी सचिव धु्रव शाही पनि हुनुहुन्थ्यो ।
गाडीमा रहनुभएका कर्णाली प्रदेशका उपसचिव पद्मा खड्काको हातमा चोट लागेको एमालेका केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिनुभयो ।