वसन्त ऋतु सुरु हुनैलाग्दा ठमेलमा पर्यटकको चहलपहल


प्रकाशित मिति : फाल्गुन १९, २०८० शनिबार

पर्यटकीय याम सुरु हुनैलागेको बेलामा सङ्घीय राजधानी काठमाडौँको मुख्य पर्यटकीय केन्द्र ठमेलमा पर्यटकको चहलपहल सुरु भएको छ ।

पदयात्रा र पर्वतारोहणका लागि उपयुक्त याम वसन्त ऋतु सुरु भएसँगै ठमेलका गल्ली, चोक तथा पसलमा बाह्य पर्यटकको चहलपहल देखिन थालेको हो । नेपालमा मार्च, अप्रिल र मे महिनालाई पर्यटकीय यामका रुपमा लिने गरिन्छ ।

वसन्त ऋतुको सुरुआतसँगै अनुपम प्राकृतिक विविधताले भरिपूर्ण नेपालको सौन्दर्यको अवलोकनका लागि विश्वका विभिन्न मुलुकबाट पर्यटक आउन थालेका हुन् । सन् २०२० मा विश्वका विभिन्न मुलुकसहित नेपालमा सुरु भएको कोरोना महामारीबाट थलिएको नेपालको पर्यटन क्षेत्रले यो याममा थोरै भए पनि गति लिने अपेक्षा व्यवसायीले गरेका छन् ।

ठमेलको चाक्सिबारीमा अन्तर्राष्ट्रियस्तरको आयुर्वेद चिकित्सामार्फत पर्यटकलाई उपचार गर्दै आउनुभएका स्पा सङ्घ नेपालका सचिव एवं जेन स्पाका सञ्चालक रामदेव महतो पछिल्लो समय नेपालको पर्यटन क्षेत्रले सकारात्मक मोड लिएको बताउनुहुन्छ । “अन्य समयमा दैनिक पाँचरसात जना स्पाका लागि आउनुहुन्थ्यो, पछिल्लो केही दिनदेखि २० देखि २५ जनासम्म आउने गर्नुभएको छ, यो नेपाली पर्यटन व्यवसायीको लागि खुसीको कुरा हो”, उहाँ भन्नुहुन्छ ।

क्यासिनोसहित काठमाडौँको ठमेलमा सञ्चालित पाँचतारे द मल्ल होटलका फुड एण्ड बेभरेज इञ्चार्ज राम पुडासैनी पछिल्लो समय होटलमा बाह्य पर्यटकको सङ्ख्या वृद्धि भएको बताउनुहुन्छ । “पर्यटक याम सुरु भएर होला, मार्च महिनामा ६० प्रतिशतभन्दा बढी होटलका कोठा बुकिङ भएका छन्”, उहाँ भन्नुहुन्छ ।

ठमेलमा डेढ दशकदेखि ह्याण्डिक्राप्टको व्यवसाय गर्दै आउनुभएकी नेपाल ह्याण्डिक्राप्ट कलेक्सनकी सञ्चालक मीनाकुमारी बाँस्तोला पर्यटकीय याम सुरु भएसँगै उलन, पश्मिना, फेल्टलगायतका सामग्रीको व्यापार बढ्ने विश्वास व्यक्त गर्नुहुन्छ । “कोरोना अगाडिजस्तो व्यापार छैन, पर्यटकको चहलपहलले आशा भने जागेको छ, सायद गत वर्षभन्दा यस वर्ष व्यापार पक्कै राम्रो हुन्छ”, उहाँ भन्नुहुन्छ ।

ठमेलमा दरबार हेरिटेज होटल सञ्चालन गर्दै आउनुभएका दिनेश ढकाल फ्रेबुअरीदेखि होटलमा पर्यटकको सङ्ख्या बढेको बताउनुहुन्छ । “फेबु्रअरीमा हाम्रो होटलमा समग्रमा भन्दा ७० प्रतिशत हाराहारीमा होटलका कोठा भरिएका थिए, मार्चमा पनि ८० प्रतिशत भरिने आश हामीले लिएका छौँ”, ढकाल भन्नुहुन्छ ।

ठमेल पर्यटन विकास परिषद्का उपाध्यक्ष विमल धमला पछिल्लो समय ठमेलमा बाह्य पर्यटकको चहलपहल बढेको बताउनुहुन्छ । “पर्यटकीय याम सुरु भएर पनि होला, ठमेलमा यतिबेला पर्यटकको चहलपहल बाक्लोरुपमा देख्न सकिन्छ”, उहाँ भन्नुहुन्छ । ठमेल पर्यटन विकास परिषद्का अनुसार ठमेलभित्र दुईहजारभन्दा बढी व्यवसायी आबद्ध छन् ।

ठमेलमा पर्यटकको चहलपहल भए पनि ढल र बिजुलीका तार बिच्छाउनका लागि सडक खन्दा पर्यटकलाई हिँडडुल गर्न  समस्या भएको छ । ठमेल काठमाडौँ महानगरपालिका–१६, १७, २६ र २७ वडामा पर्छ । ठमेलको अधिकाशं क्षेत्र भने २६ नं वडामा पर्छ ।

काठमाडौँ महानगरपालिका–२६ का वडाध्यक्ष ख्यामराज तिवारी बाटोमा ढल हाल्दा बाटो बिग्रिएको बताउनुहुन्छ । एक हप्ताभित्र ठमेलमा बिग्रिएका सडक कालोपत्र गर्ने तयारी महानगरपालिकाले गरिरहेको उहाँको भनाइ छ । काठमाडौँभित्र भित्रिने ८० प्रतिशतभन्दा बढी पर्यटक ठमेल घुम्नका लागि आउने गरेका छन् । ठमेललाई सफा र सुन्दर बनाउनका लागि महानगरपालिका लागिरहेको वडाध्यक्ष तिवारी बताउनुहुन्छ ।

वसन्त ऋतु साहसिक पर्यटनका लागि उपयुक्त समय हो । यो याममा हिमाल र पहाडी डाँडापाखा साथै नदीमा जलयात्राका लागि पर्यटकले रुचाउने गर्दछन् । यस्तै, पर्वतारोहणका लागि पनि नेपाल उपयुक्त मुलुक हो । सर्वोच्च शिखर सगरमाथा, अन्नपूर्ण, मनास्लु, कञ्चनजङ्गालगायतका आठ हजार मिटरभन्दा माथिका हिमशृङ्खलासमेत नेपालमा रहेका छन् । अधिकांश विदेशीले आरोहणका लागि सगरमाथा नै जान खोज्ने गरेका छन् ।

नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार नेपालमा गत वर्षको तुलनामा यसवर्ष फेबु्रअरी महिनामा बाह्य पर्यटक आउने सङ्ख्या उल्लेख्य मात्रामा वृद्धि भएको छ । बोर्डका सूचना अधिकारी एवं निर्देशक मणिराज लामिछाने यस वर्षको फेबु्रअरीमा मात्र नेपालमा विभिन्न मुलुकबाट ९७ हजार ४२६ पर्यटक भित्रिएका छन् ।

गत वर्ष सन् २०२३ को फेब्रुअरीमा ७३ हजार दुई ५५ पर्यटक नेपाल भित्रिएका थिए । यो वर्ष फेब्रुअरीमा सबैभन्दा बढी भारतबाट पर्यटक नेपाल भ्रमणमा आएका छन् । बोर्डका अनुसार फेबु्रअरीमा २५ हजार पाँच सय ७८ पर्यटक नेपाल भित्रिएका छन् ।

त्यस्तै, चीनबाट नौ हजार एक सय ८०, अमेरिकाबाट नौ हजार ८९, थाइल्याण्डबाट चार हजार सात सय ९९, बेलायतबाट चार हजार पाँच सय ७१, बङ्गलादेशबाट चार हजार ९९, श्रीलङ्काबाट तीन हजार ६ सय ८४ पर्यटक नेपाल आएका छन् । नेपाल भ्रमणमा आउने विदेशी पर्यटकको औसत बसाई १३ दिनसम्म हुने गरेको छ भने दैनिक खर्च ४५ डलरसम्म हुने गरेको पाइन्छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com