दुध पिउनु स्वास्थ्यका लागि कत्तिको फाइदाजनक? कस्ले पिउने? कस्ले नपिउने?
प्रकाशित मिति : चैत्र ४, २०८० आईतबार
के दूध यस्तो चीज हो जुन सबैले दिनहुँ पिउन सक्छन्? दूधमा कस्ता पोषक तत्व पाइन्छ? दैनिक कति दुध पिउनु स्वास्थ्यका लागि राम्रो हो? दूध कसले पिउनु हुँदैन? यी सबै प्रश्नको उत्तर खोज्ने प्रयास यस रिपोर्टमा गरिएको छ ।
बालस्वास्थ्य तथा पोषण विज्ञ अरुण कुमार दूधमा क्याल्सियम र प्रोटिनको मात्रा धेरै हुने भए पनि मांंसाहारी खाना पर्याप्त मात्रामा खाएमा दूध पिउनु अनिवार्य नहुने बताउँछन् । डा. अरुण कुमार भन्छन्- ‘नियोलिथिक कालमा मानिसहरूमा धेरै प्रकारका पोषणको कमी थियो। त्यसैले पनि मानिसहरूले दूध दिने जनावर पाल्न थालेका हुन सक्छन्। त्यसबेला पोषणका लागि कृषिजन्य वस्तुमा भर पर्न नसक्दा दूध पिउने चलन बढेको हो । मानव समाजमा विगत १० हजार वर्षदेखि दूध पिउने बानी प्रचलनमा छ । अहिले हाम्रो खानपानमा धेरै सुधार भएको छ । यदि हामीले खानेकुरा ठीकसँग खायौं भने हामीलाई दूध चाहिँदैन।’
अधिकांश मानिस गाईको दूध पिउने गर्छन् । त्यसपछि भैंसीको दूध प्रयोग गरिन्छ। १०० ग्राम गाईको दूधमा ६७ क्यालोरी हुन्छ। तर भैंसीको दुधको समान मात्रामा ११७ क्यालोरी हुन्छ। यही कारणले भैंसीको दूध लगातार पिउदा तौल बढ्ने हुन्छ ।
अरुण कुमारका अनुसार १०० ग्राम गाईको दूधमा १२० मिलिग्राम क्याल्सियम हुन्छ भने १०० ग्राम भैंसीको दूधमा २१० ग्राम क्याल्सियम हुन्छ । जहाँसम्म प्रोटिनको सवाल छ, १०० ग्राम गाईको दूधमा ३.२ ग्राम प्रोटिन हुन्छ भने १०० ग्राम भैंसीको दूधमा ४.३ ग्राम प्रोटिन हुन्छ, तर यो क्यासिन प्रोटिन हो । यसको मतलब यो प्रोटिन पच्दैन। त्यसैले तपाईको आन्द्रामा ल्याक्टेज इन्जाइम छैन भने शारीरिक समस्या हुन सक्छ। त्यस्तै १०० ग्राम गाईको दूधमा ४.१ ग्राम र भैंसीको दूधमा ६.५ ग्राम फ्याट हुन्छ ।
यसअघि आमाको दूध पिउने बालबालिकामा मात्रै ल्याक्टेज इन्जाइम हुने भए पनि दैनिक दुध पिउने बानी बसेपछि मानव शरीरमा परिवर्तन आएको डा. अरुणकुमार बताउँछन् । उनी भन्छन् – ‘दूध पाचनसँग सम्बन्धित छ । कसैकसैले सामान्य रूपमा एक लिटर दूध अपच नभई पिउन सक्छन्, तर कसैलाई आधा गिलास दूध पिउदा नै ग्यास, पेट दुख्ने र पखाला लाग्न सक्छ। यस्ता व्यक्तिले दूध पिउनु हुँदैन ।’
उनी भन्छन् – ‘दूधमा धेरै पोषक तत्व हुने भएकाले बच्चालाई दूध खुवाउनु पर्छ तर यसले तौल बढाउँछ। त्यसैले बच्चालाई दूध मात्रै खुवाउनु हुँदैन। कतिपय बालबालिकाले दूधकै कारण अन्य खानेकुरा नखाने हुन्छन्।’
केही वर्ष पहिले दुध क्रिकेटर महेन्द्र धोनीको मनपर्ने पेय हुन्थ्यो। उनी हरेक दिन चार लिटर दूध पिउने गरेको कुरा इन्टरनेटमा भाइरल भयो । धोनीले यसबारे प्रष्ट पार्दै हरेक दिन एक लिटर दूध पिउने गरेको बताएका थिए ।
पोषणविद् धरिनी कृष्णन भन्छिन्- ‘सबैले दिनहुँ एक लिटर दूध पनि पिउन सक्दैनन्। हुनसक्छ धोनीमा एक लिटर दूध पचाउन सक्ने क्षमता छ किनभने उनी धेरै व्यायाम गर्छन्, तर स्वस्थ व्यक्तिले ४०० मिलिलिटर दूध वा ४०० ग्राम दही लिन सक्छ।’
होमियोप्याथ डा. श्रवण कुमार भन्छन् – ‘हरेक दिन बिहान २०० मिलिलिटर र बेलुका २०० मिलिलिटर दूध खानु राम्रो हुन्छ। साँझमा चिनी मिसाएर दूध पिउनु हुँदैन । किनकि दूधमा पहिले नै पर्याप्त क्यालोरी हुन्छ।’
उनी भन्छन् – ‘यदि कसैलाई अल्सर वा ल्याक्टोज एलर्जी छ भने उसले दूध पिउनबाट जोगिनुपर्छ। यदि कसैलाई अपचको समस्या छ भने उसले दूध पिउनु हुँदैन । यदि तपाईं क्याल्सियमको लागि दूधको सट्टा अन्य विकल्प प्रयोग गर्न चाहनुहुन्छ र मांसाहारी हुनुहुन्छ भने तपाईंले हड्डीको सूप पिउन सक्नुहुन्छ।अण्डाको सेतो भागले पनि क्याल्सियम दिन्छ। घिउ, मख्खन, बदाम, हरियो तरकारीले पनि क्याल्सियम दिन्छ।’
के स्थानीय गाईको एटु प्रकारको दुघ प्रोटिनले भरिपूर्ण हुने र विदेशी जातको गाईको एवान दुधले धेरै रोग निम्त्याउँछ ? अरुण कुमार भन्छन् – ‘विश्वभर यस विषयमा धेरै अनुसन्धान भइसकेको छ । दुबै प्रकारको दुधको प्रोटिनको संरचनामा केही भिन्नता छ, तर ए वान दूध मानव शरीरको लागि हानिकारक छ भन्ने कुनै बलियो प्रमाण छैन। भैंसीको दूध एटु प्रकारको हो। विदेशी जातको जर्सी गाईले पनि एटु प्रकारको दूध दिन्छ। ए१ र ए२ मा अनुसन्धान गर्न आवश्यक छैन । राम्रो र सफा ठाउँको दूध पिउनु पर्छ ।’