न्युयोर्क सिटीमा बसोबास गर्ने आधा परिवार सहयोगविना आफ्नै आम्दानीले जिविकोपार्जन गर्न नसक्ने
प्रकाशित मिति : चैत्र ६, २०८० मंगलबार
न्युयोर्क सिटीमा बसोबास गर्ने आधा परिवार सहयोगविना आफ्नै आम्दानीले जिविकोपार्जन गर्न नसक्ने एक प्रतिवेदनले देखाएको छ । मंगलबार जारी गरिएको प्रतिवेदनमा न्युयोर्कसिटीका आधा परिवारहरुसँग सरकारी, अन्य परिवार वा समुदायको सहायता बिना बाच्नको लागि पर्याप्त आम्दानी नभएको देखाएको छ ।
बालबालिका हेरचाहका लागि लाग्ने खर्च मध्यम वर्गका न्युयोर्कवासीहरुका लागि समस्याग्रस्त रहेको छ । उदाहरणका लागि एउटी आमाले बच्चाको डेकेयरको लागि लगभग प्रतिमहिना २७०० डलर तिरेको बताएकी छिन् । जसमा भाडा र बाँकी खर्च जोड्ने हो भने जिविकोपार्जनका लागि लाग्ने खर्च आम्दानीको तुलनामा उच्च हुने गरेको छ ।
२०२१ को प्रतिवेदनका अनुसार जिविकोपार्जनका लागि लागत १३१ प्रतिशतले बढेको छ भने औसत अम्दानी ७२ प्रतिशतले मात्र बढेको छ । जसमा ३६ प्रतिशत घरहरुमा आधारभूत आवश्यकताको लागि पर्याप्त आम्दानीको अभाव थियो ।
तर पछिल्लो खोजहरुका अनुसार ५० प्रतिशत काम गर्ने उमेरका न्युयोर्कवासीहरु अझैपनि लागत कभरअप गर्न संघर्ष गरिरहेको देखिएको छ । र लगभग ३ मिलियन न्युयोर्कवासीहरु स्वस्थ खानाका किन्नका लागि संघर्ष गर्छन् ।
मंगलबार सार्वजनिक गरिएको रिपोर्टमा नीतिगत सुझाबहरु समेत दिइएको छ । जसमा मानव सेवाकर्मीहरुका लागि ज्याला वृद्दि गर्न जस्ट पे अभियानलाई समर्थन गर्नुपर्ने, सस्तो आवासका लागि सामुदायिक भूमि ऐनलाई समर्थन गर्नुपर्ने, सार्वजनिक आवास र बाल हेरचाह अनुदान कार्यक्रमहरु सुधार गर्नुपर्ने , भविष्यको लागत घटाउन रोकथामात्मक स्वास्थ्य सेवाहरुमा पहुँच सुधार गर्नुपर्ने लगायत छन् ।
प्रतिवेदनका अनुसार जीवनको वास्तविक लागत लोअर म्यानहटनमा प्रति महिना ७९५६ डलर रहेको छ । सबै भन्दा सस्तो ब्रोंक्समा छ । तर त्यहाँपनि एक वयस्क र दुई स्कुल जाने उमेरका बच्चाहरुलाई बाँच्नको लागि अझै पनि प्रति महिना ५००० डलर चाहिन्छ ।