सुन तस्करी प्रकरणमा मुछिएका महराको बयान सकियो , सिआईबीले म्याद थपका लागि शुक्रबार अदालत लैजाने


प्रकाशित मिति : चैत्र ८, २०८० बिहीबार

सुन तस्करी प्रकरणको अनुसन्धानका क्रममा प्रहरी नियन्त्रणमा रहनुभएका नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्वसभामुख कृष्णबहादुर महरासँग बयान लिने काम सकिएको छ । बुधबारदेखि सुरु भएको बयान लिने कार्य बिहिबार सम्पन्न भएको जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख, सहन्यायाधिवक्ता सन्देश श्रेष्ठले जानकारी दिनुभयो ।

बयान सकिएसँगै उहाँलाई पुनःनर्भिक अस्पतालमै भर्ना गरिएको प्रहरीको केन्दीय अनुसन्धान ब्यूरो सिआइबीले जानकारी दिएको छ । कमजोर स्वास्थ्य अवस्थाका कारण उहाँलाई अदालतले नै अस्पतालमा राख्न भनेको थियो । यही चैत ५ गते कपिलवस्तुको पकडीबाट पक्राउ पर्नुभएका उहाँमाथि चार दिनको म्याद लिएर सिआइबीले अनुसन्धान गरिरहेको छ । आज थपिएको म्याद सकिने अन्तिम दिन हो । उहाँमाथि भोलि थप आवश्यक प्रक्रिया अघि बढाइने सिआइबीका प्रवक्ता प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिनुभयो ।

गत साउन २ गते ‘ब्रेक सु’ मा लुकाएर ल्याइएको ६१ किलो सुन र २०७९ पुसमा विद्युतीय चुरोट ९भेप० मा ल्याइएको नौ किलो सुन तस्करीमा सङ्लग्न चिनियाँ नागरिकसँग महराको नाम जोडिएकाले अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको हो । अघिल्लो पटक सिआइबीले उहाँमाथि बयान कागज गराएर छाडेको थियो । सोही प्रकरणमा महराका छोरा राहुल हाल पुर्पक्षका लागि थुनामा छन् । यसैबीच बाँसबारीको जग्गा हिनामिना प्रकरणमा आजै सिआइबीले सांसद बिनोद चौधरीसंग जिल्ला सरकारी वकीलको रोहबरमा बयान लिइएको छ ।

बयान दिएपछि उहाँले सञ्चारकर्मीसँग कुरा गर्दै यो प्रक्रिया स्टन्टमात्रै भएको जिकिर गर्नुभएको छ । पिपिपिको उत्कृष्ट मोडललाई राजनीतिकरण गरिएको भन्दै उहाँले १० रोपनी जग्गामा कुदृष्टि राख्छ भन्ने विचार नै विकृत मानसिकताको सोच भएको बताउनुभयो । उहाँमाथि अनुसन्धान भइरहेको विषयमा सिआइबीले हिजोमात्रै सभामुख देवराज घिमिरेलाई संसद् सचिवायलमार्फत जानकारी गराएको थियो ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com