युक्रेनी राष्ट्रपति जेलेन्स्कीले भन्छन्- ‘पुटिन मस्को आक्रमणको दोष युक्रेनलाई दिन चाहन्छन्’
प्रकाशित मिति : चैत्र ११, २०८० आईतबार
युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मस्कोको कन्सर्ट हलमा भएको आक्रमणको लागि आफ्नो देशलाई दोष दिन चाहेको बताएका छन् ।
शुक्रबार मस्कोको कन्सर्ट हलमा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा १३३ जनाको मृत्यु भएको थियो । रुसी राष्ट्रपति पुटिनले आक्रमणमा संलग्न चार जनालाई पक्राउ गरिएको बताएका छन् ।
जेलेन्स्कीले भने, “हिजो (शुक्रबार) मस्कोमा के भयो त्यो स्पष्ट छ। तर पुटिन र केही अन्य नराम्रा स्वभावका मानिसहरूले आक्रमणको दोष अरू कसैमाथि लगाउन खोजिरहेका छन्।”
वास्तवमा पुटिनले आक्रमणपछि आक्रमणकारी युक्रेनतर्फ दौडिरहेको बताएका थिए ।
जेलेन्स्कीले भने – ‘रूसले सधैं पुरानो चाल खेल्छ, यसले युक्रेनलाई कुनै पनि कुराको लागि दोष दिन्छ।’
उनले भने, ‘यो आक्रमणपछि रुसी जनतालाई सान्त्वना दिनुको सट्टा पुटिन दिनभर मौन बसे । यो दोष युक्रेनलाई कसरी लगाउने भनेर सोचिरहे।”