ज्येष्ठ नागरिक दिवासेवा केन्द्रः पीडा भुलाउने चौतारी
प्रकाशित मिति : चैत्र २०, २०८० मंगलबार
देउखुरी (दाङ): चाउरी परेका अनुहार, कपाल पूरै फुलेर सेताम्मे, हिँड्न गाह्रो हुँदा लौरोको सहारा, जीवनको उत्तराद्र्धतर्फ उन्मुख यहाँका ज्येष्ठ नागरिकको अहिलेको दैनिकी हो– बिहानको खानापछि दिवासेवा केन्द्रमा पुग्ने, दुःखसुखका कुरा गर्ने तथा रमाउने ।
उहाँहरु त्यहाँ पुगेपछि एकैछिन मनका बह पोख्ने गर्नुहुन्छ र सुरु सुन्छ मनोरञ्जनात्मक क्रियाकलाप । बजाउन जान्नेले मादल, खैजडी आदि बजाउने, केहीले गाउने र अरू बाजाका तालमा नाच्ने र गाउने । यो सुरु भएपछि आफ्ना सबै पीडा भुलिन्छ भन्नुहुन्छ उहाँ । यसरी आफ्ना पीडा भुलाउने चौतारो बनेको छ, नागरिक दिवासेवा केन्द्र, भन्नुहुन्छ यहाँ पुग्ने ज्येष्ठ नागरिकहरू ।
दाङमा ज्येष्ठ नागरिकका लागि दिवासेवा केन्द्र सञ्चालन भएपछि उहाँहरुको दैनिकी पनि फेरिएको छ । घोराही उपमहानगरपालिका–६ जजरागाउँका पदमप्रसाद अधिकारी ८८ वर्षका हुनुभयो । उहाँ बिहान ११ बजे सोही वडाको गुरुवागाउँमा अवस्थित ज्येष्ठ नागरिक दिवासेवा केन्द्रमा दैनिक आउने गर्नुहुन्छ । आफ्ना साथीभाइ, दाँैतरीसँगको भेटघाट र भलाकुसारीले मन भुलाउने गर्नुहुन्छ र बेलुका घर फर्किनुहुन्छ ।
दिवासेवा केन्द्रमा आफ्नै उमेरका आफन्त, साथीसँग भलाकुसारी, भजनकीर्तन गर्ने, नाच्ने गाउने गर्दा उहाँलाई आनन्द लाग्ने गरेको बताउनुहुन्छ । “रामायण, महाभारतका श्लोेक सुन्दा मनमा आनन्द आउँछ,” उहाँले भन्नुभयो, “कोही तालीले साथ दिन्छौँ कोही गलाले साथ दिन्छौँ, अनि नाच्न जान्ने साथीहरु पनि नाचेरै रमाउनुहुन्छ । यो त हाम्रा लागि समय बिताउने ठाउँ मात्र होइन कि बिसाउने चौतारी पनि भएको छ । केन्द्रमा आउन थालेपछि समय बितेको थाहै नहुँदो रहेछ ।”
घोराही–६ गुरुवागाउँका गोकर्ण अधिकारी उमेरले ६८ वसन्त पार गर्नुभयो । उहाँ शिक्षक सेवाबाट निवृत्त हुनुहुन्छ । पहिले त दैनिक विद्यालय जाँदा समय बितेको थाहा हुँदैनथ्यो उहाँलाई । अवकाशपछि घरमा बसेर दिन बिताउन उहाँलाई पट्यार लागेको थियो । विसं २०७८ मा घर नजिकै दिवासेवा केन्द्र स्थापना भएपछि अहिले भने उहाँको दिनचर्या फेरिएको छ । आफ्ना कुरा सुनाउने अनि साथीका कुरा सुन्ने, भजनकीर्तन तथा नाचगान गरेर दिन बिताउने गर्न सजिलो भएको छ । “आफूसँगैका साथीसँग भेट हुन्छ । घरमै बस्दा अत्याश लाग्थ्यो यहाँ साथीभाइ र आफन्तीसँग भेट हुँदा छुट्टै आनन्द आउँछ”, उहाँले भन्नुभयो ।
आफ्ना कुरा सुनाउने साथीका कुरा सुन्ने र नाचगान भजनकीर्तन गरेर दिन बिताउने गर्न सजिलो भएको उहाँको भनाइ छ । “आफूसँगैका साथीसँग भेट हुन्छ । साथीभाइ र आफन्तसँग पनि भेट हुन पाउँदा पहिलेको समयको याद आउछ”, उहाँले भन्नुभयो, “साँच्चै भन्ने हो भने दिवासेवा केन्द्र दुःख बिसाउने साझा चौतारी नै बनेको छ ।”
सेवा केन्द्र आउन थालेपछि ऊर्जा थपिएको उहाँको अनुभव छ । घरमै बसिरहँदा शरीर कुजिएजस्तो भएको र यहाँ आउन थालेपछि हलुङ्गो भएको उहाँले सुनाउनुभयो । घोराही उपमहानगरपालिका वडा नं ६ ले भजन गाउँदा बजाउने सामग्री सहयोग गरेको छ । दैनिक १५ देखि १८ जना ज्येष्ठ नागरिक यहाँ आउने गर्नुहुन्छ । यहाँ आउन कसैलाई पनि रोकतोक छैन । जम्मा हुनासाथ उहाँहरुले आरती गर्नुहुन्छ र त्यसपछि भजन गाउने, गफ गर्ने, नाचगान गर्ने गरेको अधिकारीले बताउनुभयो ।
साठी वर्ष नाघेका कुनै पनि ज्येष्ठ नागरिक सेवा केन्द्रमा आउन र दिनभर मन भुलाउन सक्नुहुन्छ भन्नुहुन्छ वडा नं ६ का वडाअध्यक्ष विष्णुराम आचार्य । गत वर्षदेखि सञ्चालनमा आएको दिवासेवा केन्द्रमा भजनकीर्तनका लागि मादल, खैजडी, मुजुरा र हार्मोनियम जस्ता वाद्यवादनका सामग्री वडा कार्यालयले उपलब्ध गराएको छ । ती सामग्री प्रयोग गरेर ज्येष्ठ नागरिक दैनिक भजनकीर्तन नाचगान गर्नुहुन्छ । आचार्य भन्नुहुन्छ, “केन्द्रमा विभिन्न दाताबाट विभिन्न किसिमका धार्मिक तथा आध्यात्मिक ज्ञानयुक्त पुस्तक राख्ने सामग्री पनि व्यवस्था गरिएको छ ।
यस केन्द्रमा धार्मिक ग्रन्थको पाठ र भजन कार्यक्रम समय तालिकाअनुसार गरिन्छ । बिहान ११ देखि बेलुकी ३ बजेसम्म केन्द्रमा ज्येष्ठ नागरिकले समय बिताउनुहुन्छ । घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले नगरभित्रका ज्येष्ठ नागरिक आफ्ना दौँतरीसँग भलाकुसारी गरेर रमाइलो तरिकाले समय बिताउँदा उहाँहरुको जीवनमा परिवर्तन भएको देख्दा खुसी लागेको बताउनुभयो ।
घोराहीमा सञ्चालन भएको दिवासेवा केन्द्र पछिल्लो समय ज्येष्ठ नागरिकको दिन काट्ने प्रभावकारी माध्यम बन्दै गएको छ । आफ्ना अनुभव साटासाट गर्ने, नाचगान गर्ने र विभिन्न विषयमा छलफल गर्ने भएपछि शारीरिक रुपमा काम गर्न नसक्ने र पीडा भुलाउन उक्त केन्द्र सबै वृद्धवृद्धाको रोजाइको ठाउँ बनेको नगरप्रमुख चौधरीले बताउनुभयो ।
ज्येष्ठ नागरिक समाजका महिला बालबालिका तथा सामाजिक विकास शाखाका प्रमुख मोतिकुमारी विश्वकर्माले घोराही उपमहानगरपालिकाका ११ वटा वडामा ज्येष्ठ नागरिक दिवासेवा केन्द्र सञ्चालनमा आएको बताउनुभयो । नगरले उहाँँहरुको नियमित स्वास्थ्य परीक्षण पनि गर्ने गर्दछ । अहिले मानिसहरु व्यस्त बन्दै गएका छन् । एकातर्फ घरमा युवा पुस्ता नबस्ने गरेकाले गाउँघरका घरहरु वृद्धाश्रमजस्ता भएका छन् । अर्कातर्फ नेपालमै रहेका नयाँ पुस्ता पनि आ–आफ्ना काममा व्यस्त छन्, या सहर बजारतिर छन् । घरैमा भएका आफ्ना सन्तान पनि आफूसँग भन्दा सामाजिक सञ्जालमा बढी रमाउने गरेका कतिपय ज्येष्ठ नागरिकको गुनासो हुने गर्दछ ।
त्यसैले यसरी स्थापाना गरिएका नागरिक सेवा केन्द्रहरु नागरिकका दिन काट्ने र रमाउने माध्यम बन्ने गरेका छन् । यी केन्द्रहरु कतिपय ज्येष्ठ नागरिकको समय काट्ने, कतिका पीडा भुलाउने तथा कतिपयलाई मनोरञ्जन लिने स्थान पनि बन्न सफल भएका छन् । विभिन्न पेसा र व्यवसायमा रहेर निवृत्त भएका उहाँहरुका ज्ञान, अनुभव र सीपबाट समाजले पनि धेरै शिक्षा तथा सहयोग लिन सक्छ ।