न्युयोर्क सिटी आसपासमा बेलुका ६ बजे अर्को पराकम्प
प्रकाशित मिति : चैत्र २३, २०८० शुक्रबार
न्युयोर्क सिटी आसपासमा बेलुका ६ बजे अर्को पराकम्प आएको छ । यसबारे न्युयोर्क सिटीले अलर्ट जारी गरिसकेको छ । वासिन्दाहरूलाई घर भित्र बस्न र घाइते भएमा ९११ मा फोन गर्न सुझाव दिइएको छ ।
पराकम्प ४ म्याग्निच्युडको रहेको र न्युजर्सीको ग्लाडस्टोन आसपासमा केन्द्रबिन्दु रहेको युएस जिओलोजिकल सर्भेले जनाएको छ । क्षतिको कुनै विवरण आएको छैन ।
शुक्रबार विहान १० बजेर २३ मिनेटमा ४ दशमलव ८ रेक्टर स्केलको भूकम्पको धक्काले न्युयोर्क सिटीलाई हल्लाएको थियो । युएस जियोलोजिकल सर्भेका अनुशार उक्त भूकम्प न्युजर्सीको ह्वाइटहाउस स्टेशनबाट ७ किलोमिटर उत्तरपूर्वमा केन्द्रबिन्दु भएर गएको थियो ।
न्युयोर्क सिटीमा यस्तो भूकम्प दुर्लभ भएकाले स्थानीयबासिहरु त्रसित भएका छन् । न्युयोर्क सिटी निवासी नेपालीहरुले सन् २०१५ को नेपालको भूकम्प सम्झिएका छन् । भूकम्पको धक्का न्युयोर्क, न्युजर्सी र कनेक्टिकटसम्म अनुभव गरिएको थियो । न्यु जर्सीदेखि लङ आइल्याण्डसम्म भवनहरू हल्लिएका थिए ।
न्युयोर्क सिटीमा ४ दशमलव ७ रेक्टर स्केलको भूकम्पको धक्का महसुस भएपछि न्युयोर्क सिटीले एक आपतकालिन अलर्ट जारी गर्दै न्युयोर्कका बासिन्दाहरुलाई घरभित्र बस्न सुझाव दिएको थियो भने कोही घाइते भएमा ९११ मा फोन गर्न सुझाव दिएको थियो । न्युयोर्क सिटीले भूकम्प गएको झण्डै ४० मिनेटपछि ११ बजेर २ मिनेटमा सिटीका बासिन्दाहरुको फोनमा अलर्ट पठाएको हो । आपतकालिन अवस्थामा जवाफ दिनमा ढिलो गर्दै आएको आलोचना खेप्दै आएको न्युयोर्क सिटीले अलर्ट पठाउन गरेको ढिलाइको पनि आलोचना भएको छ ।
मुख्य भूकम्पको झण्डै १ घण्टापछि न्युजर्सीको बेडमिनिष्टर नजिक केन्द्रबिन्दु बनाएर पराकम्प गएको थियो । ११ बजेर २० मिनेटमा गएको यो पराकम्प जम्मा २ रेक्टर स्केलको भएकाले धेरैले अनुभव गरेनन् । तर न्युयोर्क सिटीले पराकम्प जानसक्ने अलर्ट पनि पराकम्प गएको झण्डै २५ मिनेटपछि पठाएको थियो । युएस जियोलोजिकल सर्भेले पनि कम्तीमा एउटा पराकम्प आउनसक्ने अनुमान गरेको थियो ।
न्युयोर्क सिटी क्षेत्रमा शुक्रबार गएको भूकम्प झण्डै १४० बर्षको इतिहासमा सबैभन्दा ठूलो हो । सन् १८८४ को अगस्त १० मा न्युयोर्क सिटी क्षेत्रलाई केन्द्रबिन्दु बनाएर ५ दशमलव २ रेक्टर स्केलको भूकम्प गएदेखि न्युयोर्क सिटी क्षेत्रमा त्यती ठूलो भूकम्प गएको थिएन ।
त्योभन्दा अगाडि सन् १७८३ मा न्युजर्सी केन्द्रबिन्दु भएर ४ दशमलव ९ रेक्टर स्केलको भूकम्प गएको थियो भने सन् १७३७ मा न्युयोर्क सिटी क्षेत्रलाई केन्द्रबिन्दु बनाएर ५ दशमलव २ रेक्टर स्केलको भूकम्प गएको थियो ।
न्युयोर्क सिटीमा पछिल्लो सबैभन्दा ठूलो भूकम्प सन् २००१ को अक्टोबर २७ मा न्युयोर्क सिटीको म्यानहटन केन्द्रबिन्दु बनाएर गएको थियो, जुन २ दशमलव ६ रेक्टर स्केलको थियो । सन् २००१ को जनवरी १७ मा न्युयोर्क सिटीको म्यानहटन केन्द्रबिन्दु बनाएर गएको भूकम्प २ दशमलव ४ रेक्टर स्केलको थियो ।