‘महिलाको सफलताका पछाडि परिवारका अरु महिला सदस्यको पनि हात हुन्छ’: सूर्य महर्जन
प्रकाशित मिति : बैशाख २८, २०८१ शुक्रबार
सूर्य महर्जन अमेरिकामा सफल महिला व्यवसायी हुनुहुन्छ । विवाह भइसकेपछि गृहिणीमात्रै बन्छु जस्तो लागेको थियो सूर्य महर्जनलाई । तर श्रीमान र विवाहपछि परिवारका सदस्यहरुको प्रेरणा र सहयोगबाट उहाँ सफल महिला व्यवसायीमा दरिन पुग्नुभएको छ । अमेकिरामा हिरा र सुनको व्यवसायमा चम्किनुभएकी सूर्यलाई विवाहपछि परिवारका महिला सदस्यहरुको पनि उत्तिकै सहयोग रह्यो । हाल न्युयोर्कको ज्याक्सनहाइटमा क्वीन्स डायमण्ड संचालन गरिरहनुभएकी सूर्य महर्जनसँग उहाँको सफलता, संघर्ष र प्रेरणाबारे खसोखासको न्युयोर्क फल्चा स्तम्भका लागि खसोखास सम्पादक दीपक परियारका दश प्रश्न ।
तपाइँको व्यवसायिक यात्राको सुरुवात कसरी भयो ?
म डायमण्ड ज्वलरीको व्यवसायमा लागेको विवाह पछि नै हो । विवाह अगाडि म अध्यापन क्षेत्रमा थिए । विवाह पछि मेरो जीवनमा उथलपुथल नै भयो । डायमण्ड ज्वलरी मेरो श्रीमान समीर महर्जनको पारिवारिक व्यवसाय हो । यो ससुराबुवादेखि नै सुरु भएको व्यवसाय हो । विवाह पछि मलाई मेरो सासु आमाले डायमण्ड ज्वलरीको क्षेत्रमा काम गर्न प्रेरित गर्नुभएको हो । यो व्यवसायमा आउनु अगाडी मलाई प्रशिक्षणको लागि भारतको बम्बई पठाईयो । बम्बईमा सिजी इन्टरनेशनलमा डायमण्ड ज्वलरीसँग सम्बन्धित कुराहरु सिके । त्यहाँ मेरो ५ वर्षको कोर्स भयो । ५ वर्ष मैले भारतमै बिताए । त्यही बेलामा मेरो जेठो छोरीको जन्म भयो । त्यसपछि म पुनः नेपाल फर्किए । नेपालमा हाम्रो फ्याक्ट्रीमा ९५ जनाको हारहारीमा कर्मचारीहरु हुनुहुन्छ । मैले नेपालकै फ्याक्ट्रीमा काम गर्न सुरु गरें । मैले उहाँलाई प्रशिक्षण दिने र भारतमा सिकेका कुरालाई कार्यान्वयनमा ल्याउने काम गरें । यसरी नै मेरो व्यवसायीक यात्राको सुरुवात भयो । अहिले अमेरिकामा आएर काम गरिरहेकी छु ।
नेपालबाट अमेरिका आउँदा साना बच्चाहरुको साथमा आउनुभयो । अमेरिकामा आउने बित्तिकै बच्चाहरुको स्याहार सुसार गर्दै न्युयोर्कमा व्यवसाय सुरु गर्दाका कठिनायीहरु कसरी सम्झनुहुन्छ ?
अमेरिका आएपछि मैले धेरै गाह्रो महशुस गरे । किनभने म अमेरिका आउँदा ठूलो छोरी ५ वर्षकी र सानी छोरी १४ महिनाकी थिइन् । कामको शिलशिलामा अमेरिका आएर एक महिना जति छोरीहरुलाई हेरेर घरमा बसें । कामको दौरानमा धेरै गाह्रो भएपछि श्रीमानसँग सल्लाह गरेर हाम्रो सानो छोरीलाई केही समयको लागि नेपाल छाडियो । ठूलो छोरीलाई मेरो एकदमै मिल्ने साथीले स्कुल छाड्ने, लिन जाने गर्नुभयो । त्यसरी नै मेरो अमेरिकामा पनि व्यवसायिक यात्रा सुरु भएको थियो । महिलाको लागि घरमा बच्चा हेरेर व्यवसाय हेर्ने धेरै कठिनाईको काम थियो । तर मैले यस्तो श्रीमान पाएँ कि उहाँले मलाई धेरै सपोर्ट गर्नुभयो । मलाई घरायशी काममा सीमित गर्नुभएन । यो तिमीले सिकेर आएको काम हो, तिमीले काम गर्नुपर्छ भनेर मलाई धेरै प्रोत्साहन गर्नुभयो । म शिक्षिकाबाट ज्वलरीको फिल्डमा आएको मान्छे, श्रीमानले नै मलाई हौसला दिनुभयो । नेपालबाट अमेरिका आएको मान्छे, अंग्रेजी त्यत्ति बोल्ने बानी पनि थिएन् । यो ठाउँमा आएर व्यवसाय गर्नु हाम्रो लागि सजिलो थिएन्, तर पनि गरियो । बुझ्ने श्रीमान पायौं भने छोरी मान्छेलाई व्यवसाय गर्न र अगाडि बढ्न धेरै सहज हुने रहेछ ।
व्यक्तिगत र व्यवसायिक जीवनलाई सन्तुलनमा राख्न के गर्नुपर्ने रहेछ ?
हाम्रो जीवनमा चाहिने मुख्य कुरा शिक्षा नै हो । दोस्रोमा आत्मविश्वास । शिक्षा भएर आत्मविश्वास भएन भने यो व्यवसायिक यात्रालाई अगाडी बढाउन सक्दैनौं । शिक्षा र आत्मविश्वास नै मूल कुरा हो । हाम्रो अमेरिकाका तीनवटा स्टोरमा गरेर १७, १८ जना कामदारहरु हुनुहुन्छ । परिवारलाई पनि समय दिनुपर्ने र व्यवसायमा पनि समय दिनुपर्ने सन्तुलन मिलाउन हामीले अमेरिकामा पढेका विद्यार्थीहरुलाई प्रोत्साहन गरेर विभिन्न पदहरुको जिम्मेवारी दिनुपर्छ । उनीहरुमाथि विश्वास गर्नुपर्छ । कुनै पनि व्यवसायमा कुनै व्यक्तिलाई हालेर उसलाई विश्वास गर्न सकिएन् भने त्यो व्यवसायलाई हामीले अगाडी बढाउन सक्दैनौं ।
अमेरिकामा पनि पुरुषको तुलनामा महिला व्यवसायीको संख्या कमी नै छ । व्यवसायकोे तुलनामा पुरुष भन्दा महिला पछाडि पर्नुको कारण के जस्तो तपाइँलाई ?
अमेरिकी नागरिकहरुमा हेर्ने भने महिलाहरु पनि त्यत्ति नै यो क्षेत्रमा छन् । तर, नेपाली महिलाहरु यो क्षेत्रमा कम छन् । नेपालीहरुमा पुरुषहरुले महिलाहरुलाई सहयोग गर्न एकदमै जरुरत छ । आफ्नो श्रीमतीलाई अगाडी ल्याउन पुरुषहरुले महिलालाई सहयोग गर्नुपर्छ ।
हरेक पुरुषको सफलतामा महिलाको हात हुन्छ भन्ने गरिन्छ । साथै, महिलाको सफलतामा पनि पुरुषको हात हुन्छ भन्ने तपाईबाट प्रष्ट हुन्छ । यो दौरानमा तपाइँलाई अरु कसले कसले साथ दिए ?
मेरो आमाले दिनुभयो । पहिले देखि नै मेरो आमा सामाजिक कामहरुमा सक्रिय हुनुहुन्थ्यो । मेरो जीवनमा म सफल हुनुको पछाडि मेरो आमा र सासुआमाको पनि हात छ । श्रीमान समीरजीको साथ बिना त सफलता सम्भवै थिएन । तर सासुआमाले पनि मलाई कहिले पनि तिमी घरमै बसेर बच्चालाई हेर भन्नुभएन । सबै सम्पन्न भएकाले काम गर्न पर्दैन भन्नुभएन । सासुआमाले तिमी शिक्षित मान्छे हो, तिमीले बाहिर गएर काम गर्न सक्छौ हौसला दिइराख्नुभयो । मेरो ससुरावुवा यहीँ विजनेशको शिलशिलामा १ वर्षसम्म हङकङ बस्नुभयो । त्यो बेला सासुआमाले समीरजीसहित ५ जना छोराछोरीहरुलाई एक्लैले हेरेर यो व्यवसाय खडा गर्नुभएको थियो । मेरो प्रेरणामा आमा र सासुआमालाई लिन चाहन्छु । महिलाका सफलताका पछाडि परिवारका अरु महिला सदस्यको पनि हात हुन्छ ।
अमेरिकामा व्यवसायीका रुपमा महिलाहरुले के कस्ता चुनौतीहरुको सामना गर्नुपर्छ ? यहाँले कस्तो खालको चुनौतीहरु भोग्नुपर्यो ?
हामी नेपालबाट व्यापार व्यवसाय गर्न आएको हो । हाम्रो नेपालमा २ वटा डायमण्ड स्टोरहरु छ । एउटा पुल्चोक र अर्को न्युरोडमा । अमेरिकामा पनि तीन ठाउँमा हाम्रो स्टोरहरु छ । हामीले त्यही कम्पनीलाई लिएर आएको हुनाले त्यती धेरै चुनौति भएन । तर गाह्रो चाँही गाह्रो छ यहाँ । आम महिलाहरुको सन्दर्भमा अहिलेको समयमा चुनौतिपूर्ण नै छ । ज्वलरी फिल्डमा त चुनौति नै हुने भयो । किनकी यो क्षेत्र नै त्यस्तै भयो । कुनै पनि व्यवसाय गरिसकेपछि सफल हुनुपर्ने हुन्छ ।
तपाइँले अमेरिकामा व्यवसायमा आबद्ध हुँदा के कुरामा आफैप्रति गर्व लाग्छ?
म आफूप्रति गर्व नै गर्छु । किनकी मुख्य कुरा आफुले नै व्यवसायको सुरुवात गरियो । बच्चाहरुलाई हेर्दै पनि यो काम गरियो । थुप्रै नेपालीहरुलाई रोजगारी दिन सकिरहेका छौं । त्यो पनि ठूलो सफलता नै हो । नेपालबाट यो विजनेशलाई यहाँसम्म ल्याउनु भनेको ठूलो कुरा हो, त्यो कुरामा पनि मलाई गर्व लाग्छ ।
अमेरिकामा धेरै नेपाली महिला दिदीबहिनीहरु घरेलु काममा हुनुहुन्छ । कसैले विभिन्न पेशाहरु पनि गर्नुभएको छ । कतिपय व्यवसायमा पनि लाग्न चाहनुहुन्छ । नयाँ आउने महिला दिदीबहिनीहरुलाई व्यवसायमा लाग्न के सल्लाह दिनुहुन्छ ?
व्यवसाय गर्नको लागि अमेरिकामा सजिलो छैन । व्यवसाय गर्न गाह्रै छ । मुख्यकुरा शिक्षा र आत्मविश्वास हुन एकदमै जरुरी छ । अमेरिकामा आएर मुख्य त आफूलाई बस्नेदेखि लिएर यहाँ व्यववसाय गर्नको लागि आफ्नो क्रेडिट राम्रो बनाउनुपर्यो । सबै जना समूहमा बसेर चिनजान हुनुपर्यो । यो ठाउँमा विजनेश गर्न चाहानु नै ठूलो कुरा हो । विजनेश गर्न आफ्नो विश्वसनीयता पनि एकदमै राम्रो बनाउनुपर्छ । मान्छेहरुले चिन्नेदेखि लिएर परिपक्वतासम्म सबै कुरा राम्रो हुनुहुपर्छ ।
नेपालबाट आउने महिला दिदीबहिनीहरु कस्तो खालको सीप सिकेर आउँदा अमेरिकामा सहज र सहज हुन्छ ?
आज भोली मान्छेहरु पहिले भन्दा बढी शिक्षित भइसकेका छन् । शिक्षितहरुलाई यहाँ आएर पढेर धेरै तरिकाको काम पाउन असहज छैन । नपढेकोहरुलाई पनि यहाँ कामै छैन् भन्ने त होइन । नेपाली महिला दिदीबहिनीहरु यहाँ ब्यूटीपार्लरदेखि धेरै काममा आबद्ध हुनुहुन्छ । नेपालबाट आउने महिला दिदीबहिनीहरुलाई कुनै पनि सीप सिकेर आउन सुझाव दिन्छु । यहाँ सीपको धेरै महत्व छ । एउटा सीप लिएर आउनुभयो भने धेरै सजिलो हुन्छ । यहाँ पढेर मात्रै होइन्, सीपको धेरै महत्व छ । सीप छ भने यहाँ कामको कमी छ जस्तो मलाई लाग्दैन ।
अबको व्यवसायिक र सामाजिक योजना कस्ता छन् ?
पहिले हामी डायमण्डको मात्र होलसेल व्यवसाय गथ्र्यौ । अब सुनको पनि बिक्रि गर्ने योजना बनाइरहेका छौं । अमेरिकाको थप दुई वटा सहरमा पनि हाम्रो स्टोरहरु सञ्चालनमा आउदै छ । व्यवसायपछिको मेरो रुची सामाजिक कार्य नै हो । सासुआमाको नामबाट खोलिएको फाउण्डेशनबाट पनि नेपाली दिदीबहिनीहरुको सेवा गर्ने उद्धेश्यले अगाडी बढिरहेका छौं ।