प्रधानन्यायाधीश श्रेष्ठ भन्नुहुन्छ : भेदभावरहित समाज निर्माण गर्न न्यायपालिका क्रियाशील छ


प्रकाशित मिति : जेष्ठ २७, २०८१ आईतबार

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायिक स्वतन्त्रता तथा न्यायसम्बन्धी हकलाई नेपालको संविधानले प्रत्याभूत गरेको बताउनु भएको छ । उहाँले सामाजिक रुपान्तरण एवं भेदभावरहित समाज निर्माण गर्न न्यायपालिका क्रियाशील रहेको उल्लेख गर्नुभयो ।

बङ्गलादेशको राजधानी ढाकामा भएको न्यायपालिकासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा उहाँले नेपालमा भएका न्यायिक सुधारका बारेमा जानकारी दिँदै न्यायपालिकाको पाँचवर्षे रणनीतिक योजना तयारी भइरहेको जानकारी बताउनुभयो ।

संविधानले प्रत्याभूत गरेका आधारभूत अधिकारलाई हनन हुन नदिन सर्वोच्च अदालतले महत्त्वपूर्ण निर्णय गरेको बताउँदै न्यायमा सबैको पहुँच सुनिश्चित गर्न कानुनी एवं संस्थागत संयन्त्र बनाएर काम भइरहेको प्रधानन्यायाधीश श्रेष्ठले जानकारी दिनुभयो ।

त्यसअधि उहाँले बङ्गलादेशका प्रधानन्यायाधीश ओबाइदुल हसनसँग भेटवार्ता गर्नुभएको थियो । त्यस अवसरमा बङ्गलादेशका कानुनमन्त्री अनिसुल हक तथा सर्वोच्च अदालतका न्यायाधीशहरुको सहभागिता थियो । प्रधानन्यायाधीश श्रेष्ठ आफ्ना बङ्गलादेशी समकक्षी ओबाइदुल हसनको निमन्त्रणामा यही जेठ २४ देखि २७ गतेसम्म बङ्गलादेशको भ्रमणमा हुनुहुन्छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com