१३ खच्चड अडकिएपछि कर्णालीको झोलुङ्गे पुल बन्द गरियो


प्रकाशित मिति : जेष्ठ २७, २०८१ आईतबार

कर्णाली नदीमा रहेको झोलुङ्गे पुलको जाली लत्रिँदा अडकिएका १३ खच्चड मध्ये ११ को उद्धार भएको छ । २ वटा मरेका छन । पाँच घण्टा लगाएर स्थानीय र सुरक्षाकर्मीको टोलीले ११ खच्चडको उद्धार गरे । तर २ वटा लाई भने उनीहरुले बचाउन सकेनन ।

अछामको पञ्चदेवल बिनायक नगरपालिका–९ कालेकाडा र दैलेखको आठबिस नगरपालिका–६ खिड्किजिउला जोडने झोलुङ्गे पुलको जाली लत्रिएको हो ।

जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी नायव उपरीक्षक सन्तोष पाठकले दिनुभएको जानकारी अनुसार खुट्टा जालीभित्र पसेपछि बिहानदेखि खच्चड पुलको बीच भागमै थन्किएका थिए ।

भारीसहितका खच्चड एकसाथ हिँड्न थालेपछि पुलको एकतर्फको जाली लत्रिएको बताइएको छ । खट्टा जालीभित्र पसेपछि खच्चड घाइते भएका छन् ।

कर्णाली नदीमा निर्मित झोलुङ्गे पुलको दाँहिने तर्फको भाग लत्रिएको हो । पुलको दाँहिने तर्फको भाग पुरै बाङ्गो भएको छ ।

व्यापारीले चिल्तडाबाट दैलेखको खिड्किजिउलातर्फ खच्चडलाई सामान बोकाएर लैजाँदै थिए ।

पुल २२ वर्ष पुरानो हो। खिड्कीज्युला बजारमा कर्णाली राजमार्ग बनेपछि केही सुविधा थपिएका थिए।

यो पुलबाट ओहोरदोहोर गर्ने पञ्चदेवलको भाटगाउँ, कालेकाँडा लगायतका गाउँमा भने निकै विकटता छ। उनीहरुले खाद्यान्न, लत्ताकपडा किन्ने नजिकको बजार भनेको पनि दैलेखकै खिड्कीज्युला हो।

सम्बन्धका हिसाबले दैलेख र अछामबीचको व्यापारिक, पारिवारिक र शैक्षिक सेतु बनेको थियो। खच्चड उद्धार गरेपछि यो पुल पूर्ण रूपमा बन्द गरिएको छ।

अछामको विद्यालयमा पढ्न जाने दैलेखका कयौं विद्यार्थीका लागि कर्णाली यही पुलबाट तर्थे।

अछामको पञ्चदेवल विनायक नगरपालिका–९ कालेडाँडामा चण्डिका माध्यमिक विद्यालय छ। यो विद्यालयमा दैलेखको आठबीस नगरपालिका–६ र ४ का तल्लो गाउँका थुप्रै बालबालिका पढ्न जान्छन्।

अहिले लठ्ठा चुँडिएको पुलदेखि करिब १० मिनेटको दूरीमा अर्को झोलुङ्गे पुल बन्न लागेको छ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com