विद्यालयले विद्यार्थीलाई कपाल काट्ने सीप सिकाउँदै


प्रकाशित मिति : जेष्ठ २८, २०८१ सोमबार

स्याङ्जाको वालिङ–९ मा रहेको भुम्रे माध्यमिक विद्यालयले विद्यार्थीलाई कपाल काट्ने सीप सिकाउन तालिम सुरुआत गरेको छ ।

व्यवहारिक सीप मार्फत विद्यार्थीलाई आत्मनिर्भर बनाउने उद्देश्यले तालिम थालिएको विद्यालयका प्रधानाध्यापक तिलकप्रसाद पराजुलीले बताउनुभयो ।

जिल्लाकै पुरानो सो सामुदायिक विद्यालय कक्षा १० सम्म सञ्चालनमा रहेको छ । विद्यालयले कक्षा ८, ९ र १० मा अध्ययनरत इच्छुक छात्रछात्रालाई निःशुल्करुपमा कपाल काट्न तालिम सञ्चालन गरेको हो ।

“विद्यार्थीलाई किताबी ज्ञानले मात्रै पुग्दैन, उनीहरुलाई व्यवहारिक, जीवनोपयोगी खालका प्राविधिक ज्ञान सीप आवश्यक हुन्छ”, प्रधानाध्यापक पराजुलीले भन्नुभयो ।

वैदेशिक रोजगारीमा जाँदा पनि सीप सिकेर जाँदा राम्रो हुने भएकाले प्राविधिक ज्ञान सीप विद्यार्थीलाई दिन थालिएको उहाँले बताउनुभयो । प्राविधिक ज्ञान सीप भएको मानिस बेरोजगार बस्न नपर्ने भएकाले यसको महत्व उच्च रहेको प्रशिक्षक सुनबहादुर घर्तीले बताउनुभयो । विद्यालय परिसरभित्रै प्रशिक्षक घर्तीले विद्यार्थीलाई आलोपालोरुपमा कपाल काट्न सिकाउँदै आउनुभएको छ ।

पछिल्लो समय सामुदायिक विद्यालयमा विद्यार्थीको चाप घट्दै जाँदा भुम्रे माविले प्रयोगात्मक विधिमार्फत विद्यार्थी आकर्षण गरेको हो । विद्यालयले सैद्धान्तिक ज्ञान र व्यवहारिक ज्ञान सँगसँगै अगाडि बढाएको हो ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com