१० महिनामा करिब १२ खर्ब रेमिटान्स भित्रियो , ३ लाख ७४ हजार जनाले लिए अन्तिम श्रम स्वीकृति


प्रकाशित मिति : जेष्ठ २८, २०८१ सोमबार

चालु आर्थिक वर्षको १० महिनासम्म करिब १२ खर्ब विप्रेषण भित्रिएको छ ।

नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको वैशाख मसान्तसम्मको विवरणअनुसार सो अवधिमा विप्रेषण आप्रवाह १९ दशमलव दुई प्रतिशतले वृद्धि भए ११ खर्ब ९८ अर्ब ६० करोड पुगेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २३ दशमलव चार प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १७ दशमलव एक प्रतिशतले वृद्धि भई नौ अर्ब दुई करोड पुगेको छ ।

अघिल्लो वर्ष यस्तो आप्रवाह १३ दशमलव चार प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति संस्थागत तथा व्यक्तिगत–नयाँ लिने नेपालीको सङ्ख्या तीन लाख ७४ हजार आठ सय ८७ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या दुई लाख ३७ हजार आठ सय ९३ रहेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या क्रमशः चार लाख २१ हजार दुई सय ७९ र दुई लाख ३८ हजार नौ सय ७६ थियो ।

समीक्षा अवधिमा खुद ट्रान्सफर १७ दशमलव दुई प्रतिशतले वृद्धि भई १३ खर्ब एक अर्ब ७२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर २२ दशमलव पाँच प्रतिशतले बढेको थियो ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com