८ सय २५ शिक्षकले सदस्यता त्यागेको शिक्षा मन्त्री श्रेष्ठ भनाइ


प्रकाशित मिति : असार ४, २०८१ मंगलबार

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले शिक्षा क्षेत्रलाई दलीय राजनीतिमुक्त बनाउने निर्णयबाट पछि नहट्ने बताउनुभएको छ ।

मन्त्रालयको जिम्मेवारी सम्हालेको सय दिनमा प्राप्त उपलब्धि सार्वजनिक गर्न सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री श्रेष्ठले दलीय हस्तक्षेपले गुणस्तरीय शिक्षामा नकारात्मक प्रभाव पार्ने भएकाले आफूले गरेको निर्णय र प्रतिबद्धताबाट पछि नहट्ने स्पष्ट पार्नुभयो ।

उहाँले विश्वविद्यालयमा नियुक्ति गर्दा योग्यताक्रमलाई आधार मान्न थालिएको र आफ्नो निर्देशनपछि राजनीतिक दलको सदस्यता लिएका ८ सय २५ शिक्षकले सदस्यता त्यागेको जानकारी दिनुभयो ।

यसबीचमा दलीय सदस्यता लिएका ४५ शिक्षकविरुद्ध मन्त्रालयमा उजुरी आएकामा ४१ जनासँग स्पष्टीकरण लिइएको र चार जनाले सफाइ पाएको मन्त्री श्रेष्ठले बताउनुभयो ।

अहिले शिक्षकहरूले पनि हाम्रो उद्देश्य बुझेर सदस्यता त्याग्न थाल्नुभएको छ । अन्तिमसम्म पनि त्यो निर्णय कार्यान्वन गर्न म प्रतिवद्ध छु”, उहाँले भन्नुभयो ।

मन्त्री श्रेष्ठले शिक्षक सरुवालाई पारदर्शी र वैज्ञानिक बनाउन सम्बन्धित पक्षसँगको छलफलका आधारमा निर्देशिका ल्याएको र आवश्यकतानुसार परिमार्जन गर्न सकिने बताउनु भयो ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com