मिथिलाका २१ जोडीले गरे दाइजोमुक्त सामूहिक अन्तरजातिय विवाह
प्रकाशित मिति : असार ८, २०८१ शनिबार
धनुषा जिल्लाको मिथिला नगरपालिका–२ बेलाचापीस्थित सतलोक आश्रममा २१ जोडीले सामूहिकरुपमा दाइजोमुक्त अन्तरजातिय विवाह गरेका छन् ।
सन्त रामपालको सतलोक आश्रममा कबिर परमेश्वरको ६२७औँ प्रकट दिवसको अवसरमा आयोजित समारोहमा शुक्रबार २१ जोडीले सामूहिक अन्तरजातिय विवाह गरेका हुन् । गुरुवाणीद्वारा २३ करोड देवीदेवताको स्तुति गर्दै रमैणी मन्त्र उच्चारण गरी १७ मिनेटमा सामूहिक विवाह सम्पन्न गराइएको सन्त रामपालका अनुयायी ईश्वरदत्त भट्टले जानकारी दिनुभयो । उहाँका अनुसार विभिन्न महोत्सवमा यहाँ सामूहिक तथा दाइजोमुक्त विवाह हुने गरेको छ ।
कबिर जयन्तीका अवसरमा उहाँको सम्झनामा प्रत्येक वर्ष मनाइने ‘कबिर परमेश्वर प्रकट दिवस’ आज यहाँ विविध कार्यक्रम गरी भव्यताका साथ मनाइँदै छ । सन्त रामपालजी महाराजका अनुयायीद्वारा यही असार ६ गतेदेखि ८ गतेसम्म तीन दिवसीय अखण्ड पाठ तथा भण्डारा कार्यक्रम आयोजना गरिएको थियो ।
असार ६ गते पाठ प्रकाश गरी भण्डाराको प्रारम्भ गरिएको भट्टले बताउनुभयो । उहाँका अनुसार दोस्रो दिन दाइजोमुक्त सामूहिक विवाहलगायत विभिन्न किसिमका समाज सुधारका कार्यक्रम भएका छन् । अनुयायीहरुले दिवसको अवसरमा नेपाल रेडक्रस सोसाइटीसँगको समन्वयमा रक्तदान गरेका छन् ।
कार्यक्रममा मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डल, मुख्यमन्त्री सतिशकुमार सिंहलगायत प्रदेशका विभिन्न सङ्घसंस्थाका प्रतिनिधिको उपस्थिति थियो ।