रफाह नजिकै विस्थापित प्यालेस्टिनी शिविरमा भएको आक्रमणमा २५ जनाको मृत्यु


प्रकाशित मिति : असार ८, २०८१ शनिबार

गाजा स्वास्थ्य मन्त्रालयले रफाह नजिकै अल–मवासीमा रहेको विस्थापित प्यालेस्टिनी शिविरमा इजरायलले गरेको आक्रमणमा कम्तिमा २५ जनाको मृत्यु हुनुका साथै ५० जना घाइते भएको जनाएको छ।

यसबाहेक राफाहको उत्तरपश्चिममा रहेको अल–शकौस क्षेत्रमा इजरायली गोलाबारीमा धेरै मानिस मारिएको र घाइते भएको प्यालेस्टिनी नागरिक सुरक्षा एजेन्सीले बताएको छ। इजरायली सेनाले गाजा सहर नगरपालिकाको ग्यारेज र सहरको पाँच तले भवनमा बम प्रहार गरेको अल जजिराले जनाएको छ।

यसअघि गाजाको स्वास्थ्य मन्त्रालयले गत २४ घण्टामा इजरायली सेनाले कम्तीमा ३५ प्यालेस्टिनीको हत्या गरेको र इजरायल र हमासबीच जारी युद्धमा ज्यान गुमाउनेको सङ्ख्या ३७ हजार ४३१ पुगेको जनाएको थियो।

यसैबीच, यस क्षेत्रमा इजरायली नाकाबंदी जारी रहँदा मानवीय अवस्था बिग्रँदै गइरहेको छ । फ्रान्सेली मेडिकल राहत समूह ९एमएसएफ०ले शुक्रबार स्वास्थ्य सेवा सामग्री आपूर्ति अभावका कारण गाजामा स्वास्थ्य सेवा सञ्चालन स्थगित गर्नुपर्ने हुनसक्ने बताएको छ।

“एमएसएफले अप्रिलको अन्त्यदेखि गाजामा कुनै पनि चिकित्सा आपूर्ति ल्याउन सम्भव नभएकाले आवश्यक औषधि र उपकरणको गम्भीर अभावको सामना गरिरहेको छ“, राहत समूहले एक विज्ञप्तिमा भन्यो।

अन्तर्राष्ट्रिय चेतावनीका बावजुद इजरायलले मे महिनामा रफाहमा हमासविरुद्ध प्रतिआक्रमण सुरु गरेको थियो।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com