सपनाको देश अमेरिका विपनामा कस्तो छ?


प्रकाशित मिति : असार ८, २०८१ शनिबार

अमेरिका धेरैका लागि सपनाको देश । एक पटक अमेरिका पुग्न पाए वा कुनै न कुनै रुपमा उतै रहन पाए जिन्दगी त बिन्दासले चल्छ भन्ने धेरैलाई लाग्नसक्छ । अमेरिकामा त डलरको बोट नै छ, टिपे पुग्छ होला भन्ने सोच पनि व्यक्त नभएको होईन ।

के त्यस्तै हो त अमेरिका ? पटक्कै होईन । हो, अमेरिकामा अवशर छ । तर त्यो अवशरलाई आफुले ईमान्दारपूर्वक उपयोग गर्न सक्नुपर्छ । त्यसका लागी सीप, क्षमता र लगनको भने आवश्यकता पर्छ । नत्र अमेरिका सुनको पिंजडा जस्तो हुन्छ । देख्दा सुन्दर, समुन्द्रको आनन्द ,अग्ला अग्ला घर, चिल्ला र फराकिला सडक ।

प्रणाली र नियम कानुनमा चल्ने कुरा सबै छ । तर आफूसंगै सीप, क्षमता र लगन छैन भने केही पनि छैन । अमेरिका पुग्दैमा मात्र केही हुने होईन । त्यस्तो बेला तपाईका लागि कोही पनि हुदैन ।

यहाँ त आफ्नै खुट्टामा उभिनको लागि प्रसस्त ठाउ छ तर अर्काको सहारामा उभिन भने निकै कठिन छ । अरुको भर पर्दा कसैले पनि प्रगति गर्न सक्दैन । त्यसैले स्वाबलम्बी बन्नका लागि भने अमेरिका उपयुक्त स्थान हो तर परनिर्भर का लागि कठिन ठाउँ हो ।

अमेरिका आउँदा यहाँको कानुन र प्रणाली बुझ्न जरुरी छ । कतिपय अबस्थामा अमेरिका सबैका लागि हो वा कसैका लागि पनि होईन जस्तो छ । भविष्य बनाउने, पढाइलाई निरन्तरता दिदैँ आफ्नो करियर सुरु गर्ने योजनाका साथ धेरै आईपुग्छन् अमेरिकामा । पढाईको तनावसंगै खर्चको व्यवस्थापन गर्नु पर्ने अवस्था, नेपालमा रहेका घर परिवारको अपेक्षा पूरा गर्नु पर्ने बाध्यता लगायत काम खोज्नु, काम पाउनु र पढाईको समन्वय गर्नु निकै चुनैतिपूर्ण हुनसक्छ । यी कुराको उचित व्यवस्थापन नहुदा धेरै युवायुवटी डिप्रेशनको शिकार पनि बनेका छन् ।

यहाँ वैज्ञानिक, प्राध्यापक , कानून व्यवसायी, विद्यार्थी, पत्रकार, व्यापारी, कलाकारको जमातदेखि साधारण लेखपढ मात्र गर्नसक्ने थुप्रै नागरिक छन् । नेपालीहरु संयुक्त परिवारमा बसोबास गरिरहेकाहरुलाई यहाँको जीवनशैली अनौठो लाग्नसक्छ । परिवारका सदस्यबीच पनि आत्मीयता र भावनात्मक सम्बन्ध टाढिँदै गएको अनुभव हुनसक्छ । कतिपय अबस्थामा छिमेकीको मात्र होईन आफनै परिवारका सदस्यहरुले समेत वास्ता नगर्ने अवस्था आउनसक्छ । पछिल्ला दिनमा अमेरिकामा नेपाली समुदायको उपस्थिती उल्लेख हुदै गएका कारण सामुहिक भावनाको पनि विकाश हुर्दै गएको छ ।

तपाईंसँग पैसा छ भने यहाँ सबै चिज सहजै प्राप्त हुन्छ, नत्र गार्‍हो हुन्छ । तपाईंले बढी समय काम गर्छु र बढी आम्दानी गर्छु भन्न पनि त्यति सहज छैन । यहाँ कानुनले तोकेको अवधिभन्दा बढी समय काम गर्न पाइदैन । त्यस्तो अवस्थामा अन्यत्र समय मिलाएर गर्ने अर्कै कुरो हो तर त्यस्तो अवस्थामा श्रम ऐनले तोकेको अनुसार पारिश्रमिक पाउनुहुन्न । अझ कतिपय अबस्थामा तपाईंसँग सोसल सेक्युरिटी नम्बर र वर्क परमिट छैन भने काम गर्नै पाउनुहुन्न ।

अमेरिका बाघमा सवार यात्री जस्तो हो । बाघमा बसिरहदा शरीर थाक्ने, बाघबाट ओर्लदा बाघले नै खाने जस्तो अवस्था पनि छ । भनिन्छ, अमेरिका आएकाहरू पनि पछुताउँछन्, आउन नपाएकाहरू पनि पछुताउँछन् । बाहिरबाट देखेजस्तो छैन अमेरिका । यो त कठोर संघर्षको अर्को नाम हो ।

यहाँको सुन्दर पक्ष भनेको कानून सबैका लागि समान हो । भनसुनबाट काम गर्छु गराउछु भन्नु पर्दैन । कामको सम्मान छ । ठुलो, सानो काम भन्ने बिभेद छैन । अमेरिका जीवनशैली, विकास, विज्ञानप्रविधि र अवसरहरुको नमुना थलो पनि हो । हरेक नागरिकको आत्मसम्मान र स्वभिमान छ अमेरिकामा । त्यसैले त समानताका लागि नमूना छ अमेरिका ।

कतिपयको एउटा गीतमा भनिएजस्तै अवस्था छ – ‘बिदेशीको हरियो डलर, डलरले बिगार्‍यो कलर’। अमेरिकामा हरियो डलर कमाउँदा कलर फेरिएको भेउ कतिले पाए? यो जटिल प्रश्न हो । तर, यही डलरको चक्करमा कैयन युवायुवतीले जीवनलाई घनचक्करमा पारेका प्रसस्तै उदाहरण भेटिन्छन्।

अधिकारी न्युयोर्क निवासी व्यवसायी हुन् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com