१ सय १३ देशमा महिला राष्ट्र प्रमुख अहिले सम्म हुन नसक्नुको कारण के होला ? प्रतिबेदन के भन्छ


प्रकाशित मिति : असार १०, २०८१ सोमबार

विश्वभरका १ सय १३ देशमा कहिल्यै पनि राज्य वा सरकारको प्रमुखका रूपमा महिलाले काम गर्न नपाएका एक अध्ययनले देखाएको छ ।
हालसम्म २६ देशमा मात्र महिलाको नेतृत्व रहेको सोमबार प्रकाशित महिला राजनीतिक नेत्रीहरूको युएन वुमन विश्वव्यापी तथ्याङ्क २०२४ ले देखाएको छ ।

प्रगतिका बावजुद महिलाहरू अझै पनि सत्ता र कूटनीतिक पदबाट ‘धेरै हदसम्म बहिष्कृत’ रहेको र प्रभाव तथा निर्णय लिने उच्चतम स्तरमा पुरुषहरूको कब्जा रहेको युएन वुमनले प्रेस विज्ञप्तिमा जनाएको छ ।

विज्ञप्तिअनुसार विश्वव्यापी रूपमा निर्णय प्रक्रियामा महिलाहरूको कम प्रतिनिधित्व ‘कठोर वास्तविकता’ बनेको छ । नेतृत्व पदहरूमा लैङ्गिक समानतासम्बन्धी युएन वुमनको नयाँ तथ्याङ्क त्यतिबेला प्रकाशित भएको छ ।

जतिबेला महिलाहरूले कसरी अवरोधहरू तोडिरहेका छन् र कूटनीतिमा भिन्नता ल्याइरहेका छन् भनेर पहिचान गर्न जुन २४ मा विश्वले कूटनीतिमा महिलाका लागि अन्तर्राष्ट्रिय दिवस मनाउँदै छ ।

सन् २०२४ जनवरी १ सम्म मन्त्री पदहरूमा २३ प्रतिशत मात्र महिला रहेका छन् र १ सय ४१ देशमा क्याबिनेट मन्त्रीहरूमा एक तिहाइभन्दा कम महिला रहेका छन् । सात देशको मन्त्रिपरिषद्मा कुनै पनि महिलाको प्रतिनिधित्व छैन ।

कूटनीति र वैदेशिक मामिलामा पुरुषको प्रभुत्व राष्ट्रसङ्घका स्थायी नियोगहरूमा फैलिएको छ । यहाँ महिलाहरूलाई स्थायी प्रतिनिधिका रूपमा कम प्रतिनिधित्व प्राप्त भएको छ ।

सन् २०२४ मेसम्ममा न्युयोर्कमा २५ प्रतिशत, जेनेभामा ३५ प्रतिशत र भियनामा ३३ दशमलव पाँच प्रतिशत स्थायी प्रतिनिधिमा महिला थिए । “हाम्रो काम विश्वासद्वारा निर्देशित छ ।

जब महिलाहरूले नेतृत्व गर्छन्, संसार सबै मानिसहरू र पृथ्वीका लागि राम्रो हुन्छ । यस वर्ष धेरै देश चुनावमा जान्छन्, हामी सबैले महिलाहरूलाई पहिलो स्थानमा राख्नुपर्छ ।

सबैको जीवनमा सुधार ल्याउनका लागि शासन र नेतृत्वमा महिलाको समान सहभागिता सबैभन्दा महत्त्वपूर्ण छ”, युएन वुमनका कार्यकारी निर्देशक सिमा बाहौसले भन्नुभयो ।

विज्ञप्तिमा नेतृत्वको पदमा महिलाको चयन र नियुक्तिले ‘लैङ्गिक समानताका लागि बलियो राजनीतिक इच्छाशक्तिको सङ्केत गर्दछ’ र आज विश्वले सामना गरिरहेका चुनौतीहरूको सामना गर्न सामूहिक प्रतिबद्धता देखाउँछ भनिएको छ ।

युएन वुमनले महिलाहरूको नेतृत्व गर्न र सकरात्मक परिवर्तनलाई अगाडि बढाउने कामलाई सुनिश्चित गर्न निरन्तर काम गरिरहेको छ”, विज्ञप्तिमा भनिएको छ ।

सन् १९९५ मा बेइजिङमा भएको चौथो विश्व महिला सम्मेलनले बेइजिङ घोषणा र कार्यका लागि मञ्च अपनाएको थियो ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com