नेपालमै पहिलो पटक बुटवलमा टोल विकास संस्था गठन गर्दा ३० प्रतिशत युवाहरुको प्रतिनिधित्व अनिवार्य


प्रकाशित मिति : असार १३, २०८१ बिहीबार

रुपन्देहीको बुटवल उपमहानगरपालिकाले टोल विकास संस्थाको गठन प्रकृयामा युवाको प्रतिनिधित्वलाई सुनिश्चित गरेको छ ।

टोल विकास संस्था गठन तथा परिचालन निर्देशिका २०७४ लाई पाँचौ संसोधन गर्दै बुटवल उपमहानगरपालिकाले १६ देखि ४० बर्ष उमेर समुहका युवाको ३० प्रतिसत प्रतिनिधित्व कार्यसमितिमा सुनिश्चित गरेको हो । यो सुनिश्चिततालाई संभवत नेपालमै पहिलो भएको दावी गरिएको छ । राष्ट्रिय युवा नीति २०७२ ले १६ देखि ४० बर्ष उमेरको समूहलाई युवाको रुपमा परिभाषित गरेको छ ।

बैशाख २० गते कार्यपालिकाबाट भएको संसोधनलाई उपमहागरपालिकाले २०८१ बैशाख २१ गते नै स्थानीय राजपत्रमा समेत प्रकाशित गरिसकेको छ ।

स्थानीय राजपत्रमा टोल बिकास संस्थाको कार्यसमितिको पदाधिकारीलाई समाबेशी बनाउन ३३ प्रतिसत महिला र ३० प्रतिसत १६ देखि ४० बर्ष भित्रका युवाको सहभागिता अनिबार्य हुनुपर्ने उल्लेख गरिएको छ ।

युवामैत्री स्थानीय शासनका लागि नीति निर्माणतहमा युवाहरुको प्रतिनिधित्व आवश्यक रहेको भन्दै एकाउन्टेबिलिटी ल्याव नेपाल , स्थानीय सरोकारवाला संघसंस्था तथा बिभिन्न पार्टीका भातृ , भगिनी संघसंगठनहरुले आवाज उठाउदै आएका थिए ।

नगरको बिकासमा युवाहरु संग भएको उर्जा र सपनालाई प्रोत्साहन गर्न भन्दै टोल बिकास संस्था गठन तथा परिचालन निर्देशिका नै संसोधन गरी ३० प्रतिसत प्रतिनिधित्वलाई सुरक्षित गरिएको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले बताउनु भयो ।

युवाहरुलाई टोलदेखि नै विकासमा चासो देखाउने र बढाउने तथा विकासमा सहभागी गराउने उदेश्यले निर्देशिका संसोधन गरिएको प्रमुख प्रशासकीय अधिकृत मित्रमणि खनालले बताउनु भयो ।

बुटवल ३ का वडाध्यक्ष बिष्णुप्रसाद ढकालले टोल समाजमा भएका बिकास निर्माणका कार्य तथा सामाजिक कामहरुमा युवाहरुको सहभागिता बढने र सामाजिक काम गर्न लागि युवाहरुलाई प्रेरणा मिल्ने बताउनु भयो ।

बुटवल १० का वडाध्यक्ष बलबहादुर पुनले टोल विकास संस्थामा भएको प्रतिनिधित्व सुनिश्चितताले युवाको अग्रसरता र नेतृत्व विकासमा टेवा पुराउने बताउनु भयो ।

टोल बिकास संस्थाको कार्यसमितिमा युवाको प्रतिनिधित्व सुनिश्चित गर्ने बुटवल उपमहागरपालिकाको नीतिगत निर्णय स्वागतयोग्य रहेको नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्बर २ का सभापति प्रजापाल गिरी बताउनु हुन्छ ।

कसरी हुन्छ टोल विकास संस्थाको गठन ?

राष्ट्रिय जनगणना २०७८ का अनुसार बुटवल उपमहानगरपालिकाको जनसंख्या १ लाख ९४ हजार ३३५ रहेको छ । जसमध्ये ९४ हजार ८४९ जना पुरुष र ९९ हजार ४८६ जना महिला छन् । यहाँ ५० हजार ५६५ घरधुरी रहेका छन् । १५ देखि ३९ बर्ष उमेर बिचको जनसंख्या ७३ हजार ६२९ रहेको छ ।

बुटवल उपमहानगरपालिकाका सामाजिक परिचालन, अन्तर सहकारी तथा समन्वय शाखाका प्रमुख दामोदर ज्ञवालीका अनुसार बुटवलमा करिव ३०० टोल विकास संस्थाहरु छन् ।

बुटवल उपमहानगरपालिकाले अब नयाँ तरिकारले टोल विकास संस्था दर्ताको तयारी गरेको छ । नयाँ तरिकाबाट अहिले टोल विकास संस्था दर्ता भएका छन् । अन्य दर्ता गर्न आउने प्रक्रियामा छन् ।

बुटवल उपमहानगरपालिकाको टोल विकास संस्था समन्वय समिति गठन तथा परिचालन सम्वन्धि निर्देशिका, २०७४ अनुसार वडा नं १ देखि १३ सम्म कम्तिमा १०० देखि बढीमा ३०० घरधुरीसम्म तथा वडा न १४ देखि १९ सम्ममा कम्तिमा ५० देखि बढिमा १०० घरधुरीसम्मको एक टोल विकास सस्था गठन गर्न सक्ने व्यवस्था रहेको छ ।

टोल विकास संस्थामा अध्यक्ष, उपाध्यक्ष सचिव, कोषाध्यक्ष, सहसचिवगरी बढीमा ११ जनाको कार्यसमिति हुन्छ भने कार्यकाल २ बर्षको हुनेछ

के–के काम गर्छन् टोल विकास संस्था ?

टोल विकास संस्था गठन तथा परिचालन निर्देशिका २०७४ ले टोल विकास संस्थाहरुले गर्न पाउने विभिन्न २२ वटा कार्य तोकिदिएको छ । टोल विकास संस्थाले सदस्यहरुबाट नियमित रुपमा बचत संकलन तथा परिचालन गर्नेदेखि वार्षिक रुपमा टोल विकास संस्थाको घरधुरी सर्वेक्षण अद्यावधिक अभिलेख गर्ने , टोलमा आइपर्ने समस्या चुनौतीहरुको समाधान गर्न एक अर्काको लिने सम्मको काम गर्न पाउने निर्देशिकामा उल्लेख छ ।

स्थानीय सरकार सञ्चालन ऐन अनुसार बजेट तथा कार्यक्रम तर्जुमा का ७ चरण मध्ये बस्ती टोल स्तरबाट आयोजना कार्यक्रम छनौटमा टोल बिकास संस्थाहरुको अहम भूमिका रहने भएकाले प्रतिनिधित्वको सुनिश्चितताले सकारात्मक परिणाम दिनसक्ने नेपाल सरकारका पुर्ब सचिब डाक्टर दामोदर रेग्मी बताउनु हुन्छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com