मनसुन ढिलो सक्रिय हुँदा धान रोपाइँ सन्तोषजनक देखिएन , ५० प्रतिशत रोपाइँ मनसुनी वर्षाकै भरमा


प्रकाशित मिति : असार १४, २०८१ शुक्रबार

कृषि तथा पशुपक्षी मन्त्रालयका अनुसार झन्डै ५० प्रतिशत रोपाइँ मनसुनी वर्षाकै भरमा हुने गरेको छ । सबै क्षेत्रमा सिँचाइको सुविधा नहुँदा किसान रोपाइँ गर्न आकाशे पानीकै भर पर्नुपरेको हो । रोपाइँ गर्न किसान कहिले आकाशे पानी पर्ला भनेर कुर्नुपर्ने अवस्था यथावत छ ।

कृषि मन्त्रालयको तथ्याङ्कअनुसार यस वर्ष देशभर ९ दशमलव ८ प्रतिशत मात्रै धान रोपाइँ भएको छ । गत वर्ष असार १५ गतेसम्म करिब ८ दशमलव ७५ प्रतिशत मात्र धान रोपाइँ भएको थियो ।

कृषि मन्त्रालयका सूचना अधिकृत महानन्द जोशी यस वर्ष मनसुन छिटो भित्रिए पनि ढिलो सक्रिय हुँदा धान रोपाइँ सन्तोषजनक नरहेको बताउनुहुन्छ ।

मन्त्रालयको तथ्याङ्कअनुसार कोशी प्रदेशमा असार १२ गते सम्ममा धान रोपाइँ ५ दशमलव ६ प्रतिशत भएको छ । सो प्रदेशमा गत वर्ष असार १० गतेसम्म ६ दशमलव ५ प्रतिशत धान रोपाइँ भएको थियो । यसैगरी बागमती प्रदेशमा यस वर्ष ५ प्रतिशत मात्रै रोपाइँ भएको छ ।

गत वर्ष सो प्रदेशमा १८ दशमलव ३ प्रतिशत रोपाइँ भएको थियो । गण्डकी प्रदेशमा गत वर्ष यही समयमा ६ दशमलव ९ प्रतिशत रोपाइँ भएकामा यस वर्ष ८ दशमलव ३ प्रतिशत रोपाइँ भएको छ ।

लुम्बिनी प्रदेशमा यस वर्ष अघिल्लो वर्षको तुलनामा कम रोपाइँ भएको छ । गत वर्ष लुम्बिनी प्रदेशमा १० दशमलव ९ प्रतिशत रोपाइँ भएकामा यस वर्ष ८ दशमलव ८ प्रतिशत रोपाइँ भएको छ ।

कर्णाली प्रदेशमा गत वर्ष २२ दशमलव ६ प्रतिशत रोपाइँ भएकामा यस वर्ष २३ दशमलव ९ प्रशित रोपाइँ भएको छ । सुदूरपश्चिममा गत वर्ष २२ दशमलव ६ प्रतिशत रोपाइँ भएकामा यस वर्ष हालसम्म २५ प्रतिशत रोपाइँ भएको छ ।

सुदूरपश्चिममा अन्य प्रदेशभन्दा चाँडो रोपाइँ सुरु हुने भएकाले अन्य प्रदेशको तुलनामा बढी रोपाइँ भएको सूचना अधिकृत जोशीको भनाइ छ । राष्ट्रिय धान अनुसन्धान कार्यक्रमका संयोजक मधुरा यादवले धान उत्पादन वृद्धिका लागि मुलुकका सबै क्षेत्रमा सिँचाइ सुविधा पुग्न आवश्यक रहेको बताउनुभयो ।

मन्त्रालयका अनुसार आव २०८०÷८१ को जेठ मसान्तसम्ममा रु ८८ करोड ६५ लाख बराबरको धानको बीउ आयात गरिएको छ । सो अवधिमा करिब रु ११ अर्ब ५५ करोडको धान आयात गरिएको छ ।

सो अवधिमा रु आठ अर्ब ६९ करोड बराबरको चामल तथा रु नौ लाख २० हजार मूल्य बराबरको कनिका आयात भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार यस वर्ष तीन दिनअगावै मुलुकको पूर्वी क्षेत्रबाट मनसुन सुरु भएको थियो ।

सामान्यतया जुन १३ तारिखदेखि मनसुन नेपाल भित्रिने गरे पनि यस वर्ष जुन १० तारिखमा नै मनसुन भित्रिएको थियो । विभागका अनुसार मुलुकभर मनसुन फैलिन भने समय लागेको थियो । यस वर्ष जुन २३ तारिखमा मात्रै मुलुकभर मनसुन फैलिएको हो ।

मनसुन छिटो फैलिए पनि धान रोपाइँ सन्तोषजनक नभएको कृषि मन्त्रालयले जनाएको छ । यस वर्षको मनसुन अवधिमा मुलुकभर औसतभन्दा बढी वर्षा हुने प्रक्षेपण गरिएको छ ।

विभागका अनुसार सुदूरपश्चिम प्रदेशको उत्तर–पश्चिमी भूभाग, बागमती प्रदेशको दक्षिण–पूर्वी भूभाग, मधेस प्रदेशको मध्य भूभाग र कोशी प्रदेशको मध्य तथा मध्यपश्चिमी भूभागमा सरदर नै वर्षा हुने सम्भावना ३५ देखि ४५ प्रतिशत छ । देशका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ३५ देखि ५५ प्रतिशत छ ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् प्रतिमा मानन्धरले मनसुन सक्रिय रहने र आइतबारसम्म मुलुकको विभिन्न स्थानमा वर्षाको सम्भावना छ । आगामी केही दिनमा मनसुनको न्यून चापीय रेखा पूर्णरूपमा विकसित भई सरदर स्थानभन्दा उत्तरतर्फ नेपाल नजिक अवस्थित रहने र यसका कारण आगामी केही दिन नेपालमा मनसुन थप सक्रिय हुने सम्भावना रहेको उहाँको भनाइ छ ।

जलस्रोत तथा सिँचाइ विभागको तथ्याङ्कअनुसार करिब २५ लाख ३० हजार हेक्टर सिँचाइयोग्य जमिनमध्ये हालसम्म करिब १५ लाख हेक्टर जमिनमा सिँचाइ सुविधा उपलब्ध गराउने गरी सिँचाइको संरचना निर्माण गरिएको छ ।

तर करिब एक तिहाइ भूमिमा मात्र वर्षभरि सिँचाइ सुविधा उपलब्ध हुन सकेको विभागद्वारा २०८० चैतमा प्रकाशित ‘जलस्रोत तथा सिँचाइ वार्षिक पुस्तिक’मा उल्लेख छ ।

धान उत्पादनको अवस्था कृषि मन्त्रालयको तथ्याङ्कअनुसार चालु आवमा धानको कूल उत्पादन गत आवभन्दा ४ दशमलव ३३ प्रतिशतले वृद्धि भई ५७ लाख २४ हजार दुई सय ३४ मेट्रिक टन पुगेको छ ।

जुन विगत चार वर्षको औषत उत्पादनको तुलनामा ५ दशमलव ०८ प्रतिशतले बढी हो । कूल धानबाली भित्र्याइएको क्षेत्रफल गत आवको तुलनामा शून्य दशमलव ६१ अर्थात् आठ हजार आठ सय हेक्टरले कमी भई १४ लाख ३८ हजार नौ सय ८९ हेक्टर कायम हुन पुगेको छ ।

यो क्षेत्रफल गत चार आवको औषत क्षेत्रफलको तुलनामा एक दशमलव ७३ प्रतिशतले कम हो । धानबालीको औषत उत्पादकत्व गत आवको तुलनामा ४ दशमलव ९७ प्रतिशतले वद्धि भई ३ दशमलव ९८ मेट्रिक टन प्रतिहेक्टर पुगेको छ । यो गत चार वर्षको औषत उत्पादकत्वभन्दा ६ दशमलव ९२ प्रतिशतले बढी हो ।

चालु आवमा धानको उत्पादन कोशी प्रदेशमा बढी रहेको छ भने कर्णाली प्रदेशमा न्यून छ । चालु आवमा उत्पादकत्वतर्फ कोशी प्रदेश ४ दशमलव ४३ मेट्रिक टन प्रतिहेक्टरसहित अग्र स्थानमा रहन गयो भने मधेस प्रदेश ३ दशमलव ४९ मेट्रिक टन प्रतिहेक्टरमा सीमित भई न्यून स्थानमा रहन पुग्यो ।

गत आवको तुलनामा उत्पादन र उत्पादकत्व वुद्धिका हिसाबले लुम्बिनी प्रदेश अग्रस्थानमा छ । मधेस प्रदेश ऋणात्मक अवस्थामा छ ।

चालु आवमा धान उत्पादन वृद्धि हुनुमा बीउको सहजै उपलब्धता र रोग किराको प्रकोपमा कमी, बाढ़ीपहिरोबाट धान बालीमा पर्न जाने नकारात्मक असरमा कमी, मलखादको उपलब्धतामा आएको सुधार, कृषि औजार र प्रविधिको प्रयोग तथा मौसमी अनुकूलतालाई लिइएको छ

मधेस प्रदेशका केही जिल्लामा धान रोप्ने समयमा पर्याप्त वर्षा नभएकाले अरु प्रदेशको तुलनामा उत्पादन र उत्पादकत्वमा ह्रास आएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com