गुल्मी , बागलुङ र स्याङ्जामा पहिरोमा पुरिँदा आमाछोरी सहित ७ जनाको मृत्यु , ३ जना बेपत्ता


प्रकाशित मिति : असार १४, २०८१ शुक्रबार

गुल्मी , बागलुङ र स्याङ्जामा पहिरोमा पुरिएर ७ जनाको मृत्यु भएको छ । ३ जना बेपत्ता भएका छन । मृत्यु हुनेमा आमाछोरी , श्रीमान श्रीमती , बुहारी समेत रहेका छन । मनसुनी सकृय भएपछि यस क्षेत्रमा लगातार र ठुलो बर्षा भइरहेको छ ।

गुल्मीमा परेको वर्षाका कारण पहिरोले घर पुरिँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । दुई जना बेपत्ता भएका छन् । मालिका गाउँपालिका–६ अर्जेको कँडेलपाटामा भेषबहादुर विकको घर गए राति पहिरोले पुरिएको हो ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक राजन भुजेलका अनुसार ५६ वर्षीय भेषबहादुर विक, श्रीमती ४७ वर्षीया सुन्तली, बुहारी ३० वर्षीया सीता तथा दुई नातिनी सात वर्षीया सपना र दुई वर्षीया विपना पहिरोमा पुरिएका हुन् ।

पहिरोमा पुरिएकामध्ये भेषबहादुर, सीता र सपनाको शव फेला परेको छ । सुन्तली र विपनाको अवस्था भने अज्ञात छ । इस्मा प्रहरीचौकीबाट उद्धारका लागि प्रहरी टोली घटनास्थलमा पुगेको छ । स्थानीयको सहयोगमा प्रहरीले पहिरोमा पुरिएकाहरुको खोजी गरिरहेको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले जानकारी दिनुभयो ।

बागलुङमा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको छ । उक्त घटनामा दुईजना घाइते भएका छन् । गलकोट नगरपालिका–८ काँडेबाँसका बिसौनीका ५५ वर्षीय प्रेम विक र श्रीमती ५० वर्षीया वसन्ती विकको मृत्यु भएको हो ।

पहिरोले घर पुरिँदा प्रेमकी बुहारी कुमारी र नाति शिशिर घाइते भएका जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिनुभयो । घाइतेलाई उद्धार गरी अस्पताल पठाइएको छ ।

स्याङ्जामा पहिरोमा परेर आमाछोरीको ज्यान गएको छ । फेदीखोला गाउँपालिका–५ बाँगेमा गएराति पहिरोले घर पुर्दा सुतिरहेका ३१ बर्षीय दुर्गा जि टी र उहाँकी तीन बर्षकी छोरी निकिसा जिटीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता प्रहरी नायव उपरीक्षक ईन्द्रबहादुर रानाले जानकारी दिनुभयो ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com