आज संसद दिवस , पहिलोपटक जननिर्वाचित संसदको बैठक बसेको दिनको रुपमा स्मरण गरिदै


प्रकाशित मिति : असार १५, २०८१ शनिबार

आज संसद् दिवस । अर्थात् देशमा पहिलोपटक जननिर्वाचित संसद्को बैठक बसेको दिन । मुलुकमा प्रजातन्त्र स्थापना भएपछिको २०१५ सालमा भएको पहिलो आमनिर्वाचनबाट गठित संसद्को पहिलो बैठक बसेको दिन २०१६ असार १६ गतेलाई संसद् दिवसका रूपमा मनाउन थालिएको हो ।

मुलुकमा संसद्को पहिलो बैठक बसेको दिनको स्मरणमा हरेक वर्ष विविध कार्यक्रम गरी संसद् दिवस मनाउने गरिएको छ ।

संसद् स्थापनाको स्मरण गर्दै आज सङ्घीय संसद् र परामर्शदातृ संस्था पूर्वसांसद मञ्चले विविध कार्यक्रम आयोजना भएका छन् ।

पहिलो संसद्ले २०१६ असार १९ गते नेपाली कांग्रेसका नेता कृष्णप्रसाद भट्टराईलाई सभामुखमा निर्वाचित गरेको थियो । उहाँ २०१७ साल पुस १ गतेसम्म सभामुखको भूमिकामा क्रियाशील हुनुहुन्थ्यो ।

२०१७ साल पुस १ गते तत्कालीन राजा महेन्द्रले दलविहीन पञ्चायती व्यवस्था घोषणा गरेपछि जननिर्वाचित संसद् भङ्ग भएको थियो । देशको संसदीय इतिहास अन्य मुलुकको तुलनामा नयाँ होइन ।

पहिलो संसद्को निर्वाचन भएको छ दशकभन्दा बढी भएको छ । बलियो संसद् लोकतन्त्रको आधारशीला भएको बताउँदै राजनीतिक विश्लेषकहरूले संसद्लाई लोकतन्त्रको मन्दिरका रूपमा लिनुपर्ने बताएका छन् ।

उनीहरूका अनुसार लोकतान्त्रिक संसद्को आधारभूत चरित्र भनेको पारदर्शी, जनउत्तरदायी र समावेशी आवाजलाई प्रतिनिधित्व गर्ने हो ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com