चितवनका १ हजार ७ सय जनामा डेङ्गु सङ्क्रमण , चिकित्सकको सुझाव के छ त


प्रकाशित मिति : असार १६, २०८१ आईतबार

चितवनमा एक हजार सात सय ७१ जनामा डेङ्गु सङ्क्रमण देखिएको छ । गत वर्ष साउनदेखि हालसम्ममा परीक्षणका क्रममा उनीहरुमा डेङ्गु सङ्क्रमण देखिएको हो ।

चितवनका विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीमा डेङ्गुको सङ्क्रमण देखिएको हो ।

जनस्वास्थ्य कार्यालय चितवनका भेक्टर कन्ट्रोल निरीक्षक राम केसीका अनुसार २३ हजार पाँच सय ७१ जनाको परीक्षणका क्रममा सो सङ्ख्यामा डेङ्गु सङ्क्रमित फेला परेका हुन् ।

सङ्क्रमितमध्ये एक हजार दुई सय ६८ जना चितवनका रहेका छन् । ६ सय ६५ पुरुष र ६ सय तीन महिलामा डेङ्गु सङ्क्रमण देखिएको केसीले जानकारी दिनुभयो ।

ठेगना नखुलेका एक सय ३८ र चितवनबाहेकका जिल्लाबाट उपचार गर्न यहाँ आएका तीन सय ६५ जनामा डेङ्गु सङ्क्रमण देखिएको छ ।

एकजनाको उपचारका क्रममा मृत्यु भएको केसीले बताउनुभयो । सबैभन्दा बढी भरतपुर महानगरपालिकामा ६ सय ६४ जनामा डेङ्गु देखिएको छ ।

डेङ्गु रोग सङ्क्रमण भएको पोथी जातको लमखुट्टेको टोकाइबाट यो रोग सर्ने गर्दछ । यो रोग चितवनमा पहिलोपटक सन् २००४ मा देखिएको हो ।

यसबाट बच्न झूल लगाएर सुत्ने, साँझ–बिहान कपडा लगाएर मात्र बाहिर निस्कने, खाल्डाखुल्डीमा पानी जम्न नदिने, टायर, बोतल र ड्रम नियमित सरसफाइ गर्ने तथा पानी जम्न नदिए डेङ्गु सङ्क्रमण रोकथाम गर्न सकिने केसीले जानकारी दिनुभयो ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com