पञ्चैबाजा गुञ्जिन छाडेपछि महिलाहरु संरक्षणमा जुटे


प्रकाशित मिति : असार १७, २०८१ सोमबार

पहिलेपहिले तुलसीपुर उपमहानगरपालिका दाङ, क्षेत्रमा विवाह व्रतबन्ध हुँदा पञ्चैबाजा बजेका सुनिन्थे तर धेरै समय भयो अचेत यहाँका गाउँघरमा त्यस्ता बाजा गुञ्जिन छाडेका छन् ।

यस्तो कर्म गर्ने पुरुषले पनि आजभोलि बाजा बजाउने रुचि देखाउँदैनन्, त्यसैले पञ्चैबाजा बजाउने संस्कृति नै लोपहुने अवस्थामा पुगेको छ ।
यही चिन्ताले उपमहानगरपालिका–४ का महिला केही समययता पञ्चैबाज संरक्षण अभियानमा जुटेका छन् । यहाँस्थित जनचेतना आमासमूहले पञ्चैबाजा खरिद गरेर विवाह, व्रतबन्ध, पूजाआजामा बाजा घन्काउन थालेका छन् ।

यसले पञ्चैबाजा संरक्षण मात्र नभई आयआर्जनमा टेवा पुगेको स्थानीयको भनाइ छ । सो समूहमा आबद्ध महिला दमाहा, झ्याली, ट्याम्को, ढोलकी र सहनाइसहित छिल्लर तथा मादल किनेर व्यावसायिकरुपमा पञ्चैबाजा संरक्षण अभियानमा जुटेका अध्यक्ष कस्तुरा खड्काले बताउनुभयो । “पहिले गाउँमा विवाह, व्रतबन्ध हुँदा पञ्चैबाजा बज्थे तर पछिल्लो समय यहाँका गाउँघरमा ती बाजा बज्न छाडेका छन् ।

त्यसैले हामीले आफ्नो संस्कृतिको संरक्षण गर्नुपर्छ भनेर यो अभियान सुरुआत गरेका छौँ”, उहाँले भन्नुभयो । गत वर्षको भैलो खलेर सङ्कलन गरिएको रु एक लाख ४० हजारबाट पञ्चैबाजाका खरिद गरेर र एक वर्षसम्म बाजा बजाउन सिकेको अध्यक्ष खड्काले बताउनुभयो ।

समूहले पञ्जैबाजा बजाउँदा लाग्ने पारिश्रमिकको यकीन मूल्य भने तोकेको छैन तर बाजा बजाएमा विवाहमा रु १० हजार, पूजामा रु पाँच हजार, मृत्यु संस्कारमा रु पाँच हजार दिने गरिएको छ ।

अहिलेसम्म मूल्य तोकेर शुल्क नदिने गरे पनि अब भने निश्चित दर निर्धारण गर्ने समूहको योजना छ । यस समूहमा हाल २५ जना आबद्ध हुनुहुन्छ ।

समूहमा आबद्ध महिलाले सामूहिकरुपमा अन्य सामाजिक कार्य पनि गर्दै आएको छ । गाउँमा हुने झै–झगडा, पारिवारिक बेमेल, महिला हिंसाजस्ता घटनामा यो समूहले सक्रियता देखाउने गरेको छ ।

अध्यक्ष खड्काले भन्नुभयो, “पञ्चैबाजा संरक्षण गर्ने हाम्रो मुख्य उदेश्य हो तर पछिल्लो समय गाउँमा हुने झै–झगडा मिलाइदिन पनि अनुरोध आउने गरेको छ ।

यो हामीमाथिको विश्वास पनि हो ।” सधैँ चुलोचौकोमा सीमित हुने यहाँका महिला पञ्चैबाजा संरक्षणमा अग्रसर हुँदा उहाँहरुलाई हेर्ने सामाजिक दृष्टिकोण पनि बदलिँदै गएको धेरैको बुझाइ छ । सामाजिक काममा लाग्दा समाजले र आर्थिकोपार्जन हुँदा परिवारबाट पाउने सम्मानले समूहमा आबद्ध महिला दङ्ग छन् ।

यो अभियानको निरन्तरता र हौसलाका लागि तुलसीपुर उपमहानगरपालिकाले पनि पञ्चैबाजा संरक्षणमा सहयोग पुग्नेगरी थोरै भए पनि बजेट विनियोजन गरको गर्नेका लागि नगरपरिषद्बाट केही रकम विनियोजन गरेको अध्यक्ष खड्काले बजाउनुभयो ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com