नेपालमै पहिलोपटक काखीमुनि प्वाल पारेर मुटुको भल्ब परिवर्तन


प्रकाशित मिति : असार १९, २०८१ बुधबार

मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा नेपालमै पहिलोपटक काखीमुनि सानो प्वाल पारेर मुटुको कृत्रिम भल्ब परिवर्तन गरिएको छ ।

सेन्टरका कार्डियो तथा भास्कुलर विभागका प्रमुख डा अनिल भट्टराईको नेतृत्वमा पोखराकी एक ५३ वर्षीया महिलाको काखीमुनि सानो प्वाल पारेर मिनिमल इनाभासिभ कार्डिया सर्जरी प्रविधि माइट्रल भल्ब परिवर्तन गरिएको हो ।

डा अनिल भट्टराईले एक साताअघि मुटुको भल्ब परिवर्तन गरिएको बिरामीको अवस्था सामान्य रहेको जानकारी दिनुभयो । यसअघि छाती चिरेर मुटुको भल्ब परिवर्तन गरिँदै आएको थियो ।

अलि जटिल खालको शल्यक्रिया हो तर हामीसँग सबै उपकरण थियो र सजिलै शल्यक्रिया गरेर माइट्रल भल्ब परिवर्तन ग-यौँ उहाँले भन्नुभयो हामीले केही दिन बिरामीलाई राखेर ‘डिस्चार्ज’समेत गरिसकेका छौँ ।

उक्त कृत्रिम भल्ब अमेरिकाबाट ल्याइएको थियो । डा भट्टराईले इटालीबाट आफूले उक्त प्रविधिबाट मुटुको भल्ब परिवर्तन गर्नेबारे अध्ययन गरेर आएको बताउनुभयो । मुटुमा चारवटा भल्ब हुन्छन् । तीमध्ये बिरामीको माइट्रल भल्ब बिग्रेपछि नयाँ भल्ब हालिएको हो ।

“छाती चिर्नुभन्दा काखीमा सानो प्वाल बनाएर गरिने शल्यक्रियाले बिरामीलाई धेरै सहज हुन्छ,” उहाँले भन्नुभयो, “ठूलो घाउ हुँदैन । रगत पनि धेरै बग्दैन । चाँडै सञ्चो हुन्छ र बिरामी घर पनि चाँडै जान्छन् ।” उहाँका अनुसार उक्त प्रविधिबाट भल्ब परिवर्तन गर्न भारतमा रु २४ लाख लाग्छ ।

मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले उक्त प्रविधिबाट भल्ब परिवर्तन गर्न सात लाख लाग्ने जनाएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com