रास्वपा महामन्त्री डा ढकाल निलम्बित , बुर्लाकोटीलाई कार्यवाहक बनाइयो


प्रकाशित मिति : असार १९, २०८१ बुधबार

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा ले पार्टीका महामन्त्री एवं प्रवक्ता डा मुलुक ढकाललाई एक हप्ताका लागि निलम्बन गरेको छ ।

पार्टीको अनुशासन आयोगको सिफारिसमा उहाँलाई पार्टीको केन्द्रीय समितिले निलम्बन गरेको हो ।

्बुधबार राति अबेरसम्म बसेको पार्टीको केन्द्रीय समितिको बैठकले डा ढकाललाई बैठकमा अमर्यादित र अनुशासनहीन काम व्यवहार गरेको भन्दै कारबाहीका लागि निर्णय गरेको थियो ।

तत्काललाई पार्टी सहमहामन्त्री कविन्द्र बुर्लाकोटिलाई कार्यवाहक महामन्त्री र सहप्रवत्ता मनिष झालाई कार्यवाहक प्रवक्ता तोकिएको छ ।
डा ढकालको समीक्षा यात्राको प्रतिवेदनबारे बुधबार बिहानदेखि राति १२ बजेसम्म छलफल भएको थियो ।

बैठकमा उहाँले बैठकको प्रत्यक्ष प्रशारण गर्न र प्रतिवेदन सार्वजनिक नगरेको जनाउँदै मुखमा माक्समाथि कालो टेप लगाएर आपत्ति जनाउनुभएको थियो ।

बैठकको सुरुआतमा महामन्त्री डा ढकालले केन्द्रीय समितिको बैठकलाई प्रत्यक्ष प्रसारण गर्नुपर्ने माग राख्नुभएको र सभापतिले उक्त प्रस्तावमा आफ्नो मञ्जुरी रहेको उल्लेख गरे पनि अन्य सदस्यले महामन्त्रीको प्रस्तावविरुद्ध मत राख्दै प्रत्यक्ष प्रसारण नगर्ने निर्णय गरेको कार्यवाहक प्रवक्ता झाले बताउनुभयो ।

डा ढकालले सामाजिक सञ्जालमा निलम्बन पत्रसहित पार्टी सभापति रवि लामिछानेप्रति असन्तुष्टि व्यक्त गर्नुभएको छ ।

निलम्बनमा परेपछि महामन्त्री ढकालले भन्नुभएको छ , जनताको आवाज बोल्दा रवि लामिछानेको विरुद्ध बोलेको हुन्थ्यो, उहाँ पनि जनताकै पक्षमा होला सोचेर , बोलिदिए । जनताको पक्षमा बोल्नपर्छ, सत्य त्यही हो भन्ने बुझेकाले सत्यको पक्षमा बोलिदिएँ । बोलेकै आधारमा आज मलाई पार्टीले निलम्बन पत्र थमाएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com