दूध बिक्री गरेर मासिक १ लाख ५० हजार सम्म कमाइ , बाउछोरा मिलेर दूध र मह उत्पादन गर्दै


प्रकाशित मिति : असार २०, २०८१ बिहीबार

बसाइँसराइले रित्तिँदै गएको छिस्तिको फुर्केसल्ला गाउँमा आँगनभरि मौरीका घार, गोठभरि भैँसी र पाडापाडीपालन गरेर बस्नुभएको छ रघुनाथ पौडेलको परिवार ।

जैमिनी नगरपालिका–८ फुर्केसल्ला बागलुङ पुग्दा ६१ वर्षीय रघुनाथ पौडेल र उहाँका ३२ वर्षीय छोरा राजन गाईभैँसीको स्याहारसुसारमा व्यस्त हुनुहुन्थ्यो ।

बाउछोरा मिलेर उहाँहरुले चार वर्षयता दूध र मह उत्पादन गर्दै आउनुभएको छ । उहाँहरु गाउँकै उदाहरणीय परिवारका रुपमा चिनिनुभएको छ । गाउँमा बाँदर आतङ्क भएपछि अन्नबालीसमेत कम उत्पादन हुन थाल्यो ।

परम्परागत कृषि कर्म गर्दै आउनुभएका रघुनाथले छोराकै सहायतामा कृषि र पशुपालनलाई अहिले व्यावसायिक बनाउनुभएको छ ।

चितवनमा जग्गा भाडामा लिएर माछापालन गर्दै आउनुभएका राजनलाई गाउँका अन्य युवा झैँ विदेश जान मन लागेन । बुवाको परम्परागत कृषि र पशुपालनलाई व्यावसायिक बनाउने काममा लाग्नुभयो ।

अहिले उहाँहरुले दैनिक ४० लिटर दूध बागलुङ बजारमा पठाउनुहुन्छ । उहाँहरुले छिस्ती पाडापाडी तथा भैँसीपालन फार्म सञ्चालन गर्नुभएको छ । फार्ममा अहिले छ वटा पाडी, एक पाडो र दुई गाईका बाच्छा हुर्कंदै छन् ।

फार्ममा एउटा स्थानीय जातको भैँसीसमेत छ । सुक्खा मौसममा ४० लिटर दूध घाँस प्रशस्त भएका बेला ५० लिटरभन्दा बढी दूध बजार लैजाने गरेको उहाँले बताउनुभयो ।

बागलुङ बजारको भैरव डेरीले प्रतिलिटर ९५ मा दूध लिने गरेको पौडेल बताउनुहुन्छ । अहिले हुर्कंदै गरेको पाडापाडी बढेपछि दूध उत्पादन एक सय लिटर पुग्ने उहाँले बताउनुभयो ।

उहाँले उन्नत जातको भैँसी र गाईबाट जन्मेका पाडापाडी संरक्षण गर्नसके महँगो मूल्य हालेर भैँसी र गाई खरिद गर्न नपर्ने बताउनुभयो ।
बाँदरको आतङ्क बढेपछि उहाँहरुले गाउँको १० रोपनी जग्गामा व्यावसायिक बहुवर्षे घाँसखेती गर्नुभएको छ ।

घाँसमा आधारित पशुपालन भएकाले मुनाफा बढी हुने बताउँदै मासिक एक लाख देखि एक लाख ५० हजारसम्म आम्दानी दूध बिक्रीबाटै हुने उहाँहरुको भनाइ छ ।

पौडेलको घरमा २६ घार मौरीले व्यावसायिक उत्पादन दिइरहेको छ । वर्षमा एकदेखि डेढ क्विन्टल मह उत्पादन गरी बिक्री गर्दा वार्षिक दुई लाखभन्दा बढी आम्दानी महबाटै हुने गरेको छ । अर्गानिक मह भएका कारण घरैबाट एक हजार पाँच सय प्रतिकिलो बिक्री हुने गरेको रघुनाथ पौडेलले बताउनुभयो ।

कृषि ज्ञानकेन्द्र बागलुङले मौरीका घार थप्न रु ५० हजार अनुदान दिएको छ । उहाँहरुले दुई वटा प्लाष्टिक टनेलमा टमाटर र काउलीखेती गर्नुभएको छ । बाउछोराको काममा सिङ्गो परिवारका सदस्यले दिएको छ ।

कक्षा १२ सम्म अध्ययन गरेका राजन पौडेल सकेसम्म विदेश नजाने र यही कृषि कर्मलाई वृद्धि गर्दै जाने बताउनुहुन्छ ।

भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले गोठ सुधारका लागि एक लाख २० हजार र पाडापाडी संरक्षण गर्न रु ४० हजार प्रदान गरेको भेटेरेनरी अस्पताल तथा पशु विज्ञ केन्द्र बागलुङका प्रमुख डा ऋषिराम सापकोटाले बताउनुभयो ।

१० रोपनी घाँसखेतीका लागि प्रतिरोपनी तीन हजारका दरले ३० हजार अनुदान दिइएको सापकोटाले जानकारी दिनुभयो ।

जैमिनी नगरपालिकाले गाईभैँसीको पिसाव सङ्कलन गर्न २५ हजार सहयोग गरेको छ ।

दुई वटा प्लाष्टिक टनेल बनाउन ५० हजार नगरपालिकाले दिएको रघुनाथ पौडेलले बताउनुभयो ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com