प्रधानमन्त्रीले असार २८ गते विश्वासको मत लिने , संसद सचिवालयमा पत्राचार


प्रकाशित मिति : असार २१, २०८१ शुक्रबार

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यही असार २८ गते शुक्रबार प्रतिनिधिसभामा विश्वासको मत लिने व्यवस्थाका लागि संसद् सचिवालयलाई पत्राचार गर्नुभएको छ ।

प्रधानमन्त्री दाहालले सङ्घीय संसद्का महासचिवलाई आज पत्र पठाएर उक्त दिन विश्वासको मतका लागि प्रतिनिधिसभासमक्ष प्रस्ताव राख्नुपर्ने भएकाले आवश्यक व्यवस्था मिलाउन अनुरोध गर्नुभएको हो ।

कांग्रेस एमालेबीच नयाँ गठबन्धनको सहमति बनेपछि एमालेले सरकारमाथिको समर्थन फिर्ता लिएको हुनाले प्रधानमन्त्री दाहालले संवैधानिक व्यवस्थाअनुसार एकमहिना भित्रमा संसदबाट विश्वासको मत लिन लाग्नु भएको हो ।

सरकारलाई समर्थन गरेको कुनै दलले समर्थन फिर्ता लिएमा संविधानको धारा १०० को उपधारा २ बमोजिम ३० दिनभित्र विश्वासको मत लिनुपर्ने प्रावधान छ।

२७५ सदस्यीय प्रतिनिधिसभामा बहुमतका लागि १३८ मत चाहिन्छ, जबकि अहिलेसम्म प्रचण्डसँग माओवादी ३२, रास्वपा २१ , एकीकृत समाजवादी १० र अशोक राई नेतृत्वको जसपा ७ को गरेर ७९ मत मात्र छ ।

विपक्षमा नयाँ सरकार गठन गर्ने सहमति गरिसकेका कांग्रेस ८८ र एमाले ७९ गरी १६७ मत देखिन्छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com