बेलायती प्रधानमन्त्री ऋषि सुनकद्धारा राजिनामा , लेबर पार्टीका स्टारमर प्रधानमन्त्री बन्ने निश्चित


प्रकाशित मिति : असार २१, २०८१ शुक्रबार

बेलायती आमनिर्वाचनमा कन्जरभेटिभ पार्टीको पराजयपछि प्रधानमन्त्री ऋषि सुनकले पदबाट राजिनामा दिनुभएको छ ।

उहाँले राष्ट्रका नाममा सम्बोधन गर्दै पछिल्लो केही दशकयताकै खराब प्रदर्शनका लागि राष्ट्रसँग माफी माग्दै राजिनामाको घोषणा गर्नुभएको हो । उहाँले निर्बाचनमा भएको पार्टीको हारको जिम्मेवारी समेत लिनु भएको छ ।

सुनकले कन्जरभेटिभ पार्टीले आफ्नो १४ वर्षको शासनकालमा हासिल गरेका उपलब्धिहरू उल्लेख गर्दै बेलायत सन् २०१० भन्दा बढी समृद्ध र स्वच्छ भएको बताउनु भयो ।

ऋषि सुनकले आफ्ना प्रतिद्वन्द्वी र बेलायतका आगामी प्रधानमन्त्री केयर स्टारमरको पनि प्रशंसा गर्नुभएको छ । उहाँले स्टारमरको सफलतालाई सिंगो देशले बाँड्ने बताउनुभयो । ऋषि सुनकको राजीनामा स्वीकृत पनि भएको जानकारी दिइएको छ ।

त्यहाँ भएको संसदीय निर्बाचनमा बेलायतमा १४ वर्षपछि लेबर पार्टी सत्तामा फर्किएको छ । आम निर्वाचनमा लेबर पार्टीले ४१२ सिट प्राप्त गरेको थियो । संसदमा बहुमतका लागि ३२६ सिट चाहिन्छ । सुनकको कन्जरबेटिभ पार्टीले ११९ सिटमा जित हात पारेको छ ।

कन्जरभेटिभ नेता ऋषि सुनक बेलायतका पहिलो भारतीय मूलका प्रधानमन्त्री हुनुहुन्छ । ४४ वर्षीय सुनक १० डाउनिङ स्ट्रिट पुग्ने सबैभन्दा कान्छो व्यक्ति पनि हुनुहुन्छ ।

सन् २०२० मा ऋषि सुनकलाई प्रधानमन्त्री बोरिस जोनसनले अर्थमन्त्री बनाउनु भएको थियो । उहाँको नियुक्ति कोभिड १९ महामारीको सुरुवातसँगै भएको हो ।

आफ्नो जागिरबाट निकालिएकाहरूलाई मद्दत गर्न, उहाँले आतिथ्य क्षेत्रमा काम गर्नेहरूलाई ध्यानमा राखेर इट आउट टु हेल्प आउट योजना सुरु गर्नुभएको थियो ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com