आजको मौसम : देशभर वर्षा , राति भारी वर्षाको सम्भावना


प्रकाशित मिति : असार २१, २०८१ शुक्रबार

मनसुनी वायुको प्रभावले देशभर पूर्णतया बदली रही वर्षा भइरहेको छ ।

बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका अधिकांश स्थानमा अहिले हल्कादेखि मध्यम वर्षा भइरहेको छ । बाँकी प्रदेशका केही स्थानामा समेत वर्षा भइरहेको छ ।

पछिल्लो ६ घण्टामा सबैभन्दा धेरै पाल्पा, अर्घाखाँची र स्याङ्जामा एकसय मिलिमिटरभन्दा धेरै वर्षा भएको छ ।

पूर्वदेखि पश्चिमसम्म नै धेरै ठाउँमा पानी परेको छ । लगातार र ठूलो पानी परेका ठाउँका नदी, खोलामा बाढी आएको छ । पाल्पा, अर्घाखाँची र स्याङ्जामा ठूलो पानी परेपछि कालीगण्डकी र नारायणी नदीमा जल सतहले खतराको तह पार गरेको छ ।

आज दिउँसो पनि पूर्ण बदली रही सबै प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ । अन्य प्रदेशका केही स्थानमा समेत वर्षा भइरहेको छ ।

आज राति पनि देशभर साधारणतयादेखि पूर्णतया बदली रही कोशी र मधेश प्रदेशका केही तथा बाँकी प्रदेशका धेरै स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका थोरै स्थानमा तथा मधेश प्रदेशका एक–दुई स्थानमा आज राति भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com